१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘विप्लव माओवादी’सँग एम १६ र एलएमजी, बिशेष ब्यूरोले अनुसन्धान गर्दै

धरान– धरानको वडा नं ६ पानवारीबाट अत्याधुनिक अतियारसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कोशी ब्यूरो सदस्य देवकुमार लिम्बूलाई हिरासतमा राख्न ६ दिनको म्याद थप भएको छ। 

लिम्बुलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ६ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए। उनले गम्भीर बिषय भएकोले माथिल्लो तहबाट नै अनुसन्धान भइरहेको बताए। ‘बिषय गम्भीर हो, अनुसन्धानकै क्रममा छौ, मसँग पनि धेरै जानकारी छैन’, उनले भने, ‘यति हो शुक्रबार ६ दिनको म्याद थप भयो।’ लिम्बूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको डिएसपी तिम्सिनाले बताए। 

गएको बुधबार बिहान लिम्बूलाई धरानको पानवारीस्थित मोरङ जिल्लासँगको सिमाना चोक्टीबाट चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको थियो। उनी विप्लव नेतृत्वको नेकपाको कोशी ब्युरो सदस्य भएको स्वीकार गरेका थिए। उनको साथबाट एम १६ र एलएमजी वरामद भएपछि सुरक्षा संयन्त्र हैरान भएको छ। प्रहरी चेकजाँच छल्न मुख्य सडक नभै माथिल्लो पानवारी हुदै मोटरसाइकलमा लिम्बू र अर्का एक व्यक्ति पुर्वतर्फ जाँदै थिए। तर, उनीहरुलाई चोक्टीमा प्रहरीले राखेको बिशेष चेकिङबाट छलिन सकेनन्। मोटरसाइकल नरोकी भागेपछि पिछा गर्दै गएको २ प्रहरीले मोटरसाइकल लडेपछि लिम्बूलाई पक्राउ गर्न सफल भए। अर्का, एक व्यक्ति भने उम्कन सफल भएका थिए। 

हतियार द्वन्द्वकालकै, बिशेष ब्युरो धरानमा

लिम्बूको साथबाट बरामद भएको एम १६ र एलएमजी दुवै हतियार द्वन्द्वकालकै भएको प्रहरी अनुमान छ। द्वन्द्वको समयमा सेनाबाट लुटेको अनुमान गरिए पनि कहाँबाट, कहिले लुटिएको भन्ने अनुसन्धानको क्रममा नै रहेको प्रहरी बताउँछ। हतियारबारे अनुसन्धान गर्नकै लागि केन्द्रबाट प्रहरीको आतंकवाद र सशस्त्र समूहलाई हेर्ने बिशेष ब्यूरोको टिम नै धरान आएको प्रहरी स्रोतले बतायो। ‘डिएसपी सापको कमाण्डमा बिशेष ब्युरोको टोली आएर डेस्क नै राखेको छ’, स्रोतले भन्यो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी राजन अधिकारीले भने द्वन्द्वकालको हतियार हो भन्ने अनुमान गरिए पनि पुष्टि गर्ने ठोस आधारको खोजी भइरहेको बताए। ‘अनुसन्धानकै क्रममा छ। कहाँबाट ल्याएको हो? कस्को अभिलेखमा थियो? कसरी आइपुग्यो भनेर अनुसन्धान नै भइरहेको छ’, उनले भने। एसपी अधिकारीका अनुसार हतियारसम्बन्धी जानकार बिशेषज्ञ टोलीले अनुसन्धान गरिरहेको छ। हतियारसँग सम्बन्धित बिषय भएकोले आवश्यकताअनुसार सबै शाखाले जाँच गरिरहेको उनले बताए। 

प्रहरी स्रोतका अनुसार पक्राउ परेका लिम्बूले ती हतियार धरानबाट जिम्मा लिएको वयान दिएका छन्। उनले ती हतियार मोरङको केराबारीसम्म पुुर्याउने जिम्मा पाएका थिए। प्रहरीले उनी पक्राउ परेपछि ती हतियार जिम्मा लिएको ठाउँसम्म पनि लगेर अनुसन्धान गरिसकेको छ। तर, थप केही उपलब्धी हात पारेको छैन्। 

प्रकाशित: १८ फाल्गुन २०७५ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App