१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

किन बारम्बार खनिन्छ सडक ?

बागदरबारमा बुधबार खानेपानीको पाईप हाल्न सडक खन्दै मजदुरहरु।  तस्बिर / श्याम राई

काठमाडौं - काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गत माघ महिनामा सुन्धरा–त्रिपुरेश्वर सडक खण्डमा खानेपानीको पाइप बिछ्याउनको लागि सडक खन्यो। सडक खनेको १५ दिनसम्म हिलाम्मे र धुलाम्मे सडकले सर्वसाधारणले सकस भोगे। सर्वसाधारणले सास्ती भोगेको केही समय लगत्तै पाइपलाइन बिछ्याएको थियो। तर, सडकमा पाइपलाइन बिछ्याएको केही समय बित्न नपाउँदै फेरि निर्देशनालयले फेरि सुन्धारा–त्रिपुरेश्वर सडक खण्डका पेटी भत्काएको छ। सरकारी निकायले बारम्बार सडक खन्दा सर्वसाधारणले बारम्बार हिलाम्मे र धुलाम्मे सडकको सास्ती भोग्दै आइरहेका छन्। निर्देशनालयले बारम्बार सडक खन्दै छाड्ने प्रवृत्तिको कारणले राजधानीबासी आक्रान्त भएका छन्। 

बारम्बार सडक खन्दै भत्काउने गतिविधीले हैरानी भएको सुन्धारामा भेट्टिएकी सुनिता श्रेष्ठले गुनासो गरिन्। ‘अघिल्लो दिन सग्लो भएको सडक भोलीपल्टै खाल्डाखुल्डी मात्रै देखिन्छ,’ उनले भने,‘रातारात भत्काउने तर, मर्मतसम्भार नगर्ने सरकारी रवैयाको कारणले जनताले सास्ती पाइरहेका छन्।’ उनी मात्रै होइन्, अहिले काठमाडौंको सडकमा आउजाउ गर्ने सर्वसाधारणले भोगेको समस्या हो।  ‘एकै ठाउँमा बारम्बार सडक खन्दै पुर्दे गरेको  देख्दै आएका छौं,’ उनले भनिन्,‘यो विकास गरेको हो कि विनाश गरेको बुझ्नै सकिएन्।’ सरोकारवाला निकायले बारम्बार  सडकपेटी भत्काउँदा पैदलयात्रुलाई असहज भएको उनी बताउँछिन्।

‘एकै ठाउँमा बारम्बार सडक खन्दै पुर्दे गरेको देख्छु। विकास गरेको हो की नागरिकलाई दुख दिनको लागि सडकको विनास गरेको हो ?। विकासको नाममा बजेटको विनास गरी सडक लथालिंग बनाउदै छन। यसले हामीलाई हिड्डुल गर्न समेत गाह्रो परेको छ।’ 

‘मान्छे हिड्ने ठाउँमा माटो थुपारिएको छ,’ उनले भनिन, ‘बाटो नै छैन। खै कहाँ बाट हिड्ने ?। सडकमा हिड्डुल गर्दा सवारीले किच्यो भने को जिम्मेवारी हुन्छ ?।’ उनका अनुसार अहिले बागदरबार, सुन्धारा सडकको पेटीमा खन्दै गरेकोले कामकाजको लागि ओहोरदोहोर गर्न सकिएको छैन।  त्रिपुरेश्वरका श्याम रञ्जितकारले सरोकारवाला निकायले समन्वय नगरी विकास निर्माणको काम गर्दा जनताले सास्ती खेप्नुपरेको गुनासो गरे।‘यहाँ एक निकायले अर्काे निकायसँग समन्वय नगरीकनै पूर्वाधार निर्माण गर्छन्,’ उनले भने,‘एउटाले बनाउँदै जान्छ,अर्काे निकायले भत्काउँदै जान्छ।यस्तो विकास कहिलेसम्म ?’

मेलम्ची खानेपानीको पाईप हाल्नको लागी सडक खनेको ठेक्का पाएको रमन कन्ट्रक्सन डी एन आई वान प्याकेजका सुपरभाईजर शुसान्त पन्तले बताए। ‘खानेपानीको लागि पाईप हाल्न सडक खनेका हौँ,’ उनले नागरिकलाई भने, ‘सर्वसाधारणलाई सास्ती भएपनि पाईप हाल्ने जिम्मा दिएपछि सडक खन्नै पर्छ।’ उनका अनुसार त्रिपुरेश्वर देखी सुन्धारा चोकसम्मको ६ सय मिटर पाईप हाल्ने ठेक्का सम्झौता छ। अझै पाईप लाईन सकाउन एक हप्ता लाग्ने छ। उनीहरुले ७५ एमएमको पाईप र सानो साइजको पाईप हालेका छन। पाईपलाईन विस्तारको काम सकेपछि तत्कालै सडकको पीचको लागि इटा हाल्ने उनले बताए। उक्त सडकमा खन्दै गर्दा पहिले पनि नेपाल विधुत प्राधिकरणले सडक खनेर ११ हजार भोल्टको केबुलतार विछ्याएको भनी रातो स्टिकर देखिन्छ। उक्त ठाउँमा सडक विभाग, मेलम्ची खानेपानी, विधुत प्राधिकरण गरी चार पटक सडक खन्दै पुर्दे गरेको छ। 

