१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रतिभा देखाउने अवसर

नमिता जोशी
कक्षा ९
कैलाली विद्या निकेतन, धनगढी 

फागुन ११ गते शनिवार मेरो विद्यालय कैलाली विद्या निकेतन धनगढीको बाइसऔं वार्षिकोत्सवको अवसरमा स्कूल फेट (विद्यालय महोत्सव) मनाइयो। बिहानैदेखि मेरो मनमा उत्सुकता जागिरहेको थियो किनभने मैले त्यो फेटमा विज्ञानसम्बन्धी मोडेलको जिम्मेवारी लिएकी थिएँ। त्यसको अघिल्लो दिन हामी कक्षा ६ देखि १०  सम्मका विद्यार्थीले स्कूल फेट हुने स्थान स्कूलकै ग्राउण्डमा पताका लगाएर डेकोरेसन गरेर दुलहीझैं विद्यालयलाई सजाएका थियौं।
विद्यालयमा हुने हरेक कार्यक्रममा मलाई सहभागी हुन मन लाग्छ।    

विद्यालयका सम्पूर्ण अभिभावक, विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा हामी कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले साइन्स सरको सरसल्लाहमा विज्ञानसम्बन्धी करीब २३ वटा मोडल  बनाएका थियौं। हरेक मोडेलको आआफ्नै विशेषता थियो। मैले पनि ती सबै मोडेलको बारेमा जान्ने मौका पाएँ। मोडेलमा हरेक कक्षाका साथीहरू जसको प्रत्यक्ष संलग्नता थियो उनैलाई जिम्मा लगाइएको थियो। अभिभावक वा अन्य कक्षाका साथीहरूले ती विज्ञानसम्बन्धी मोडेलबारे जिज्ञासा राख्दा म लगायत अन्य साथीहरू उत्तर दिन्थ्यौं। हाम्रो कुरा सुन्दा अभिभावक र अन्य साथीहरू अत्यन्तै खुशी हुन्थे।

स्कुल फेटमा विज्ञान प्रदर्शनी मात्र नभएर कक्षा ६, ७ र ८ का र्भाबहिनीहरूले पढ्नु पर्ने पेशा व्यवसाय प्रविधि र शिक्षा नामक पुस्तकमा आधारित रहेर विद्यालयमा अभ्यास गराइएका खानाका परिकारको ‘फुड फेस्टिभल’ समेत आयोजना गरिएको थियो। विद्यार्थी भाइबहिनी आफैंले विभिन्न खानाका परिकार जस्तै मःमः  सेल रोटी, बटुक, अचार, समोसा, पुरी, थारु जातिको उत्कृष्ट परिकार ढिक्री, पकौडा, पानीपुरी आदि बनाएर अभिभावक, विद्यार्थीलाई बिक्री गरेका थिए। ती खानाका परिकार अभिभावक विद्यार्थी साथीहरूले रमाइरमाइ खाए।

हाम्रो विद्यालयका प्रिन्सिपल टोपेन्द्र शाहको सभापतित्वमा औपचारिक कार्यक्रम भएको थियो। विद्यार्थी साथीहरूले आफूभित्र रहेको विभिन्न विधामा प्रतिभा प्रस्तुत गरेका थिए। कसैले नृत्य, गायन, नाटक, चुट्किला, कराँते काता प्रदर्शन त कसैले कथा, कविता सुनाउन भ्याएका थिए। त्यति रमाइलो कार्यक्रमको उद्घाटन हाम्रै विद्यालयका कक्षा नर्सरी र एलकेजीमा अध्ययनरत सानासाना बहिनीहरूले नृत्य देखाएर गरेका थिए।

यो स्कुल फेट (महोत्सव) कार्यक्रमबाट मैले धेरै कुरा बुझ्ने मौका पाएँ। मलाई बिहान भएको उत्सुकताले धेरै कुरा सिक्ने वातावरण बनेको थियो। यो कार्यक्रम सम्पन्न गर्न धेरै साथीहरूले दुई हप्ता अघिदेखि साँझ÷बिहानको समय सदुपयोग गरी विभिन्न विज्ञान सम्बन्धी मोडेल निर्माण गरेका थिए। दिउँसो हामी अध्ययन गर्थ्याैँ।

यस्ता खालका कार्यक्रमको आयोजनाले हामी विद्यार्थीलाई औधी फाइदा पुग्छ। करिव विहान ११ बजेदेखि सुरु भएको फेट साँझ ६ बजेतिर सम्पन्न भएको थियो। धैरै विद्यार्थीको प्रत्यक्ष संग्लनता रहेको विज्ञान प्रदर्शनी, फुड फेस्टिभल र सांस्कृतिक कार्यक्रम सहितको स्कुल फेट जस्ता कार्यक्रमको निरन्तरता हाम्रो विद्यालयले सधैँ दिइरहोस् भन्ने कामना गर्दछु।                                        

प्रकाशित: १८ फाल्गुन २०७५ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App