१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रानीपोखरीको पुनर्निर्माण सुरु

काठमाडौं- ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए। रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गर्ने बताए।

रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन्। आवश्यकता अनुसार कालिगढहरुको संख्या बढाइने छ। काठमाडौं महानगरपाललिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताए।

पुनर्निर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ।

रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो।

 

 

प्रकाशित: २० फाल्गुन २०७५ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App