१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

जीवनशैली नै फेसन

समय फेसनको छ, समयअनुसारको फेसन फलो गर्नेहरु दिनानुदिन बढेको पाइन्छ। समयको माग र बजारमा चलेको ट्रेन्डलाई फरक तरिकाले फेसन गर्नेहरुमा शहरिया युवा पुस्ता निकै अगाडि रहेका छन्। साना नानीदेखि उमेरका पाकाहरु सम्मलाई फेसनले निकै प्रभाव पारेको देख्न सकिन्छ।

अचेल जो कोही अरूभन्दा युनिक र स्टाइलिस देखिन चाहन्छन्। बजारमा चलेको चल्तीलाई फलो गर्नेहरुमा विशेष युवाहरु निकै सक्रिय रहेको फेसन डिजाइनर विश्व गौतम बताउँछन्। ‘फेसन भनेको लुगा लगाउने तरिका मात्र होइन, फेसन भनेको जीवनशैली हो, मान्छेको व्यक्तित्व नै फेसन हो’ उनले भने। 

समय निकै परिवर्तन भएको उनी अनुभव सुनाउँछन्। कहिले नेपाल त कहिले अमेरिका बस्ने विश्व फेसनको दुनियाँमा रुचाइएको नाम हो। उनको आफ्नै ब्रान्ड छ जसको नाम हो ‘बिजी’। २००४ बाट फेसन डिजाइनिङमा लागेका विश्व अहिले काठमाडांैको ताहचहलमा आफ्नै कम्पनी सञ्चालन गरेर बसेका छन्।

फेसनप्रतिको सोच विगतको तुलनामा धेरै परिमार्जन भएको अनुभव उनी सुनाउँछन्। उनी भन्छन्, ‘हाम्री प्रायः फेसन भन्नेबिक्तिकै लुगा वा मेकअप भन्ने मात्र बुझ्छाैं, जुन गलत बुझाइ हो, खासमा फेसन भनेको समयअनुसार हरेक कुरामा अपडेट हुनु हो, दैनिक जीवनशैली नै फेसन हो।’ नेपालमा फेसनलाई लिएर उदार भएको देख्न सकिने उनी बताउँछन्। नयाँ पुस्तामा फेसनप्रतिको चासो निकै बढेको उनले बताए। 

धेरैजनाले नेट इन्टरनेटमार्फत कस्तो लुगा लगाउनु पर्छ, कुन डिजाइनले सुहाउँछ भनी सोेध्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘आफूलाई कस्तो लुगा लगाउनु पर्छ, के सुहाउँछलगायतका प्रश्न गर्दा मानिसमा फेसनप्रतिको चेतना जागेको हो जस्तो लाग्छ, अचेल अरुले लगाएको देखेरभन्दा पनि आफूलाई कस्तो पहिरन सुहाउँछ भन्ने कुरामा धेरै ध्यान दिएको पाइन्छ।’ दैनिक जसो शहर बजारमा बुटिकको संख्या बढेको छ यसर्थ मानिसहरु फेसनप्रति संवेदनशील भएको उनी बताउँछन्। समयअनुसार कस्तो लगाउनुपर्छ भन्ने कुरामा निकै संवेदन भएको उनी बताउँछन्। 

२०११ मा पहिलोपटक सोल्टि होटलमा सोलो फेसन पर्फम गरेका उनी नमुना कलेजको उत्पादन हुन्। अमेरिकामा बसेर नेपाललाई चिनाउने मनसायले नेपाली ब्रान्डको सुरुवात गरेको उनी बताउँछन्। ‘फेसनलाई डिजाइनरले विभिन्न कन्सेप्ट र सृजनात्मक तरिकाले प्रस्तुत गर्छ भने उक्त डिजाइन कुनै सेलिब्रेटीले लगाएपछि स्टाइल भई बजारमा ट्रेन्डिङ बन्छ’ उनले भने। फेसन भनेको एकै पटक नयाँ भएर नआउने उनी बताउँछन्। उनी भन्छन्, ‘फेसन रिसाइकल हुन्छ, पुरानो तरिकाले लगाउने पहिरनलाई डिजाइनरले क्रिएटिभ तरिकाले, समयअनुसारको नयाँपन दिएर रि मेक गरेर नयाँ स्वरुप दिन्छ, त्यही नै ट्रेन्डको रुपमा चल्छ।’ फेसन चलिरहने सिलसिला रहेको उनले बताए।  फेसनलाई समय र परिवेशअनुसार केही कुरा परिमार्जन गरी नयाँ स्वरूप दिएर प्रयोगमा ल्याइने उनी बताउँछन्। ‘क्लासिक फेसन कहिल्यै पुरानो हुँदैन, हरेकले हरेक समयमा उपयुक्त तरिकाले लगाउँछ,’ उनी भन्छन्, ‘क्लासिक फेसनको लुक्स नै अन्यभन्दा धेरै फरक हुन्छ जसले व्यक्तित्वमा आत्मविश्वास बढाउन मद्दत गर्छ।’

