१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सोलुखुम्बुमा दुईफिट बाक्लो हिउँ

सोलुखुम्बु – खुम्बु क्षेत्रमा दुईफिट बाक्लो हिउँ जमेको छ। बुधबारदेखि मौसममा आएको प्रतिकूलतासँगै बुधबार रातिबाट भएको हिमपातले सोलुखुम्बुभरिकै जनजीवन कष्टकर बनेको छ।

जिल्लाको माथिल्लो क्षेत्र लुक्ला र नाम्चेमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको लुक्लाबाट तोया श्रेष्ठले जानकारी दिए उनले भने, ‘अनवरत रूपमा हिमपात भइरहेको छ। घरभित्र बसेर आगो र तातो झोलिलो खानेकुराको सहारा लिँदैछौं।’ हिमपातकै कारण लुक्लामा लाग्ने साप्ताहिक हाटबजार पनि प्रभावित भएको छ। तल्लो क्षेत्रबाट बिक्रीका लागि लगिएका तरकारी तथा खाद्यान्न बिक्री गर्न सकिएको छैन।

तल्लो क्षेत्र सल्लेरीमा पनि झन्डै आठ इन्चसम्म हिउँ बसेको छ। बिहान उठ्दा लटरम्म हिउँ देख्दा अचम्म लागेको सल्लेरीका पदक हिङमाङले बताए। अहिले सल्लेरीमा बालबालिका तथा किशोरकिशोरी हिउँ खेलेर मनोरञ्जन लिन थालेका छन्। परिवारका सदस्य तथा साथीबीच हिउँ खेलेर मज्जा लिइएको स्थानीय भरत राईले बताए।

बाक्लो हिमपातका कारण सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा विद्युत् बन्द भएको छ। हिउँले ठाउँठाउँका ट्रान्सफर्मरमा समस्या आउने भन्दै केही घण्टाका लागि विद्युत् प्रसारण बन्द गरिएको बताइएको छ। सलेरी आसपासका उच्च भेग पिकेडाँडा, पत्ताले, सिलगुडीडाँडा, रात्नाङ्गे लगायतका डाँडामा पनि बाक्लो हिमपात भएको छ। स्थानीयका अनुसार हिमपात रोकिएको छैन भने मौसम धमिलो बन्दै गएको छ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App