त्यहाँ मात्र नभई मेलम्चीले चुच्चेपाटी स्थित पानीट्याक्की अगाडी पनि बारम्बार सडक खन्दै पुर्दे गर्दा अझै त्यहाँ सडक पीच हुन सकेको छैन। जसका कारण सवारीसाधन र यात्रु मारमा परेका छन।  मेलम्ची खानेपानी आयोजना  कार्यान्वयन निर्देशनालयका उप–निर्देशक दिवाकर प्रसाद ढकालले प्रेसर टेष्ट गर्नु परेकोले बारम्बार सडक खन्नु परेको बताउँछन। ‘एक चोटी खानेपानीको पाईप विछ्याएपछि प्रेसर टेष्ट गर्नु पर्ने हुँदा बारम्बार सडक खन्नु पर्ने अवस्था आउँछ,’ उनले नागरिकसगँ भने, ‘पाइप लिक भएकोबेला पुर्न सडक खनेर फेरी जोड्नु पर्छ। सर्वसाधारणलाई सास्ती भएपनि अरु उपाय नै छैन।’ उनका अनुसार प्राइमरी पाईप, सेकेन्ट्री पाईप  घरघरमा जोड्ने पाईप गरी तीन प्रकारका पाईप हुन्छन। त्यही अनुसार पाईप जडान गर्नु पर्छ। पाईप जडान गरेपछि टेष्ट गर्दा पानी चुहेमा पूर्न पाईप जोड्नु पर्छ। योजना बिना काम गर्दा सडक खन्दै पुर्दे गरेको विषयमा सडक विभाग लगायत अन्य निकायसगँ साझेदारी गरेपनि कुनै ठाउँको जोजनामा साझेदारी नगर्दा यस्तोे समस्या उत्पन्न भएको उनले बताए। 

‘एक दुई ठाउँको काममा छलफल गरेर सगैँ पाईप, ढल, बिजुलीको तार हाल्ने काम गछौँ,’ उनले भने, ‘कुनै कामको योजनामा छलफल नै हुँदैन। त्यसैले एकले सडक खनेर पुर्छ र फेरी कुनै काम पर्दा अर्को निकायले खनेको हुन्छ।’ उनका अनुसार सुरुको प्याकेजमा एक हजार एक किलोमिटर मेलम्ची खानेपानीको पाईप हाल्नु पर्छ। अहिले सम्म आठ सय किलोमिटरसम्म मात्रै खानेपानीको पाईप बिछ्याएको छ। पाईपहाल्ने कामको लागिमात्रै करिब १६ अर्ब लागतको आयोजना छ। अहिलेसम्म कति खर्च भयो भन्ने विषयमा एकिन हिसाब नगरिएको उनले बताए।  पाईप विछ्याउँदा कुनै पैसा अनियामितता नभएको उनले दाबी गरे। ‘हामीले टेन्डर गरेरमात्रै काम गराउँछौँ,’ उनले भने, ‘सिमित मात्रमा पैसा भुक्तानी गछौँ। त्यसैले बजेटको चलखेल भएको छैन।’ उनले थपे। उनले बताए अनुसार अहिले लगनखेल, पुतलीसडक, बागदरबार, कालीमाटी लगायतमा खानेपानीको पाईप बिछ्याउने काम जारी छ। छाउनी, स्वायम्बु, बालुवाटार र पानीपोखरीको पाईप हाल्नको लागि बजेटको अभावले अझै टेन्डर गर्न नसकिएको उनले बताए। ‘पाईप हाल्नको लागि बजेट नभएकोले टेन्डर गर्न सकिएको छैन,’ उनले भने, ‘एडिबीले बजेट दिने  आश्वसन दिएको छ। बजेट दिएमा एक महिना भित्रै टेन्डर प्रक्रिया गरेर काम गछौँ।’ 

सडक डिभिजन कार्यालयका प्रमुख कैलाश श्रेष्ठ सडक मर्मत, ढल, र खानेपानीको पाईपहरु लिक हुँदा बारम्बार सडक खन्नु परेको बताउँछन। ‘मेलम्चीले ठूला साना पाईपहरु राख्छन। हामीले पनि कुनै बेला सडक मर्मत र ढलहरु हाल्नु पर्छ,’ उनले भने, ‘प्राधिरणले पनि विजुलीको तारहरु विछ्याउँछन। काम गर्दे गर्दा पाईपहरु लिक हुन्छ। जोड्नको लागि फेरी सडक खन्नु पर्छ।’ 

 

 

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App