अरुणा जोशी, फेसन डिजाइनर हुन्। पुल्चोकस्थित ए एन्ड ए फेसन स्टुडियो सञ्चालन गर्दै आएकी उनी अहिले निकै व्यस्त छिन्। विवाह, पार्टी, भोजका लागि डिजाइन दिएर लुगा बनाउन भ्याइ नभ्याइ भएको उनी बताउँछिन्। सामान्यतः बुटिक भन्दैमा महँगो, सामान्य मान्छेले किन्न नसकिने सोच गलत रहेको उनी बताउँछिन्। फेसनप्रति नयाँ पुस्ताको निकै चासो बढेको अनुभव उनी सुनाउँछिन्। ‘फेसनमै केही गर्छु, भविष्य बनाउँछु भन्नेहरुले उपयुक्त ठाउँ नपाएकाले फेसनमा हुनुपर्ने जति विकास हुन सकेको छैन,’ उनले भनिन्। डिजाइनर अरुणाले विभिन्न सारी, ब्लाउज, लङ ड्रेस, लेहेंगा चोलीलगायत थरीथरीका कपडाहरुको डिजाइन गर्छिन्। अर्डरअनुसारको पहिरनको डिजाइन गर्ने अरुणा नयाँ डिजाइनर बन्न चाहनेलाई ट्रेनिङ र इन्टर्नको रुपमा पनि काम सिकाउँछिन्। 

फेसनका लागि यही नै लगाउनु पर्छ भन्ने नरहेको उनको भनाइ छ। फेसनले लगाउने कुरालाई मात्र प्रतिनिधित्व नगर्ने उनको बुझाइ छ। दैनिक जीवनशैली र फेसन एकआपसका पुरक रहेको उनी बताउँछिन्। ‘मानिसलाई के कपडा लगाउँदा सहज हुन्छ, के लगाउँदा मन पर्छ, व्यक्तित्वमा निखार ल्याएको महसुस हुन्छ त्यो नै फेसन हो,’ उनले भनिन्। फेसनप्रतिको चेतना पहिलाभन्दा धेरै उदार भएको उनी बताउँछिन्। ‘आफूलाई के लगाउँदा राम्रो देखिएको महसुस हुन्छ, लगाउँदा सजिलो अनि देख्दा सुहाउँदो देखिएको छ कि छैनलगायतका कुरामा ध्यान दिएर लुगा लगाउनुपर्छ,’ उनी भन्छिन्, ‘दैनिक जीवनमा स्मार्ट तरिकाले लगाइने आउट फिट नै फेसन हो।’

फेसन हैसियतसँग जोडिए पनि आफूसँग भएको पहिरनलाई मिलाएर लगाउनु नै फेसन रहेको उनको भनाइ छ। फेसनप्रति विगतको तुलनामा भन्दा अहिले धेरै मानिसको रुचि बढेको उनको बुझाइ छ। फेसनप्रतिको चासो बढेको देख्दा डिजाइनर, सुचीकारको कामप्रतिको सम्मान बढेको महसुस हुने उनी बताउँछिन्। फेसनप्रतिको मोह, यसरी बढ्ला भन्ने नसोचेको उनी बताउँछिन्। २२ वर्षदेखि डिजाइनरको रुपमा काम गरेकी अरुणा भन्छिन्, ‘शरीरको आकार र रंगअनुसार कस्तो लुगा लगाउने भन्ने कुरामा परिवर्तन नभएपछि नयाँ थपिएर वा काटिएर आउने उनी बताउँछिन्। उनी भन्छिन्, ‘अहिले लगाइने अधिकांश ब्लाउज, लेहेंगा, सारीहरु पुराना हाम्रा आमा, हजुरआमाले नै लगाउनु भएको हो, त्यसमा मात्र केही बुट्टा रंग, डिजाइन परिवर्तन गरिएको हो, तसर्थ फेसनमा कुनै छुट्टै नयाँ आविष्कार गर्ने होइन।’ 

