१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘फकाउँछन्, लोभ्याउँछन्, नभए धम्की दिन्छन्’

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ‘नागरिक फ्रन्टलाइन’ को प्रत्यक्ष कुराकानीका लागि गत माघ १६ गते बेलुका ७ बजे हाम्रो कमलादीस्थित स्टुडियोमा सजिलै आउने वचन दिए। उनी साढे ६ बजे नै आइपुगे। सँगै चिया खायौं। गफ ग-यौं। अन्तर्वार्ताअघि मेकअप गर्नुपर्ने थियो। त्यसका निम्ति पनि उनी सजिलै तयार भए।

अन्तर्वार्तामा आउनुभन्दा एकदुई दिनअघि फोन गरेर सम्भावित प्रश्नहरू ‘यसो पठाम् न’ भनेका पनि थिए। कार्य व्यस्तताले प्रश्न पठाउन सकिएन। स्टुडियोमा आउँदा वाइडबडीदेखि पर्यटन र उड्डयन क्षेत्रसम्बन्धी कागजात बोकेर उनी आएका थिए। उनीसँगको कुराकानी प्रस्ट रह्यो। कडै पनि भयो। वाइडबडीसम्बन्धी धेरै प्रश्न थिए। प्रत्यक्ष कुराकानी हेरिरहेका दर्शकले भने हाम्रो सामाजिक सञ्जालको भित्तामा वाइडबडीमा यति खायो उति खायो भनेर गाली पनि गरिरहेका थिए।

एक घन्टाको कुराकानी सकिएपछि ‘ल एकपटक चिया खाएरै जाऔं न त’ भन्दै बसे उनी। तर, चियाको व्यवस्था गर्ने सहयोगी हिँडिसकेकाले एकछिन बसेर कुराकानीमात्र गरियो।उनले ‘अफ द रेकर्ड’ भन्दै हामीसँग भने, ‘के गर्नु, मिडियामा गएर बोल्दा त मारिहाल्छन् तर सत्य भन्नुपर्दा वाइडबडीको पछिल्लो दुई किस्ता गएको त मलाई थाहा पनि छैन किनकि त्यो सिस्टमबाट आफैं गएको छ।’

छाप्न नमिल्ने गरी उनले व्यक्त गरेको यो प्रसंग उल्लेख गर्नु उचित लाग्यो। उनले त्यसो भन्दै गर्दा मेरो मनमा अनगिन्ती प्रश्न थिए। हामीले सुनिरह्यौं। उनले फेरि भने, ‘मैले यो भ्रष्टाचारको कुरा आइसकेपछि श्रीमतीसँग पनि कुरा गरें। उनलाई मैले भनें, ‘हामी यत्रो संघर्ष गरेर सडकबाट आएको। दोष नै नभएको कुरामा दोष लागे फेरि सडकमै जाऔंला र सुरु गरौंला।’

उनले अगाडि भने, ‘सानो गुजारा चलाउन सकिन्छ। अरु केका लागि यत्रो धब्बा बोकेर म यस्तो कुकार्यमा संलग्न हुनु र ?’
फ्रन्टलाइनको अन्तर्वार्ताकै क्रममा रवीन्द्रले भनेका थिए, ‘वाइडबडीको सत्यतथ्य एकदुई महिनामा बाहिर आउँछ र म दोषी भए कारबाही भोग्न तयार हुनेछु।’ यी शब्द उनको दुर्घटनामा निधन भएको खबरसँगे झन् ताजा भएर मस्तिष्कमा ठोक्किइरहेका छन्। सांसद र मन्त्री हुँदा पनि सहज तरिकाले सूचना दिने, कुराकानी गर्ने उनी प्रेसप्रति सदा सम्मानभाव राख्थे। कुनै कुरामा चित्त नबुझे भेट हुँदा ढाप मार्दै भन्थे, ‘तपाईंलाई त थाहा छ त सत्य कुरा।’ अनि मुसुक्क मुस्कुराउँथे।

रवीन्द्रले त्यही दिन भनेका थिए, ‘यो देशमा पर्यटनमन्त्रीलाई सुरुमा फकाउँछन्, लोभ देखाउँछन र भएन भने धम्की दिन्छन्। मलाई धेरैपटक धेरै ठाउँबाट धम्की पनि आए। पर्यटन मन्त्रालयभित्रको यो कुरा समयमै बुझेर चिर्न सकेन भने त्यो मन्त्री टिक्नै सक्दैन।’ चिया खुवाउन नपाएका हामीले बिदा गर्ने बेलामा उनले छिटै भेटेर ‘डिनर खाने’ बाचा गरेका थिए। त्यो दिनपछि उनीसँग कुरा हुन पाएन। एउटा आशलाग्दो र जाँगरिलो युवा नेताको यो अधुरो यात्राका निम्ति हार्दिक श्रद्धाञ्जली। वाइडबडीको सत्यताले उनलाई दोषी ठह-याएन भने सायद उनको आत्माले चीर शान्ति पाउनेछ।

प्रकाशित: १६ फाल्गुन २०७५ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App