१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

थाइ खानाको स्वाद

तस्बिरः उमेश पुन

जयबहादुर राई, ४२, हेर्दै हट्टाकट्टा र खाइलाग्दो ज्यान। लाहुरेको जस्तो सर्लक्क परेको शरीर र कपाल कटाई। संखुवासभाको पाँचकपन गाउँपालिका–८ चुङखुरुङबाटै विद्यालय तहको पढाइ सके। अनि लागे राजधानीतिर उच्च शिक्षामा जुट्न। सानैदेखि फुर्तिला राईलाई राजधानीको पढाइले मात्र सन्तुष्ट दिएन, अनि कामको खोजीमा जुटिहाले। 

जतिबेला उनी कामका लागि रेस्टुरेन्टको भान्सामा छिरेका थिए, त्यो बेलासम्म घरको भान्साबाहेक बाहिरी भान्सा छिरेको उनीसँग अनुभव थिएन। तर, अवसरले उनलाई सिधैँ भान्सामा पुर्यायो। मुख्य पेशा नै बन्ने गरी पहिलोपटक छिराउने त्यो भान्सा थियो दरबारमार्गको बानथाई रेस्टुरेन्ट। 

कुक हेल्परको रुपमा उनले बानथाईमा काम गरे। उनको बानथाइमै थाई सेफसँग चिनजान भयो। उनै थाई सेफकै रेखदेखमा राईले भान्सामा परिकार बनाउन सिके। थाइ पाहुना र उनीहरुको स्वादबमोजिम राईले खाना पस्कन पाए। ‘थाई खानाको नाम चिन्न त सुरुमा गाह्रै थियो। तर, पछि काम गर्दै जाँदा अभ्यस्त भइयो,’ उनले भने, ‘त्यही अनुभवले मलाई तीन वर्षसम्म बानथाईमा अड्याईराख्यो।’ पहिलोपटक काममा छिरेका उनले भान्साको सबैजसो काम गरे। ‘के चाहिँ काम गरिनँ होला, सबै काम त्यहीँ सिकेँ,’ उनले भने, ‘त्यही सिकाइले मलाई अहिलेको ठाउँसम्म पुर्याएको हो।’ 

बानथाई पछि उनी ठमेलको अर्काे थाई रेस्टुरेन्ट क्रो थाई रेस्टुरेन्टमा छिरे। त्यहाँ उनले झन्डै दुईदशक बिताए। त्यही दुई दशकको अनुभवले उनी थाई खानाका लागि निखारिएका छन्। क्रो थाईको दुईदशक अनुभवलाई छाडेर उनी केही समय अघि पोखराको जस्मिन थाई ची रेस्टुरेन्टमा छिरेका छन्। ‘अहिले झन्डै १०–१२ जनालाई नेतृत्व गर्दै थाई खाना पस्किँदै आएका छन्। ‘स्वस्थ खाना पस्कने दायित्व हो। अब त सबै खाना तयार पार्न सक्षम भइयो,’ उनले भने, ‘थाइ खाना मात्र नभई सबै खानाको स्वाद पस्किन सकिने भइयो। यो सबै अनुभवले सिकाएको हो।’

उनको अनुभवमा अहिले थाई पाहुना मात्र नभई नेपाली पाहुना पनि थाई खानाप्रति लोभिन थालेका छन्। लेकसाइडको जस्मिन थाई ची मा आउने अहिले नेपाली पाहुना पनि थाई खाना खान खोज्छन्। ‘सेतो पहिरनको दायित्व हामीले निभाउने हो। स्वस्थ खाना खुवाउने वाचा सेतो पहिरनले बाँधेको छ,’ उनले भने, ‘त्यही भएर यो पहिरनको इज्जत जोगाउनुपर्छ। सेतो पहिरनको इज्जत जोगाउन उत्ति सहज भने छै। उनै राईले परिवार मासिकसँग केही थाई खानालाई शिफारिस गरेका छन्। उनको शिफारिसमा परेका केही थाई खाना यस प्रकार रहेका छन्।

थाई सि फुड–स्टिम फिस                                         

आवश्यक सामग्री

सिंगो माछा –एकपिस (५०० ग्राम)                                         

चाइनिज बन्दा –६०ग्राम

फिस सस –एकचम्चा                                                    

लसुनको स्लाइस –एकचम्च

चिकेन क्यूब –आधाटुक्रा

ग्रीन चिल्ली चप –एक चियाचम्चा

लेमन जुस –दुईचम्चा

धनियाँ –एकचम्चा

विधि

मःम पकाउने स्टिमरमा माछालाई ट्रे मा राख्ने। करिब २० मिनेट माछा स्टिम गर्ने। त्यही माछामा फिस सस, लसुनको स्लाइस, ग्रीन चिल्ली चप, चिकेन क्यूब, चाइनिज बन्दा राखेर स्टिम गर्ने। झन्डै १५ मिनेटजति स्टिम गरेर निकालेपछि लेमन जुस माथिबाट लगाउने। धनियाँ छर्केर खानका लागि तयार पारिन्छ।

