सम्झना, आलोचना र सुसंस्कार

शुक्रबार, १७ फागुन २०७५, ०९ : ५३ डा. सरोज धिताल

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा हामीले धेरैजना गुमायौँ। असल मान्छे गुमायौँ। मैले प्रत्यक्ष चिनेको भने रवीन्द्रमात्रै थिए। उनका जुनसुकै उपलब्धिमा मलाई खुसी लाग्थ्यो। उनी अप्ठ्यारामा पर्दा दुःख लाग्थ्यो। केही समययता जे÷जस्ता हल्ला भए पनि उनी आफैँ नै भ्रष्ट होलान् भन्ने मैले कहिल्यै विश्वास गरिन। त्यो उमेरका नेतामध्ये मलाई बढीनै मन पर्ने थोरै नेतामध्ये एक थिए उनी। त्यसैले उनको मृत्युको खबर पत्याउन सुरुमा निकै गाह्रो भयो तर जब यथार्थ स्वीकार गर्न कर लाग्यो, रवीन्द्रसँगका सम्झना एक एक गरी फर्केर आए, अझै आउँदैछन्। तीमध्येको एउटा सम्झनामा हामी पोखरामा थियौँ– ‘प्रशंसनीय खोज’ (गुणज्ञताजन्य अनुसन्धान, एप्रेसिएटिभ इन्क्वायरी) सम्बन्धी राष्ट्रिय सम्मेलनमा। त्यसबेलाका विभिन्न ठूला पार्टीमा रहेका रवीन्द्र, चन्द्र भण्डारी र रेखा शर्मा आफ्ना विभिन्नताका बीच समानता खोज्ने अभ्यासमा थिए र म उनीहरूको मोडरेटर थिएँ। एकार्काप्रति सम्मान र सकारात्मक भाव राख्दै यी तीनैजनाले त्यसबेला देशको भलाइका निम्ति जसरी आफ्नो प्रतिबद्धता व्यक्त गरे, त्यो मैले अपेक्षा गरेभन्दा फरक थियो, मैले अपेक्षा गरेभन्दा सुन्दर थियो। 

राजनीतिकर्मीहरूमा स्वाभाविकरूपमा देखिने असुन्दर कृत्रिमता त्यसबेला उनीहरूको अनुहारबाट हराएर कता गयो कता ? त्यसको ठाउँमा भावुकता, इमान्दारिता र उत्तरदायित्वबोधले भरिएको सुन्दरता देखिएको थियो। ‘विविधताका बीचमा समानता खोज्न सम्भव हुँदो त रहेछ नि!’ भन्दै मेरो मन पनि प्रफुल्ल भयो। त्यो मन यतिबेला अरु राजनीतिककर्मीका अनुहारमा पनि त्यही सुन्दरता खोजिरहेको छ।  लोकतन्त्रमा आलोचनात्मक स्वरहरू, फरक मतहरू सुनिनु, देखिनु स्वाभाविकमात्रै हैन, आवश्यक पनि हुन्छ। लोकतन्त्रको अभ्यास थालेसँगै हामीकहाँको राजनीतिक आकाशमा पनि प्रशस्त आलोचना सुनिन्छन्। तर सबै आलोचना एउटै प्रकृतिका भने हुँदैनन्। प्रचलित परम्परागत राजनीतिमा आलोचना सामान्यतया पाँच किसिमका देखिने गरेका छन्–पहिलो किसिमको आलोचना सदाशयतापूर्ण हुन्छ– ‘सत्ताधारीहरूले योभन्दा राम्रो गर्न सक्थे होला, सकेनन्’, ‘यसो गरिदिए हुने, किन यति मूर्खतापूर्ण काम गर्दैछन्’, ‘यति राम्रो अवसरलाई सदुपयोग गरिदिए हुने’,‘ए, यसो गर न मूर्खहरू’... भन्ने किसिमका।

आआफ्ना पंक्तिभित्रको कुसंस्कारलाई सुसंस्कारले प्रतिस्थापन गर्न तयार नहुने हो भने कुनै पनि राजनीतिक दलको भविष्य छैन। लाग्थ्यो– रवीन्द्र यी कुरा बुझ्थे।

दोस्रो किसिमको आलोचनामा चासो, चिन्ता, डर र शङ्का हुन्छ– ‘हाम्रो बोल्ने अधिकार नै खोसिइन्छ कि’, ‘एकदलीय शासन लागु गर्न पो लागे कि?’, ‘राष्ट्रिय स्वार्थ त्यागे कि?’, ‘सबै सिद्धिने त हैन?’... जस्ता। तेस्रो किसिमको आलोचना हुन्छ पूर्वाग्रहग्रस्त विरोध जो लोकतन्त्र परिपक्व नभइसकेको हाम्रो जस्तो देशको दलीय राजनीतिमा जहिले पनि देखिन्छ–सुनिन्छ–‘यो पार्टीले पनि कहिल्यै केही राम्रो गर्छ र? यी त जन्मजात खराब हुन्छन्। बदमासहरू !’, ‘यिनीहरूलाई त जसरी भए पनि झार्नैपर्छ, सिद्ध्याउनैपर्छ’ भन्नेखालका। त्यस्तै काम आफ्नाले गर्दा भने तिनको बचाउ गर्न लाग्छन् यस किसिमका आलोचनामा अभ्यस्त मानिस।

