१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

न्युड आर्टमा दर्शकको घुइँचो

काठमाडौं - न्युड आर्टमा सक्रिय भएर नेपालमा काम गर्ने कलाकारहरू कम छन्। करिब दुई दशकदेखि यस विधामा चित्रहरू कोरिरहेका कलाकार कपिलमणि दीक्षितको एकल चित्रकला प्रदर्शनी ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा भइरहेको छ। ‘५०० न्युड्स’ नामक १५ औं चित्रकला प्रदर्शनीमा उनले मानिसहरूको दैनिक जीवनका विभिन्न गतिविधि, हाउभाउ र अवस्थालाई सिरिजमार्फत प्रस्तुत गरेका छन्। 

अमेरिकाको टेक्सासस्थित डलास काउन्टी कम्युनिटी कलेजबाट ‘न्युड स्टडी’मा स्नातक गरेका दीक्षितले प्रदर्शनीमा महिला र पुरुषहरूको न्युड चित्रकलाहरू प्रदर्शन गरेका छन्। ‘सुन्दरताका आधारमा महिला र पुरुषका चित्रहरू कोर्न खासै फरक हुन्न। यो केवल मानव शरीरलाई फरक शैलीमा प्रस्तुत गर्ने कला हो ’, चित्रकार दीक्षितले भने, ‘हामी नाङ्गो भएर जन्मिएका हुन्छौं। नग्नता र अश्लीलता फरक कुरा हुन्। यो कुरा बुझेसँगै नेपालमा न्युड आर्टका दर्शकहरू बिस्तारै बढेका छन्।’ प्रदर्शनीमा राखिएका चित्रकलाहरू चित्रकार दीक्षितले बिक्री पनि गरिरहेका छन्। न्युड आर्टमा मानवीय संवेदना, स्वभाव र भावनाले प्राथमिकता राख्दछ। करिब दुई दशकदेखि न्युड आर्टमा चित्रहरू कोरिरहेका कपिलले नेपालसहित अमेरिका र अस्ट्रेलियालगायत देशमा समेत गरेर १४ पटक न्युड आर्ट प्रदर्शनी गरिसकेका छन्। पश्चिमा देशहरूमा न्युड आर्टलाई कलाको विधाका रूपमा हेरिएको छ। नेपालमा सुरुवाती दिनमा न्युड आर्ट बुझाउन चुनौतीपूर्ण भए पनि बिस्तारै समाज परिवर्तन हुँदै गएको उनले बताए। 

हामी नाङ्गो भएर जन्मिएका हुन्छौं। नग्नता र अश्लीलता फरक कुरा हुन्। यो कुरा बुझेसँगै नेपालमा न्युड आर्टका दर्शकहरू बिस्तारै बढेका छन्।

ल्यान्डस्केप चित्रमा रुचि भएका उनलाई अध्ययनका क्रममा गरिएका एकल प्रदर्शनीहरूबाट न्युड आर्टमा काम गर्न प्रोत्साहित भएका थिए। उनी नेपालमा मोडल राखेर न्युड पेन्टिङ गर्ने सम्भवतः पहिलो चित्रकारसमेत हुन्। अन्तराष्ट्र्रिय स्तरमा न्युड आर्टमा नेपाल पछि परे पनि न्युड मूर्तिकलामा भने मठमन्दिर र टुँडालहरूमा अंकित सयौं वर्ष पुरानो कलाले देखाउँछ। पूर्वीय सभ्यतामा महŒव राख्ने न्युड आर्ट, पश्चिमा सभ्यतामा भने परम्पराका रूपमा विकास भएको थियो। न्युड आर्टलाई महिला र पुरुषको सुन्दरता र मानवीय गुणलाई व्यक्त गर्ने कला भनेर परिभाषित गरिन्छ। न्युड आर्टमा महिलाको शरीरलाई सधैं सुन्दरता र ग्ल्यामरका रूपमा लिइन्छ। न्युड आर्टहरू महँगो मूल्यमा बिक्री गरिन्छन्। 

नेपालमा कपिलमणि दीक्षित, यादवचन्द्र भुर्तेल, रागिनी उपाध्याय, उत्तम नेपाली, अस्मिना रञ्जित र वीरेन्द्रप्रताप सिंहलगायत कलाकारहरूले न्युड पेन्टिङ बेलाबखत काम गरिरहेका छन्। ‘न्युड आर्ट भनेको यथार्थ हो। तर, नेपालमा न्युड आर्ट गर्ने बेला भएको छैन। कारण नेपालका धेरै कलाकारहरूले न्युड आर्ट बुझ्दैनन्।’ सुरुवाती दिनमा नेपालमा न्युड पेन्टिङबारे कलाकार किरण मानन्धरले भनेका थिए। दीक्षितका अनुसार नेपालमा न्युड आर्ट मन पराउने दर्शकहरू छन्। नेपालमा न्युड आर्ट प्रदर्शनी जहाँ पनि गर्न सम्भव छैन। न्युर्ड आर्ट प्रदर्शनअघि हामीले समाज र मानिसहरूको जीवनशैली बुझ्नु जरुरी छ। दुई हजार रुपैयाँदेखि तीन हजार रुपैयाँसम्मका चित्रमध्ये ५० वटा बिक्री भइसकेका छन्। प्रदर्शनी आगामी फागुन २३ सम्म चल्नेछ। 

प्रकाशित: १७ फाल्गुन २०७५ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App