१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैंको बेला १७ चेली साउदीको जेलमा

साउदी अरब- नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन्।

पछिल्लो जानकारी अनुसार दूतावासबाट पठाईएका ९ र यसअघि नै त्यहाँ रहेका ८ जना समेत १७ जना नेपाली चेलीहरु नेपाल फर्कने प्रतिक्षामा त्यहाँको महिला जेलमा छन्। दशैंमा घरपरिवारका माझमा पुग्ने आसाका साथ दूतावासको सेल्टरमा ९ महिना अघिदेखि बस्दै आएका ती चेलीहरुको अपेक्षामा अहिले तुषारोपात भएको छ। महिला जेलमा उनीहरुलाई संचार सेवाबाट समेत सम्पर्क विहीन अवस्थामा राखिएको छ। नेपाली र कुवेती दलालबाट साउदी अरबमा बेचिएर शोषित र पीडित भएका ती निर्दोष चेलीहरुलाई नेपाल सरकारले कूटनैतिक पहल गरेर मुक्त गराउनु पर्ने र उनीहरुलाई त्यो अवस्थामा पुर्याउने दलालहरुलाई कारबाही गर्नुपर्ने देखिएको छ। त्यसैगरी राजदूतावासले पठाएको प्रतिवेदन र अनुरोधलाई सरकारले गम्भिरतापूर्वक लिनु पर्ने समेत देखिएको छ।

कुवेतबाट साउदी अरब आइपुगेका र राजदूतावासको शरणमा पुगेका ती चेलीहरुलाई दूतावासले उद्धार गर्न गरेको प्रयास असफल भएपछि उनीहरुको जेलको बास भएको हो। कुवेतमा घरेलु कामदारका रुपमा काम गर्न श्रम स्वीकृति दिलाएर नेपालबाट ल्याईएका र कुवेतमा नेपाली र अरबीयन दलालबाट बेचिएर साउदी अरबमा बधुँवा कामदार सरह बनाईएका उनीहरुको उद्धारका लागि दूतावासले नेपाल सरकारको परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कामदार कल्याण कोष लगायतमा पटकपटक रिर्पोट पठाएर र सहयोगका लागि अनुरोध गरे पनि वेवास्ता गरेका कारण नेपाली चेलीहरु साउदीको जेलमा पुगेका हुन्।

 कुवेतबाट पर्यटक भिसामा साउदी अरब भित्राइएका उनीहरुलाई गैरकानुनी रुपमा बसोबास गरेको आरोपमा साउदी सरकारले तोकेको जरिवाना तिर्न नसकेपछि जेल बस्नु पर्ने भएको हो। कार्यबाहक राजदूत आनन्द शर्माका अनुसार कुवेतबाट ल्याईएका ती चेलीहरुले १५ हजार रियाल (४ लाख २७ हजार रुपैयाँ) सम्म गैरकानुनी बसोबास बापतको जरिवान तिर्नु पर्छ। त्यो जरिवाना मिनाहा गर्न र नेपाल फर्कन एक्जिट भिसा दिलाउन तीन महिना अघिदेखि दूतावासले साउदी सरकारसंग अनुरोध गरेको थियो तर अस्विकृत भएका कारण दूतावासको सेल्टरमा रहेका उनीहरुलाई त्यहाँस्थित डिपोर्टेशन सेन्टर तथा महिला जेलमा पठाईएको हो। अब उनीहरुलाई साउदी सरकारको निर्णय अनुसार जेलबाटै नेपाल पठाउने व्यवस्था हुने छ।

यसरी ल्याइन्छ साउदी

पीडित चेलीहरुका अनुसार घरेलु कामदारका रुपमा कुवेतका लागि ल्याईएका उनीहरुलाई कुवेती र नेपाली दलालले कुवेतबाटै साउदी अरबको आफन्तकोमा केही दिनका लागि जानुपर्ने भनेर झुक्काई बिक्री गरेर साउदी अरबमा पठाउँछन्। साउदी अरबमा बिक्री गरिएका कतिपयलाई मालिकले अन्यत्र घर र स्थानमा काम गर्न लगाएर कमाई खाएर श्रमशोषण पनि गर्ने गर्दछन्।

नेपाली राहदानी खोसी बधुँवा कामदार बनाईएका उनीहरुलाई साउदी कुवेत सीमाबाट ६ महिनाको पर्यटक भिसामा साउदी भित्राईन्छ। उनीहरुलाई पुनः कुवैत नफर्काई गैरकानुनी रुपमा घरभित्रै लुकाएर काम गर्न लगाईन्छ र तलब समेत नदिई काममा खटाएर भौतिक तथा मानसिक यातना दिई शाररीक शोषण समेत गरिन्छ। उनीहरुको बसाई अवैध भएका कारण नेपाल समेत फर्कन नदिई वर्षौसम्म काममा लगाईन्छ। यसरी शोषित भएकाहरु विभिन्न उपायले भागेर राजदूवासको शरणमा आउने गर्दछन् । त्यसरी भागेर दूतावासको शरणमा आउनेहरुमा दुई वर्षदेखि १० वर्षबढी साउदी अरबमा काम गरेकाहरु छन्।

बाध्यताबस साउदी अरबमा गैरकानुनी रुपमा रहेका नेपाली चेलीहरुलाई साउदी सरकारले जरिवाना र जेल सजाय तोक्नु र उनीहरु नै थप पीडित हुनु अन्याय भएको पीडितहरु बताउँछन्। यसै सम्बन्धमा कार्यबाहक राजदूत शर्मा भन्छन् “यसअघि हाम्रो अनुरोधलाई स्वीकार गरेर साउदी सरकारले जरिवाना र सजाय माफी दिने गरेको थियो तर यस पटक भने त्यसो गरेन। त्यसकारण हामीले शेल्टरमा रहेका चेलीहरुलाई डिर्पोटेशन सेन्टरमा पठाउन बाध्य भयौं।” 

“साउदी सरकारको यो परिवर्तित नीति घरेलु कामदारका रुपमा नेपाली चेलीहरुलाई साउदी आउन नेपाल सरकारले स्वीकृत दियोस् भन्ने कुटनीति दवाब पनि हुन् सक्छ” राजदूत शर्माको अनुमान छ। साउदी अरबमा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउने व्यवस्थित कानुनी व्यवस्था नगरेसम्म र कुवेतबाट नेपाली महिलाहरुलाई ल्याउन नरोकिएसम्म यो समस्या रहिरहने पनि उनको ठहर छ।

 

 

 

प्रकाशित: २३ आश्विन २०७३ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App