१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लापरबाहीले लियो ज्यान

काठमाडौं - गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको सल्लाहअनुसार नै बेलायतको राजकीय भ्रमण स्थगित गरे। सेन्ट्रल सेक्युरिटी सर्भिस (सिसिएस) का अधिकारीको सल्लाहअनुसार ट्रम्पको पूर्वनिर्धारित बेलायत भ्रमण रद्द भयो।

–२०५४÷५५ ताका राजा वीरेन्द्रको जोमसोम भ्रमण प्रतिकूल मौसमकै कारण कयौं पटक रद्द भएको त्यति बेला दरबारमा कार्यरत सुरक्षा अधिकारी बताउँछन्।

–२०६० सालमा राजा ज्ञानेन्द्र धादिङको सल्यानकोट मन्दिर दर्शन गर्नजाने पूर्वनिर्धारित कार्यक्रम माओदीबाट आक्रमण हुनसक्ने भन्दै अंगरक्षक विनोज बस्न्यातले दिएको सल्लाहअनुसार रद्द भयो। बेलैमा सुरक्षा सतर्कताबारे जानकारी गराएको भन्दै ज्ञानेन्द्रले बस्न्यातलाई धन्यवादसमेत दिएका थिए।

–राष्ट्रपति विद्यादेवी भण्डारी उपत्यकाबाहिर जाने पूर्वनिर्धारित कार्यक्रम सरकारप्रति स्थानीयका असन्तुष्टि, प्रतिकूल मौसम र अन्य विभिन्न कारण देखाउँदै सेनाले थुप्रै पटक रद्द गरिदिएको छ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा सावधानीसँग जोडिएका यी केही तथ्य हुन्। तर पछिल्लो समय यस्तो आवागमनमा सावधानी नअपनाउँदा निकै दुःखदायी परिस्थिति सामना गर्नुपरेको छ। भिभिआइपी÷भिआइपीका लागि बनाइएको सुरक्षा निर्देशिका पालनामा गम्भीर लापरबाही हुने गरेको पछिल्लो तथ्य प्रोटोकलको समेत ख्याल नगरी निजी हेलिकोप्टरमा सवार भएर बहालवाला मन्त्रीको दुर्घटनामा ज्यान जानुले पनि स्पष्ट हुन्छ।

केन्द्रीय सुरक्षा समितिबाट तय भएको सुरक्षा निर्देशिका पालना नगरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको तथ्य खुलेको छ। मन्त्री अधिकारीको यात्रा विकट र हिमाली जिल्लाका लागि थियो। मौसमसमेत प्रतिकूल थियो। तर त्यसअनुसार कुनै पनि सुरक्षाजन्य सावधानी र प्रतिकूल मौसमसँग जुध्ने व्यवस्थापनमा पनि ख्याल नगरिएको सेनाकै एक अधिकारी बताउँछन्। मन्त्रीले सरकारी कामकाजक लागि जाँदा सरकारी हेलिकोप्टर प्रयोग गर्न सक्थे। मन्त्रालयले यस विषयमा समन्वय गर्न सक्थ्यो। सेनाका हेलिकोप्टर पनि भिआइपी र भिभिआइपीका लागि प्रयोग हुने गरेका छन्। तर अधिकारीको भ्रमणका लागि सेनासँग पर्यटन मन्त्रालयले हेलिकोप्टर नमागेको सैनिक अधिकारीले जानकारी दिए।

नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले भिभिआइपी÷भिआइपीलगायत सरकारी पदाधिकारीका लागि माग भएर आएबमोजिम सैनिक हेलिकोप्टर उपलब्ध गराउन सकिने तर मन्त्रीको ताप्लेजुङ भ्रमणमा यसबारे कुनै जानकारी नआएको बताए। ‘मन्त्रीज्यूको भ्रमणका लागि माग भएको अवस्थामा सेनाको हेलिकोप्टर उपलब्ध हुन्थ्यो तर त्यस दिन माग नै गरिएको थिएन,’ ढकालले भने, ‘आवश्यकता र उपलब्धताका आधारमा सेनाको हेलिकोप्टर तैनाथ हुन्छ।’

सिंगल इन्जिनमा उड्न पाउँदैनन् भिभिआइपी, निजी साधनमा उड्नु सुरक्षा निर्देशिकाविपरीत

अंगरक्षकको भूमिका ‘सेरेमोनियल’ हुँदा समस्या
–मन्त्रीज्यूको भ्रमणमा सेनाकै हेलिकोप्टर पनि प्रयोग हुन सक्थ्यो तर हामीलाई त्यसबारे कुनै जानकारी नै आएन :यामप्रसाद ढकाल, प्रवक्ता, नेपाली सेना

–भिआइपी र भिभिआइपीका अंगरक्षक सेरोमोनियल बनाइएको छ, यसलाई तत्काल करेक्सन गर्नुपर्छ : विनोज बस्न्यात
सधैं उल्लंघन हुन्छ सुरक्षा निर्देशिका

