हितैषी नेतालाई श्रद्धासुमन !

शुक्रबार, १७ फागुन २०७५, १४ : १० राजाराम गौतम

532


काठमाडाैं - एउटा पत्रकार र नेताबीच के सम्बन्ध हुन्छ ? पत्रकारका लागि नेता सूचनास्रोत हो भने पत्रकार त्यो सूचनाको संवाहक। दुई दशकभन्दा बढीदेखि पत्रकारितामा अभ्यास गर्दा पनि धेरै नेता मेरा लागि सूचनस्रोत मात्रै हुन्। तर औंलामै गन्न सकिने केही नेता छन्, जो मेरा लागि सूचनास्रोत मात्रै होइनन्। ती मेरा नजिकका मित्र हुन्। शुभचिन्तक हुन्। अनि म उनीहरूको। तीसँगको सम्बन्ध समाचारको कोणबाट मात्रै जोडिएको छैन। अनौपचारिक कुराकानी, हँसिमजाक, व्यक्तिगत छेडखानीकै स्तरमा भावनात्मक सम्बन्ध पनि गाँसिएको छ। तिनै केही साथी नेतामध्ये एक थिए, रवीन्द्र अधिकारी। विडम्बना ! प्रिय साथीलाई ‘थिए’लेख्नुपरेको छ।

३० वर्षको राजनीतिक करिअरमा सधैं जुझारु, गतिशील र आशलाग्दो छवि बनाएका एक नेतालाई पुष्टि नभएका एकाध विवादका आडमा अवमूल्यन गर्नु न्यायसंगत होइन।
 

बुधबार अपराह्न उनीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनाको खबर पुष्टि नहुँदासम्म लागिरह्यो, कतै तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी जस्तै रवीन्द्र पनि बाँचिहाल्छन् कि ? नौ महिने शासनकालमा बाढीपीडित क्षेत्रको भ्रमणबाट फर्कंदै गर्दा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र तत्कालीन गृहमन्त्री तथा वर्तमान प्रधानमन्त्री केपी ओली चढेको हेलिकप्टर टेल रोटर फेल भई दुर्घटनाग्रस्त भएको थियो। र, उनीहरू बाँच्न सफल थिए।रवीन्द्रको हकमा त्यो सौभाग्य दोहोरिएन। गृह प्रशासनले अधिकारीसहित सातै जनाको निधन भएको पुष्टि गर्यो। सिंगो देश शोकमा डुब्यो। सामाजिक सञ्जालका भित्ताहरू उनीप्रति पोखिएका समवेदना सन्देशले भरिन थाले।

पछिल्ला केही महिनायता सामाजिक सञ्जालमा उनीप्रति यतिविधि सकारात्मक थिएनन्। वाइडबडी खरिद प्रकरणलगायत केही घटनामा उनी विवादमा तानिएपछि उनको चर्को आलोचना हुन थालेको थियो। लेखा समितिअन्तर्गतको उपसमितिले वाइडवडी प्रकरणमा अनियमितता भएको र यसमा नैतिक जिम्मेवारी मन्त्रीले पनि लिनुपर्छ भन्दै कारवाहीको सिफारिस नै गरेको थियो। त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सयौं रूख काट्न सहमति दिएकाले पनि विवादमा तानिएका थिए उनी। 

अधिकारीको राजनीतिक करिअर बढ्दै मन्त्रीस्तरमा आइपुग्दा उनको छवि एक आशलाग्दा नेताको रूपमा निर्माण भइरहेको थियो। जनस्तरबाट केही बढी अपेक्षा थियो, उनीप्रति। सायद त्यसैले नै विवादमा मुछिएपछि उनीलक्षित प्रश्न, आलोचना र निराशा बढी नै व्यक्त भए।

उसै पनि राजनीतिक नेतृत्वका कारण नेपाली समाज निराशाले गाँजिएको छ। केही सीमित अनुहारलाई हेरेर नेपाली समाजले आशा गर्न छोडेको छैन। ती सीमित अनुहारमध्ये एक थिए, रवीन्द्र। उनको प्रतिष्ठामा आँच आउँदै गरेको देखेपछि साथीका हैसियतले मैले सुझाएको थिएँ, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गरिदिनोस्, यसले तपाईंको उचाइ घट्ने छैन।’ तर उनी राजीनामको मुडमा थिएनन्। भन्थे, ‘म भित्रै बसेर पनि छानबिनबाट तथ्य बाहिर आओस् भन्ने चाहन्छु। कुनै संलग्नता नभएको आरोपमा म किन भयभीत हुने ? तथ्य बाहिर आओस्। त्यसका लागि म तयार छु।’