राणाको पालामा लगाइने लेहेँगा, ब्लाउज, लङ स्कर्ट अहिले निकै चलेको उनी बताउँछिन्। ‘पुरानै डिजाइनहरुलाई केही नयाँपन दिएर, आफ्नो आइडिया राखी परिमार्जन गरी नयाँ स्वरुप दिइन्छ जुन फेसनको रुपमा चर्चित हुन्छ,’ उनले भनिन्। हरेक पहिरन मनपर्ने स्वरुपमा परिवर्तन गरेर शरीरको बनावटअनुसार लगाउने तरिका नै फेसन रहेको उनी बताउँछिन्। ‘समय र वातावरणअनुसार शरीरको बनावट, उचाइ पहिलाको भन्दा फरक भएकाले पुरानोलाई नयाँ रुप दिएर लगाइने नै फेसन हो,’ उनले भनिन्। धेरै फेसनहरु जस्ताको त्यस्तै चलेको अनुभव उनी सुनाउँछिन्।

दैनिक जीवनमा प्रयोग गरिने हरेक सामानहरु लुगा मात्र नभएर अन्य कुराहरु बेस उस्तै तर केही परिमार्जन हुनु नै फेसन रहेको उनी बताउँछिन्। फेसनमा आएको परिवर्तनलाई सकारात्मक लिनुपर्ने उनी बताउँछिन्। फेसनको संसारमा मौलिक पहिरनले पनि राम्रो पकड पाएको उनी बताउँछिन्। ‘ढाकाको कपडालाई हेर्ने हो भने, पहिला–पहिला चोली र खास्टो मात्र लगाइन्थ्यो, तर अहिले ढाकाको हरेक बस्त्र बनाइन्छ, उनी भन्छिन्, ‘के महिला के पुरुष ढाकाबाट बनेको पहिरन सबैको लोकप्रिय बनेको छ, यो नै हो फेसन।’ फ्युजनसहितको पहिरनमा डिजाइनरको नयाँ कन्सेप्ट र परिमार्जन नै फेसन रहेको उनी बताउँछिन्। 

पाटनस्थित एप्रिल द बुटिककी सञ्चालिका हुन्, सुधा डंगोल। समयअनुसारको इथनिक ड्रेसहरुको डिजाइन गर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘फेसन भनेको यो आयो, गयो भन्ने हुँदैन, फेसन सधैँ एउटै नै हो मात्र त्यसमा केही फेरबदल हुन्छ त्यही नै फेसन हो।’ बजारमा अहिले विशेष लेहेंगा, चोली, पाकिस्तानी सेटलगायतको माग रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘युवा पुस्तामा फेसन फलो गर्ने ट्रेन्ड चलेको छ, मानिसहरु आफूलाई सुहाउँदो फेसनेबल सामान किन्ने जमात बढेको छ। मानिसमा फेसनको ज्ञान बढेको उनी बताउँछिन्।

आवश्यकता र फेसनलाई मिलाएर किन्ने प्रवृत्ति निकै बढेको छ जुन सकारात्मक पक्ष रहेको उनी बताउँछिन्। पुरानो फेसनमा केही परिवर्तन गरेर बजारमा ल्याइएको नयाँ स्टाइल नै फेसन बताउने उनको भनाइ छ। उनी भन्छिन्, ‘शारीरिक बनोटका आधारमा फेसन गर्नुपर्छ, हामी सबैको शारीरिक बनोट, रंग, आकार फरक हुने भएकाले कस्तो फेसनको लगाउने भनी ध्यान दिनुपर्छ, जसले सुन्दरतामा अझ निखार ल्याउँछ।’ फेसनको सेन्स भएमा सुन्दर देखिन सकिने उनी बताउँछिन्।

फेसन भन्दैमा नकारात्मक सन्देश जाने खालको पहिरन लगाउन नहुने उनी सुझाउँछिन्। उनी भन्छिन्, ‘फेसन गर्दा आफूलाई आराम होस्, कम्फर्टेबल होस्, फेसनले नै मानिसको व्यक्तित्व झल्काउने भएकाले सुहाउँदो फेसन गर्नुपर्छ।’ शहरिया जीवनशैलीका लागि फेसनले निकै प्रभाव पारेको देख्न सकिने उनी बताउँछिन्। फेसनमा रम्नेहरुले फेसनप्रति सचेत भई फलो गरेको उनी बताउँछिन्। टिनएजदेखि कामकाजी सबैलाई अरुभन्दा स्मार्ट, युनिक देखिन फेसन फलो गर्ने उनी बताउँछिन्। 

 

प्रकाशित: २१ फाल्गुन २०७५ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App