-आवागमनमा प्रोटोकल नै ख्याल गर्दैनन् भिआइपी

गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिबाट पारित निर्देशिकाअनुसार सामान्यतया विशिष्ट तथा अति विशिष्ट व्यक्तिले हवाई यात्रा गर्दा सिंगल इन्जिनको जहाज वा हेलिकोप्टर प्रयोग गर्न पाइँदैन। त्यस्तै स्थल मार्गबाट ओहोरदोहोर गर्दा निजी सवारीसाधन प्रयोग गर्न पाइँदैन। त्यसो त राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चीनको राजकीय भ्रमणमा निजी कम्पनी हिमालय एयरलाइन्सको जहाज प्रयोग गरेका थिए। त्यसलाई प्रधानमन्त्रीको निकै अस्वाभाविक कदम भनिएको थियो।

सुरक्षा निर्देशिकाको प्रावधानविपरीत मन्त्री अधिकारी, अंगरक्षक अर्जुन घिमिरे, यती एयरलाइन्सका निर्देशक आङछिरिङ शेर्पासहितको सातसदस्यीय टोली तेह्रथुमस्थित चुहानडाँडा विमानस्थलको स्थलगत सम्भाव्यता अवलोकनमा गएको थियो। निजी जहाज तथा हेलिकोप्टर उद्यमी शेर्पाको साथमा मन्त्री अधिकारी किन अनुगमन गर्न पुगे भन्नेमा पनि प्रश्न उब्जिएको छ। मन्त्री अधिकारी सवार सिंगल इन्जिनको एयर डाइनेस्टी हेलिकोप्टर शेर्पाकै स्वामित्वको हो। मन्त्री अधिकारी आफैंले निजी हेलिकोप्टरमा जाने निधो गरे वा अरुको विश्वासमा गए भन्ने कुराको छानबिन हुनुपर्ने सुरक्षा मामिलाका जानकारहरु बताउँछन्।

तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रको समेत अंगरक्षक बसेका नेपाली सेनाका पूर्व उपरथी विनोज बस्न्यात भिभिआइपी तथा भिआइपी सुरक्षासम्बन्धी नीति निर्देशिका उल्लंघन गरेकै कारण अप्रिय र अकल्पनीय घटनाको सामना गर्नुपरेको बताउँछन्। मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना पनि सुरक्षा सावधानीमा गरिएको गम्भीर लापरबाही र त्रुटिको नतिजा भएको बस्न्यातको टिप्पणी छ। भिभिआइपी÷भिआइपीका कार्यक्रमको हैसियत र परिस्थिति तथा त्यसमा जान हुने÷नहुने भन्नेबारे विदेशमा अंगरक्षकको भूमिका महŒवपूर्ण हुने भए पनि नेपालमा यसलाई ‘सेरेमोनियल’ बनाइएको बस्न्यात बताउँछन्।\

भिआइपी सुरक्षासम्बन्धी व्यवस्था समयसापेक्ष बनाउन नसक्दा समेत गम्भीर चुनौतीको सामना गर्नुपरेको उनको भनाइ छ। ‘सिंगल इन्जिन जहाज वा हेलिकोप्टरमा भिआइपी वा भिभिआइपीले यात्रा गर्नै पाउँदैनन्, त्यो पनि निजी कम्पनीको सिंगल इन्जिन हेलिकोप्टरमा जानु त झनै लापरबाही हो,’ बस्न्यात भन्छन्, ‘हामीले दुःखद घटनाबाट पाठ सिकेर आगामी दिनमा यस्ता कमजोरी हुन नदिन अहिलेबाटै पहल थाल्नुपर्छ।’ अंगरक्षकहरु भिभिआइपीको स्वार्थअनुसार भन्दा थ्रेटअनुसार परिचालन गर्न जरुरी भएको उनी बताउँछन्। कसलाई कुन अवस्थामा कुन किसिमको सुरक्षा दिने, परिस्थिति वा खतरा विश्लेषण कसरी गर्ने ? अंगरक्षकलाई कुन तहको जिम्मेवारी दिने भन्ने कुराको सही प्रयोग हुन नसक्नुमा पनि भिआइपी गतिविधि विवादास्पद हुने गरेको उनको भनाइ छ।

‘भिआइपी तथा भिभिआइपीको गतिविधि पूर्वनिर्धारित र स्वाभाविक किसिमको हुनुपर्ने हो,’ बस्न्यात भन्छन्, ‘कहिलेकाहीं परिस्थितिजन्य आवागमनमा पनि आकस्मिक सुरक्षा व्यवस्थापनका उपाय अपनाउनुपर्छ, यस्तो अवस्थामा अंगरक्षकले समेत भिभिआइपीमाथी हावी हुन सक्नुपर्छ।’

प्रकाशित: १८ फाल्गुन २०७५ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App