१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फाको नयाँ चिन्ह र जर्सी सार्वजनिक

काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ।

साेमबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपालका लागि केल्मीका आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपाने लगायतले प्रतीक चिह्न र जर्सी सार्वजनिक गरेका हुन्।

पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन्। ५७० प्रतिस्पर्धीलाई पछि बनाउँदै तिवारीको प्रतीक चिह्न उत्कृष्ट बनेको हो। कार्यक्रममा लोगो तयार गरेवापत एन्फाले तिवारीलाई रु ५० हजार पुरस्कार प्रदान गरेको छ।

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ। पुछारमा फुटबलको चिह्न छ। फुटबलमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ। एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो । यसअघि २०६२/६३ को जनआन्दोलनपछि परिवर्तन गरिएको थियो। त्यसबेला हाल रहेको लोगोको मध्य भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो। 

यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ। यसअघि नेपाली टोलीले फरक फरक कम्पनीका फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो। नयाँ जर्सी सधैँको झैँ रातो र निलो रङमा रहेको छ। जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतीक राखिएको छ।

यसअघि रहँदै आएको जर्सीमा बायाँपट्टि राष्ट्रिय झण्डा रहेको थियो। अब उक्त स्थानमा एन्फाको लोगो हुनेछ। राष्ट्रिय झण्डा अब जर्सीको पछाडि हुनेछ। जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो।

एन्फाको नयाँ जर्सी चिनीयाँ कम्पनी केल्मीले निर्माण गर्नेछ। एन्फाले केल्मीसँग दोस्रो पटक प्रायोजन सम्झौता गरिसकेको छ। यस्तै एन्फाले फुटबल टोलीको गीत सार्वजनिक गरेको छ। गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन्। गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ। एन्फाले नयाँ लोगो र जर्सीका लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो।

सो अवसरमा सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी चैत १५ गतेदेखि सुरु हुने दाबी गरे। उनले भने, “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ, हामी चैत १५ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेका छाैं।” 

प्रकाशित: २० फाल्गुन २०७५ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App