थाई हट एण्ड सावर सुप/प्राउन                                   

आवश्यक सामग्री

पानी (सुप) –२ कप

चिकेन क्यूब –आधा टुक्रा

तोमयाम पेष्ट (सुप मसला) –एकचम्चा

हरियो खुर्सानी –स्वाद अनुसार

लेमनग्रास –८/१० टुक्रा

थाई जिन्जर –५/६ पिस

लेमन जुस – दुईचम्चा

फिस सस –एकचम्चा

प्राउन –चारपिस

ताजा च्याउ –१ सय ग्राम

विधि

भाँडोमा पानी (सुप) उमाल्ने। त्यसमा लेमनग्रास, लेमन जुस, थाई जिन्जर, चिकेन क्यूब, तोमयाम पेष्ट मिसाएर केहीबेर पकाउने। केहीबेर पाकेपछि त्यसैमा प्राउन हालेर केहीबेर पकाउने। फिसस हाल्ने र थप उमाल्ने। ताजा च्याउ मिसाउने (च्याउ धेरैबेर पकाउनु हुँदैन)। खुर्सानी स्वाद अनुसार हालेपछि ३–४ मिनेट पकाएपछि तयार हुन्छ। 

थाई करी (ग्रिन करी–चिकेन)                                    

आवश्यक सामग्री

खानेतेल –एकचम्चा

ग्रिनकरी पेष्ट –एकचम्चा

चिकेन –२ सयग्राम

चिनी–१ चियाचम्चा

नुन–स्वाद अनुसार

चिकेन क्यूब –आधा टुक्रा

नरिवलको दूध –दुईकप

भ्यान्टा –५÷७पिस (काटेको टुक्रा)

क्याफे लाम लिफ (ज्यामिरको पात) –३ पिस

हरियो खुर्सानी –    स्वाद अनुसार

विधि

भाँडोमा तेत तताउने, त्यसमा ग्रिनकरी पेष्ट फ्राइ गर्ने। त्यसपछि चिकेन मिसाएर केहीबेर फ्राइ गर्ने। चिकेन पाकेपछि चिनी, नुन, चिकेन क्यूब, नरिवलको दूध र भान्टाको टुक्रा हालेर केहीबेर पकाउने। झन्डै ७ मिनेट पकाएपछि बाक्लो हुन्छ र हरियो देखिन्छ। त्यसैमा ज्यामिरको पात मिसाएर हरियो खुर्सानीले सजाउने र खानका लागि तयार हुन्छ। 

थाई नुडल्स                                           

आवश्यक सामग्री

खानेतेल –दुई चम्चा

नुडल्स –१५० ग्राम

चिकेन –५० ग्राम

फिससस –एकचम्चा

चिनी –एकचम्चा

इमिलि जुस –एकचम्चा

लसुनको स्लाइस –आधाचम्चा

पिनट्स पाउडर –एकचम्चा

मासको टुँसा –५० ग्राम

अण्डा –एकपिस

भिनेगर –एकचम्चा

चिल्ली पाउडर –आधा चम्चा

हरियो प्याजको पत्ता

कागतीको टुक्रा

विधि

ताप्केमा तेल तताउने। त्यसमा लसुनको स्लाइस फ्राइ गर्ने र अण्डा मिसाउने। चिकेन मिसाएर केहीबेर पकाउने। चिकेन पाकेपछि नुडल्स हाल्ने। त्यसमा फिस सस, भिनेगर, चिनी, चिल्ली पाउडर, इमिलि जुस, मिसाएर केहीबेर फ्राइ गर्ने। पाक्ने बेलामा मासको टुँसा र हरियो प्याजको पत्ता मिसाउने र प्लेटमा राख्ने। प्लेटको एक छेउमा पिनट्स पाउडर राख्ने। कागतीको स्लाइसले सजाउने र पस्कने।

पपाया सलाद                                       

आवश्यक सामग्री

काँचो मेवा –२०० ग्राम (भुजुरी)

हरियो खुर्सानी –एउटा 

लसुन –दुई पोटी

थाई सक्खर –एकचम्चा

माछाको सस –एकचम्चा

गोलभेडा      –१ दाना

घिउ सिमि –२ पिस

लेमन जुस –डेढचम्चा

फ्राइ गरेको बदाम –२ चम्चा 

विधि

खुर्सानी र लसुन एकैठाउँमा कुट्ने। यसमा थाईसक्खर, माछाको सस, लेमन जुस मिसाएर लेदो बनाउने। मेवाको भुजुरीमा त्यही लेदो मिसाउने। त्यसमा बदाम, गोलभेडा (टुक्रा) र सिमि (टुक्रा) बनाएर साँध्ने। फ्राइ गरेको बदाम मिसाउने र खानका लागि तयार हुन्छ। 

प्रकाशित: १८ फाल्गुन २०७५ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App