१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकाको आफ्नै प्रहरी

गाउँ प्रहरीलाई शपथ खुवाउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला। तस्बिर सौजन्य : ऐंसेलुखर्क गाउँपालिका

खोटाङ - खोटाङको ऐंसेलुखर्क बजारमा सेटो सर्ट, नीलो पाइन्ट र कालो टोपी लगाएका तीन सुरक्षाकर्मी हिँड्दा अनौठो मानेर रमिता हेर्ने धेरै भए। झट्ट देख्दा कुनै संस्था वा कार्यालयको सुरक्षागार्डको झल्को दिने भेषमा रहेका उनीहरू अन्य कोही नभएर ऐंसेलुखर्क गाउँपालिकाले भर्खरै नियुक्तिपछि ड्युटीमा खटिएका गाउँ प्रहरी थिए। कम्मरमा खुकुरी भिरेका गाउँ प्रहरीलाई गाउँपालिकाले पहिलोपल्ट बुधबार एेंसेलुखर्क बजारको सुरक्षार्थ परिचालन गरेको थियो। दैनिक कार्य सम्पादनका क्रममा परिचालन गर्नेगरी गाउँपालिकाले जिल्लामै पहिलोपल्ट गाउँ प्रहरी भर्ना गरेको हो। भर्ना भएका गाउँ प्रहरीलाई बुधबार नियुक्ति दिएर तत्काल ड्युटीमा खटाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए।

गाउँ प्रहरी भएसँगै ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका टीकाराम राईको भूमिका फेरिएको छ। सामान्य खेतीपातीका काम गर्दै आएका राई गाउँ प्रहरीमा छनोट भएपछि फरक भूमिकामा देखिएका हुन्। यस्तै यसअघि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा म्यादी प्रहरीको अनुभव सँगालिसकेका ऐंसेलुखर्क–६ ज्यामिरेका राजेश पोखरेल पनि थुप्रै प्रतिस्पर्धीलाई उछिन्दै गाउँ प्रहरीमा छानिए। कक्षा १२ उत्तीर्ण गरेर घरायसी काम गर्दै बसिरहेको अवस्थामा पोखरेल गाउँ प्रहरी भर्ना भएका हुन्। उनीहरूसँगै एेंसेलुखर्क चित्रेका राजन निरौला पनि गाउँ प्रहरीमा भर्ना भएका छन्। ‘गाउँ प्रहरीमा नाम निकाल्न अति गाह्रो भयो,’ पोखरेलले भने, ‘अब खुबीअनुसार गाउँपालिका र गाउँवासीको सेवामा समर्पित हुनेछु।’

स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार गाउँ प्रहरीको व्यवस्था गरी शान्ति सुव्यवस्था र अमनचयन कायम गर्दै नीति–नियम प्रभावकारी कार्यान्वयनका लागि गाउँ प्रहरीको भर्ना गरिएको गाउँपालिकाले जनाएको छ। शनिबार सेना र प्रहरीबाट शारीरिक परीक्षण, आइतबार लिखित परीक्षा र सोमबार अन्तर्वार्ता गरेर पुरुष गाउँ प्रहरी छानिएको गाउँपालिका प्रमुख निरौलाले बताए। ऐंसेलुखर्क गाउँपालिकाले देशभरका गाउँपालिकामध्ये सबैभन्दा पहिलोपल्ट आफ्नै प्रहरी नियुक्त गरेको दाबी गरेको छ।

गाउँ प्रहरीमा भर्ना भएपछि गाउँले र आफन्तले सम्मान दर्साउन थालेको तीनैजना गाउँ प्रहरीको भनाइ छ। गाउँपालिकाभित्र मात्र कार्यक्षेत्र हुने गाउँ प्रहरीलाई मासिक तलब साढे १२ हजार तोकिएको छ। ऐंसेलुखर्क बजारका सडकपेटीमा जथाभाबी राखिएका बिक्रीका सामग्री हटाएर बजार व्यवस्थित गने, विद्यालय क्षेत्रमा सवारीसाधनको गति सीमित गर्ने, क्षमताभन्दा बढी लोड बोकेर गाउँपालिका प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई निगरानी गर्नेलगायत प्रयोजनका लागि गाउँ प्रहरी भर्ना गरिएको हो। गाउँपालिकामा क्रमशः पाँच हजार नागरिकका लागि एकजना गाउँ प्रहरीको व्यवस्था गर्नेगरी कार्यविधि ल्याइसकिएको गाउँपालिका प्रमुख निरौलाले बताए। कम्तीमा हरेक वडामा एक जना गाउँ प्रहरी राख्नेगरी गाउँपालिकाले गाउँ प्रहरी व्यवस्थापन कार्यविधि पारित गरिसकेको छ। ‘पटक–पटक बजारमा अस्तव्यस्त राखिएका सामग्री हटाउन, बढी लोड बोकेका सवारीसाधनलाई कारबाही गर्न जनप्रतिनिधिलाई अप्ठ्यारो हुँदोरहेछ,’ गाउँपालिका प्रमुख निरौलाले भने, ‘त्यो कामका लागि हामीले गाउँ प्रहरी राख्ने तयारी गरिएको हो।’गाउँ प्रहरीका लागि गाउँपालिकाभित्रका १७ जनाको आवेदन परेको थियो। पुरुष गाउँ प्रहरी भर्नाका लागि गाउँपालिकाले माघ २२ गतेदेखि फागुन ७ गतेसम्मको म्याद दिएर आवेदन आह्वान गरेको थियो।

प्रकाशित: १८ फाल्गुन २०७५ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App