१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्लोभाकियासँग जर्मनी सतर्क

लिले- जर्मनीका गोलकिपर म्यानुयल नुयुरले विश्वविजेता टोलीले युरो २०१६ को समूह चरणमा राम्रो गर्न नसके पनि नकआउट चरणमा राम्रो गर्ने बताएका छन्। जर्मनीले अन्तिम १६ मा आइतबार स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ। जोचिम लोउको टोली समूह ‘सी’बाट विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनाएको हो। पोल्यान्डसँग बराबरी तथा युक्रेन र उत्तरी आयरल्यान्डलाई पराजित गरेको जर्मनीले गोल खाएको छैन। तर, समर्थकले आइतबार लिलेस्थित स्टेड पिएर्रे माउरेमा स्लोभाकियाविरुद्ध खेल्दा जर्मनीबाट अहिलेसम्मकै उच्च प्रदर्शनको आशा गरेको नुयुरलाई राम्रो थाहा छ। जर्मनीले स्लोभाकिया स्वतन्त्र भएपछि ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो हो।

‘हामीले तीन टोलीविरुद्ध खेल्यौं, जो बल लिएर अगाडि आउनै चाहेनन्। यस्तो खेलमा ठूलो अन्तरले जित्न मुस्किल हुन्छ,’ समूह चरणमा जम्मा तीन गोल मात्र गरेको बारे नुयुरले भने, ‘युक्रेन र उत्तरी आयरल्यान्डलाई जसरी जित्यौं त्यसबाट हामी खुसी हुनपर्ने अवस्था छैन। ती टोलीलाई जित्न सजिलो थिएन तर हामीले राम्रो खेल्यौं।’

‘हामी समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्‍यौं। तर अब हामी नकआउट चरणमा छौं र फुटबलमा जे पनि हुनसक्छ,’ नुयुरले थपे, ‘विगतका प्रतियोगिताहरूमा जस्तौ अहिले पनि हामी खेलमा मात्र केन्द्रित छौं। हामी शतप्रतिशत दिने प्रयास गर्नेछौं। थाहा छ समर्थकले हामीबाट धेरै आशा गरेका छन्।’

जर्मनीको फाइनल यात्रा सहज भने छैन। जर्मनीले क्वार्टरफाइनलमा साबिक विजेता स्पेन वा इटालीमध्ये एकको सामना गर्नुपर्नेछ। तर, त्यो भन्दा पहिले स्लोभाकियालाई पन्छाउनुपर्नेछ। प्रतियोगिताअघि औसबर्गमा भएको मैत्रीपूर्णमा खेलमा जर्मनी ३–१ ले पराजित भएको थियो।

नुयुरले पछिल्लोपल्ट गोल खाएको त्यही खेल हो। र, स्लोभाकियाका फरवार्ड मरेक हम्सिकसँग जर्मनी सचेत हुनुपर्ने नुयुरलाई राम्रो थाहा छ।

‘हम्सिकको क्षमताबारे सबै जानकार छन्। उनको लामो प्रहार सशक्त हुने गर्छ। उनले नेपोलीबाट केही उत्कृष्ट गोल गरेका छन्,’ नुयुरले भने, ‘समूह चरणमा उनी त्यति जम्न सकेनन्। उनलाई हाम्रो मिडफिल्डरमै रोक्नु महत्वपूर्ण हुन्छ। तर, हामी एक खेलाडीमा मात्र केन्द्रित हुँदैनौं। हामीले विपक्षीलाई एक टोलीका रूपमा हेर्नु आवश्यक छ।’

सबैको चासो प्रशिक्षक लोउले कस्तो टोली छनोट गर्छन् भन्नेमा छ। सेन्टरब्याक जेरोमी बोएटाङको पिडौलामा चोट छ। उत्तरी आयरल्यान्डविरुद्ध राम्रो प्रदर्शन गरेका युवा खेलाडी जोसुआ किमिचले उनको स्थान लिने सम्भावना छ।

‘उनी शालीन र शान्त छन्। उनीमा निर्भर हुनुपर्छ भन्ने हामीलाई थाहा थियो,’ २१ वर्षे बायर्नका सहयात्रीबारे नुयुरले भने।

लिलेको मैदानबारे धेरै आलोचना भएपछि बिहीबार परिवर्तन गरिएको छ। खेलको अघिल्लो दिनसम्म यहाँ कुनै पनि टोलीलाई अभ्यास गर्न दिइएको छैन। त्यसैले जर्मनीले आफ्नो अन्तिम अभ्याससत्र पनि आफ्नै क्याम्पमा गरेको थियो। स्लोभाकियाले पनि आफ्नै क्याम्प भिचेमा अभ्यास गरिरहेको छ।  हम्सिककै प्रेरणादायी प्रदर्शनमा स्लोभाकियाले इङ्ल्यान्डसँग बराबरी र रसियालाई पराजित गर्दै समूह ‘बी’ को दोस्रो स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गरेको हो। छनोट प्रतियोगितामा स्पेनलाई पराजित गरेको स्लोभाकिया मैत्रीपूर्ण खेलमा जर्मनीलाई हराएर सनसनी टोली बनेको थियो।

‘उनीहरू धेरै बलियो टोली हो र उनीहरूबाट यस खेलमा धेरै आशा गरिएको छ। तर, केही साताअघि हामीले उनीहरूकै घेरलु मैदानमा हराएका थियौं,’ स्लोभाकियाका विंगर भ्लादमिर वेसिसले भने, ‘हो, यो फरक खेल हो तर मलाई लाग्छ हामी जस्तोसुकै बलियो प्रतिद्वन्द्वीहराउन सक्छौं।’

प्रकाशित: १२ असार २०७३ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App