अनि चौथोखालको एकथरी भने आलोचनाभन्दा पनि विरोधकै लागिमात्र विरोध हुन्छ– जोसुकै आओस् सत्तामा, ओठ लेप्र्‍याएर तिनका गल्ती खोज्ने, सामाजिक सञ्जालमा तिनको उछित्तो काढ्ने, राम्रै गर्न खोजेछन् भने पनि उडाउने टाइपका। अझ पाँचौँ किसिमको ‘प्रायोजित’ आलोचना र विरोध पनि देखिने गरेको छ। मच्चीमच्ची कसैको धुवाँधार विरोध देखिन्छ खास खास मिडियामा। नागरिकको ठूलो पंक्ति त्यसबाट प्रभावित हुन्छन्, अनि केही समयपछि अचानक मिडिया चूप हुन्छ, मौसम अचानक फेरिएझैँ। प्रभावित नागरिक जिल्ल पर्छन्। 

अघिल्ला दुई किसिमका आलोचनाले देशको, जनताको, लोकतन्त्रको भलो नै हुन्छ। पछिल्ला तीन किसिमका विरोधले भने लोकतन्त्रलाई नै हानि पुर्‍याइरहेका हुन्छन्।  सत्ताधारी पार्टी कति सफल भइरहेको छ वा असफल भइरहेको छ भन्ने कुरा यीमध्ये कुन किसिमको आलोचना ज्यादा भइरहेको छ भन्ने कुराले देखाउँछ। अघिल्ला दुई किसिमका आलोचना वा विरोधलाई आफ्नो दिशाबोधका निम्ति ‘कम्पास’ का रूपमा उपयोग गर्न सक्दा पछिल्ला तीन किसिमका विरोध झन् झन् कमजोर हुँदै जान्छन्। तर ती सदाशयतापूर्ण र उचित चासोका साथ गरिएका आलोचनाको मतलब नराख्दा वा तिनलाई ‘पचाउन’ नसक्दा पछिल्ला तीन किसिमका विरोध झन् बढी हुन थाल्छन्। सत्ताले श्रवणशक्ति गुमाउनु भनेको, श्रवणकलामा सत्ता उत्तीर्ण हुन नसक्नु भनेको उचित आलोचना गर्नेहरूलाई समेत पूर्वाग्राही, विरोधका लागि विरोध गर्नेहरू र प्रायोजित विरोधीको भीडतिर धकेल्नु हो। त्यही हल्लामा आफ्नो स्वर मिलाउन उनीहरूलाई बाध्य पार्नु हो। जति जति यो क्रम बढ्दै जान्छ, सरकार उति नै अप्ठेरोमा पर्दै जान्छ। 

प्रतिपक्षी पार्टीहरू पनि कुन किसिमको आलोचनामा बढी अभ्यस्त छन् भन्ने कुराले उनीहरू आफैँभित्र कस्तो संस्कार जन्मिरहेको छ, हुर्किरहेको छ भन्ने जनाउँछ। अनुचित पूर्वाग्रहपूर्ण आलोचनामा अभ्यस्त छ कुनै पार्टीको ठूलो पंक्ति  भने त्यो आफ्नै पार्टीभित्र संस्कारकै रूपमा हुर्किंदै जान्छ। दुर्भाग्य, नेपालका सबै पार्टीहरू यसै किसिमका आलोचनामा अभ्यस्त छन्। सत्ता बाहिर हुनेबित्तिकै जो कोहीले गर्ने नै यस्तै हो। सबैजसो पार्टीमा जहिलेसुकै देखिने गुटवाद र टुटवादको एउटा महŒवपूर्ण कारण यो कुसंस्कार पनि हो। नेपालका सबै स्थापित पार्टीमा त यो प्रवृत्ति हावी छ नै, केही आशाका साथ जन्मिएका नयाँ पार्टीसमेत यो रोगबाट संक्रमित भइसके, थला परिसके।

मच्चीमच्ची कसैको धुवाँधार विरोध देखिन्छ खास खास मिडियामा। नागरिकको ठूलो पंक्ति त्यसबाट प्रभावित हुन्छन्, अनि केही समयपछि अचानक मिडिया चूप हुन्छ, मौसम अचानक फेरिएझैँ।