खासमा उनी आफ्नो नेतृत्वमा केही अर्थपूर्ण कामहरू होस् भन्नेमा थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएर सकारात्मक काम थालेका उनी उक्त विमानस्थलको स्तरोन्नति आफ्नै नेतृत्वमा भएको हेर्न चाहन्थे। पोखरा क्षेत्रीय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आदि काम सम्पन्न गर्न सके उपलब्धि हुनेछ भन्ने उनको बुझाइ थियो। यसो गर्दा पर्यटक धेरै भित्र्याउन सकिन्थ्यो र पर्यटनलाई बेग्लै उचाइमा पुर्याउन सकिन्थ्यो भन्ने सोच्थे। यस्तै अरू कैयन् योजना मन्त्री भएका बखत पूरा गर्न चाहन्थे। त्यसैले राजीनामा दिइहाल्न तयार थिएनन् उनी। बरु कामसँगै आफूलाई लागेको आरोप पनि गलत सावित हुनेमा विश्वस्त देखिन्थे। दुःखद् कुरो, ती आरोपको तथ्य बाहिर नआउँदै उनले धर्ती छाडे।

वाइडबडी अनियमिततामा अख्तियारको छानबिनपछि तथ्य बाहिर आउने नै छ। यसबाहेक उनी विवादमा तानिएका अरू कतिपय विषय पनि समयक्रममा प्रस्ट हुँदै जाला। यसमा थप चर्चा आवश्यक छैन। यद्यपि रवीन्द्रको चरित्र, छवि, योगदानको निचोड निकाल्न मन्त्रिकालीन एक वर्षका आधारमा मात्रै गरिनु न्यायोचित हुने छैन। 

रवीन्द्रको निधनले नेपाली राजनीतिमा एउटा रिक्तता छाएको छ, यतिबेला। मुलुकले एउटा सम्भावना बोकेका आशालाग्दा नेता गुमाएको छ। उनी दिवंगत भएपछि सामाजिक सञ्जालमा पोखिएका भावना त्यसका साक्षी हुन्। २०४५ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमार्फत राष्टियस्तरका नेतामा दर्ज ४९ वर्षीय अधिकारी एक लोकप्रिय नेता थिए भन्न सोचिरहनु पर्दैन। त्यसको पुष्टि उनलाई कास्कीका जनताले तीन पटक चुनाव जिताएर गरिसके।

विद्यार्थीकालीन राजनीतिमा रहँदा पनि उनले विद्यार्थी हक अधिकारका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे। त्यो कालमा उनले गरेको योगदान स्मृतिमा रहिरहनेछ। सार्वजनिक यातायातमा विद्यार्थीका लागि भाडा छुटको मुद्दा होस् वा तत्कालीन शाहज्यादा पारसको गाडीले ठक्कर दिएको कारण संगीतकार प्रवीण गुरुङको मृत्यु भएको प्रकरण होस्। विद्यार्थी आन्दोलनलाई संगठित गर्दै उनले नेतृत्व गरेको दृष्टान्त लोकले भुल्ने छैन।

संसद्को विकास समितिमा रहँदा उनले खेलेको भूमिका स्मरणीय छ। झण्डै साढे तीन वर्षअघि विकास समितिको नेतृत्वमा रहँदा एउटा टोली लिएर उनी केरुङ नाकाको स्थलगत अवलोकन तथा अध्ययन गर्न रसुवागढी पुगेका थिए, जहा संसदीय टोलीसहित हामी केही सञ्चारकर्मी पनि थियौं। त्यसबखत तातोपानी नाका बन्द थियो भने केरुङ नाका सञ्चालनमा आएको थियो। राजधानीमा केरुङ नाकाबाट आपूर्ति बढाउने चर्चा चुलिँदै गर्दा त्यसको सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न अधिकारीको समूह पुगेको थियो। नाकामा व्याप्त अव्यवस्थापन र सडकको अवस्थाबारे उनले सरकारलाई प्रतिवेदन दिएपछि गल्छी रसुवागढी सडक विस्तारको काम बढ्यो। सरकारले सेनालाई जिम्मा दियो। पछि उनी कोरला नाका खोल्न स्थलगत अध्ययनमा पनि पुगे। विकास समितिमा रहँदा उनले देखाएको सक्रियताले उनीप्रतिको अपेक्षा बढाएको थियो। मन्त्रीको भूमिकामा आएको एक वर्षमै उनले त्यो अपेक्षा पूरा गर्न सकेनन् सायद। मन्त्रीको भूमिकामा उनी परीक्षणमै थिए, यद्यपि प्रयत्न गर्दै थिए।

सारमा, उनको सम्पूर्ण राजनीतिक जीवनमध्ये पछिल्लो अवधिका एकाध विवादका घटनाबाहेक उनी आशा र अपेक्षा जगाउनै सफल थिए। त्यसर्थमा सधैं जुुझारु, गतिशील र आशलाग्दो छवि बनाएका एक नेतालाई पुष्टि नभएका एकाध विवादका आडमा अवमूल्यन गर्नु न्यायसंगत होइन। हँसिला, फरासिला सबैसँग चाँडै घुलमिल भइहाल्न सक्ने मैत्रीपूर्ण स्वाभावका धनी रवीन्द्रलाई भावपूर्ण श्रद्धाञ्जलि।  






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad