१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सराङकोटमा सूर्योदय

बिहान चार बज्नुअघि नै निद्रा खुलेको के थियो, बडो उत्साह र उल्लासका साथ ओछ्यान छाडेँ। अरु बेला निदाउने प्रयास गर्थेँ र कोल्टे फेर्थेँ होला। तर यति बेला आफ्नै कोठामा थिइनँ, घरभन्दा २ सय मिटर पर पोखराको कुनै एउटा होटेलमा थिएँ अर्थात् यात्रामा।

सराङकोटमा पुग्ने र सूर्योदय हेर्ने कुरा अघिल्लो राति नै तय भएको थियो। पोखरा पुग्ने पर्यटकका लागि सूर्योदयको दृश्यावलोकन पनि एउटा आकर्षण हो र यसका लागि उपयुक्त थलो सराङकोट हुने गरेको छ। हत्तरपत्त अर्को कोठामा रहेका सहयात्रीहरुलाई उठाउन जान्छु त, उनीहरु पनि उस्तै गरी उत्साहका साथ तयार भइरहेका थिए। पाँच बजे सडकमा निस्यौँ र सराङकोट पुर्याइदिने ट्याक्सीको खोजीमा लाग्यौँ। दुईतर्फी बाटोका लागि महेन्द्रपुलबाट १५ सय माग्यो। यो निकै महँगो दर हो। एक तर्फी मात्रभन्दा १ हजार भन्यो तर ८ सयमा कुरा मिलाएर त्यतातिर हुइँकियौँ।

ट्याक्सीले पोखरा बजार छाडेर सराङकोटको बाटो के लियो, उकालो सुरु भइहाल्यो। अलि परसम्म जाँदा त चकमन्न रातमा हामी मात्रै जस्तो लाग्थ्यो तर जसै अगाडि बढ्दै गयौँ, अरु गाडीहरु देखियो। म अलि आँटिरहेको र झ्याल बाहिर नियालिरहेको थिएँ। बाहिर उज्यालिन थालिसकेको थियो। जति जति समय बित्दै गइरहेको थियो, त्यति नै म आँटिरहेको थिएँ। पहिला पनि बाटोमा ढिला भएको थियो र सूर्योदय हेर्न पाएको थिएन। अब पनि त्यस्तै होला भनेर चिन्तित थिएँ। जहाँ चिन्ता, त्यहीँ तन्ता। बाटोमा गाडीहरु रोकेर सवार यात्रुहरु नियाल्ने समूहको निगरानीमा पर्यौँ।

भित्र विदेशी यात्रु रहेछ भने तिनीहरुबाट पैसा उठाउने स्थानीय समूह रहेछन्। हामी तिनैजना स्वदेशी। तिनीहरुबाट पार पाएर अलि अगाडि के बढेका थियौं, एउटा ठूलो गाडी बिग्रेको भनेर रोकिनु पर्यो। बल्लबल्ल पास भएर अगाडि के बढेका थियौं, ट्राफिक जाम हुन थाल्यो। कोही त गाडीबाट झरेर हिँड्न पनि थाले। हिँडेर गयौं भने कति टाढा पर्छ भनेर सोध्छु, अलि जानु पर्छ भन्ने जवाफले हिँड्न नि दिएन। एकछिनपछि बाटो खुल्यो र गाडी अगाडि बढ्यो।
‘‘यहीँसम्म हो, अब यताबाट माथि लाग्नुस्’’– ड्राइभर।

तिर्नुपर्ने पैसा तिरेर हामी निस्क्यौँ। बाटो छेवैमा एउटा प्रवेशद्वार देख्छौं र त्यसमा लेखिएको थियो– ‘सराङकोट भ्यू प्वाइन्ट तपाईंहरुको हार्दिक स्वागत गर्दछ १’ प्रवेशद्वारदेखि नै खुड्किलाहरुले हामीलाई पर्खिरहेको थियो। छिटोछिटो उक्लियौँ। जब माथि पुग्यौँ त्यहाँ स्वदेशीसँग पनि पैसा उठाइरहेका रहेछन्। यहाँबाट फेवाताल र त्यसमाथिको विश्वशान्ति स्तूप पनि देखिन्छ। चिसो हावा चलिरहेको थियो। उज्यालो हुन थाल्दा पनि सूर्योदय भइसकेको भने थिएन। सन्तोष मान्ने कुरा यही भयो। सबै सूर्योदयकै प्रतिक्षामा थिए।

उत्तरतिर बस्ने ठाउँ रहेछ। यहाँ बसेर सूर्योदयको दृष्यपान गर्न अलि बेग्लै मज्जा आउँदो होला, र त भीड लागेको। हामी पनि त्यतै लाग्यौं। कोही बोलिरहेका छैनन, निकै शान्त थियो। बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला। त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए। मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो।

दक्षिणी अन्नपूर्ण (७,२१९ मि), धौलागिरि (८,१६७ मि.) र माछापुच्छ्रे्र (६,९९७ मि.) का हिमालहरु आँखै अगाडि भनेजस्तो लहरै उभिएको। अघिसम्म सेताम्मे हिमालका चुचुरोहरुमा अचानक रातो देखियो, भालेको सिउरो जस्तो। बिस्तारै पूरै हिमालमा हलुका लालीमा चढ्यो। पूर्वी छेउतिरको हिमालमाथि बादलले रिकापीजस्तो आकार लिएर मन्दराइरहेको थियो र सूर्यको लालीले त्यसमा राम्रैसँग प्रभाव छाड्यो। नयनाभिराम भयो। त्यहाँ केही आवाज छ भने आफ्नो साथीसँग गरेको खासखुस।

खासखुस पनि अरु होइन, देखिएको दृश्यलाई छोटो वाक्य वा शब्दमा अनुभूति व्यक्त गरेको मात्रै। बेजोडको अनुभूति जब हुन्छ, व्यक्त गर्न नपाउँदाको अनुभूति मलाई राम्रैसँग छ। पाल्पा तानसेन माथिको डाँडामा गएर सूर्योदय हेर्दा मान्छेको नाममा म एक्लो थिएँ। त्यति बेलाको त्यो अनुभूति सुनाउने कोही थिएन, थिए त केबल आफ्नै दुई कान मात्र। सराङकोटमा आफ्नो अनुभूति व्यक्त गर्न परिचित हुनैपर्छ भन्ने जरुरत थिएन। मानौं, त्यहाँ पुगेका सबै एउटै परिवार हो अनि हितैषी पनि। त्यसमा आफ्नी प्रियतमा साथमा हुँदो हो त कुरा बेग्लै। साँच्चै, त्यहाँ जोडाजोडीहरु मनग्ये थिए। 

पश्चिम छेउमा सूर्यको रातो तेज जसै चम्कियो, करिब सबैले बिस्तारै स्वास ताने र ढिलो गरी छाडे। स्वास तानेको आवाज राम्रैसँग सुनियो। बिस्तारै सूर्यको सानो टुक्रा देखियो। बिस्तारै उक्लियो। लामो र व्यग्र प्रतीक्षापछि बल्ल आफ्नो प्रियतमा झुल्किएजस्तो सूर्य झुल्किन आइपुगेको थियो र सबैको अनुहारमा खुसीको लहर लहरियो। सूर्योदय र त्यसमा आफूलार्इ समेटेर तस्बिर उतार्नेहरुको विन्दासी पना बेग्लै विषय हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App