केही दिनअघि मित्र विमल फुयालले एउटा सुन्दर ट्विट गरेका थिए– ‘वाक्स्वतन्त्रताले मात्रै पुग्छ र? असमनताबाट स्वतन्त्रता नि...?’ उन्नत लोकतन्त्रका निम्ति वाक्स्वतन्त्रताले मात्रै निश्चय नै पुग्दैन। तर योभन्दा बढी उपलब्धि पाउनका निम्ति वाक्स्वतन्त्रताको महत्व बुझ्दै आफ्नै सामाजिक उत्तरदायित्व आत्मसात गर्न, विविधताका बीचमा समानताको खोजी गर्न, श्रवणशक्ति र श्रवणकलाको विकास गर्न, अनि आफ्नो व्यक्तिगत, दलगत स्वार्थको घेराबाट बाहिर फैलिँंदै राष्ट्र र जनताको स्वार्थको घेरासम्म पुग्न आवश्यक छ– सबैका निम्ति।

कतिलाई यो कुरा असम्भव, अव्यावहारिक आदर्शवादी ट्याउँट्याउँ लाग्न सक्छ। तर साँच्चै नै सुसंस्कृत राजनीतिक अभ्यास गर्ने हो भने अरु कुनै बाटो छ? पाँच वर्षअघि पोखराको त्यो भेलामा रवीन्द्र, चन्द्र र रेखाले यो कुरालाई आत्मसात गरेका थिए। रवीन्द्रलाई दुर्घटनाले लग्यो तर उनको र रेखाको त्यो बेलाको पार्टी एउटै भएको छ, मुलुक चलाउँदैछ। एकवर्षको उपलब्धि आशातीत नभए पनि ऊसँग अझै प्रशस्त समय बाँकी छ, समय अनुकूल छ। चन्द्रको पार्टीमा उनीभन्दा पनि युवा नेताहरू नयाँ बाटो खोज्दैछन्, सुसंस्कार स्थापना गर्दै साँच्चैको लोकतान्त्रिक पार्टी बनाउनका निम्ति प्रयत्नशील देखिन्छन्। परम्परागत राजनीतिको फोहोरी सरुवा रोगबाट मुक्त भएर यो देशका स्थापित पार्टीहरू, स्थापित वैचारिक धारहरू अझै परिपक्व हुँदै गए कति राम्रो हुन्थ्यो! त्यो त सम्भव हुनैपर्ने हो। नयाँ बन्दै गरेका पार्टी पनि ती पुराना रोगको संक्रमणबाट पुरै मुक्त भएर हुर्किदिए झन् कति राम्रो हुन्थ्यो! तर यस्तो लाग्छ, सत्ताधारीहरूमा देखिने गरेको बहुमतको अहङ्कार र प्रतिपक्षीमा देखिने व्याकुलता तथा निषेधभाव दुवै नै चरमतिर बढेको बढ्यै छन्। नयाँ पार्टीहरूमा पनि हुनुपर्ने जति चेत आइनसकेको आभास हुन्छ। 

यो स्थिति बदलिनै सक्दैन त? विविधताबीच समानताको खोजी साँच्चै नै असम्भव आदर्शमात्रै हो त?
‘साझा लक्ष्यका निम्ति’ भनेर सँगै काम गर्न गाह्रो भए पनि ‘साझा दुश्मनका विरुद्ध’ भने बिल्कुलै फरक शक्तिहरू पनि सँगसँगै लड्न तयार भएका उदाहरण प्रशस्त छन् इतिहासमा। ‘नेपाल अधिराज्य’ लाई ‘गणतन्त्र नेपाल’ ले त्यसैगरी प्रतिस्थापित गरेको थियो। यतिबेला पनि आँखा खोलेर हेर्ने हो भने सबै नेपालीका साझा दुश्मन छेउमै बसेर हाँसिरहेका छन् नि– भ्रष्टाचार र परनिर्भरता। सैतानका यी दुई जुम्ल्याहा सन्तानका विरुद्ध सत्ताधारी र प्रतिपक्ष सबै मिलेर लड्न सम्भव छैन र? आआफ्ना वैचारिक आग्रहलाई कायमै राखेर पनि राष्ट्रका यी दुई शत्रुसँगको युद्धमा होमिने हो भने यो देश दक्षिण एशियाकै रत्नका रूपमा स्थापित हुन अझै सम्भव छ। तर आआफ्ना पंक्तिभित्रको कुसंस्कारलाई सुसंस्कारले प्रतिस्थापन गर्न तयार नहुने हो भने कुनै पनि राजनीतिक दलको भविष्य रहने छैन, राष्ट्रको भविष्य पनि उज्यालो हुने छैन। कुराकानी गर्दा लाग्थ्यो– रवीन्द्र यी कुरा बुझ्थे। उनीप्रति हार्दिक श्रद्धाञ्जलि !   





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad