१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बली प्रथाका विषयमा विज्ञकाे अा-अाफ्नै दाबी

काठमाडौं–धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिकालागि विधिपूर्वक बली दिनु शास्त्रीय रहेको बताएका छन्।  आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रा.डा. गौतमले पशु बली दिनु शास्त्रीय विधि नै रहेको दाबी गरेका छन्।

उनले अघि भने,‘पशु बली दिनु हाम्रो शास्त्रमै उल्लेख गरेको छ, यसको विरोध गर्नु भनेको धर्मशास्त्र विरोध गर्नु होे, देवीलाई शक्ति प्रदान गर्नको लागि बली दिइने हो।’ उनले बजारमा हल्ला भएजस्तो बलीको संख्या नघटेको समेत दाबी गरे। 
उनले देवीदेवतालाई गरिने बली प्रसादको रुपमा कसैले मासु सेवन गर्छ भने त्यो राम्रै हुने बताए। शास्त्रमै उल्लेख भएकोले पशु बली रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने गौतमले उनको भनाइ थियो।

‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बली दिनुपर्छ, मुक्त हुन बली हुन पाउनु पशुको भाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नु हुँदैन, विकृति रोक्नुपर्छ,’ उनले भने।
गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बली दिनुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्रा.डा. गौतमले दाबी गरे। ‘राज्य सञ्चालनकालागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिकालागि राज्यले दुर्गायज्ञका बेलामा अनिवार्य बली दिनुपर्छ, प्रभुशक्ति राज्यको कोष वृद्धिसँग सम्बन्धित छ, राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्रशक्तिको आवश्यकता पर्छ, राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साहशक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ,’ उनले भने। 

कार्यक्रममा बलीप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले शास्त्रले बली प्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको दाबी गरेका छन्। सदस्य सचिव टण्डनले भने, ‘मानिसमा हुने बोकाको जस्तो कामभावना, भेडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन, राणा र राजाको दरबारमा बलि प्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत भनी व्याख्या गरिरहेका छन् ।’

बली प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशुको ज्यान लिन नहुने उनको भनाइ छ। बली प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बली ४५ प्रतिशतले घटेको उनको दाबी छ।

पशुबलि यथावत रहे पशुसँग भन्दा मानिससँग डराउनुपर्ने अवस्था आउने भएकाले वर्षभर पशुबली विरुद्धको अभियान चलाइएको उनले जनाए। पशुवलीको नाममा अब देशका मठमन्दिर बधशाला हुने समेत टण्डनको आरोप छ। उनले अघि थपे, ‘मठमन्दिरमा रगतको खोला बगिररहेको छ, यही तरिका हो भने हामी हिंसाबाट माथि उठ्न सक्दैनौं।’ 
 

प्रकाशित: २३ आश्विन २०७३ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App