१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमामा हुने अपराध रोक्न सहमति

क्याप्सनः नेपाल–भारत सीमा सुरक्षा बैठकमा सहभागी नेपाल र भारतका सुरक्षा अधिकारी । तस्बिरः निर्मल घिमिरे/नागरिक

बर्दिया  – नेपाल–भारतका सुरक्षाकर्मीबीच खुला सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि आपसी समन्वय गर्ने सहमति भएको छ। भारतमा हुन लागेको लोकसभा निर्वाचनका लागि नानपारास्थित अगैयामा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) मुख्यालयमा आयोजित सुरक्षा बैठकमा दुवै देशबीच यस्तो सहमति भएको हो।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीबीच सहकार्य गर्ने सहमति भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। ‘नेपालमा अपराध गरेर भारततर्फ भाग्ने र भारतमा अपराध गरेर नेपालमा लुक्ने अपराधी पक्राउ गर्ने पनि सहमति भएको छ,’ उनले भने।

सीमा क्षेत्रबाट हुने मानव बेचबिखन तथा साना हतियार, जाली नोट, लागुऔषध ओसारपसार रोक्न दुवै देशका सुरक्षाकर्मी सक्रिय हुने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिए। मंगलबार प्रस्तुत गरेको कार्यपत्रमा पछिल्लो समय खुला सीमामा सुरक्षाकर्मीको सहज पहुँच नहुँदा समस्या भइरहेको उल्लेख गरिएको छ। आपराधिक क्रियाकलाप रोक्न संवेदनशील सीमा क्षेत्रमा सञ्चार सेवा नहुँदा समस्या भइरहेको दुवै देशका सुरक्षाकर्मीले बताएका छन्। भारतीय सुरक्षा अधिकारीले नेपालीलाई दुःख नदिने सार्वजनिक प्रतिबद्धता पनि जनाएको छ।

तस्करका कारण भारतीय वन मासिँदै गएकाले यसका लागि नेपाल पक्षसँग भारतीय पक्षले सहयोग मागेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए। बैठकमा नेपालका तर्फबाट बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा भारतका तर्फबाट बहराइज, बलरामपुर, सरावस्ती जिल्लाका प्रशासन प्रमुख र प्रहरी प्रमुख सहभागी थिए।

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App