१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गुटबाट परिचालित नेविसंघ कसरी अघि बढ्ला?

फाइल तस्बिर

काठमाडौं– भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच आपसमा भएको झडपले माउ पार्टी कांग्रेस तरंगित छ। सँगै सामाजिक सञ्जाल पनि तातेको छ। सामाजिक सञ्जालमा यतिबेला नेविसंघको नेतृत्वलाई लिएर टीकाटिप्पणी हुन थालेको छ। 

कतिपय कांग्रेसनिकट मानिनेहरूले समेत नेविसंघ नेतृत्वको कडैसँग आलोचना गरेका छन्। कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सचिव प्रकाश श्रेष्ठले त ढुंगामुढामा उत्रिएका नेविसंघ कार्यकर्ताहरू कसैबाट निर्देशित तवरले प्रदर्शनमा उत्रिएको समेत आरोप लगाउन भ्याए। उनले फेसबुकमा लेखेका छन्ः 

‘कांग्रेसभित्रका धुन्दकारीहरु। को हो तिमीहरुको प्रधानसत्रु? को सँग लड्दैछौ, कस्ले लडाउँदैछ, के पाउछौ? आफैसँग कहिले प्रश्न गरेका छौं? कुन्दन काफ्ले र ऋषिकेशजंग शाहजस्ता प्रबृतिका मान्छे को हुन कसैले नजिकबाट चिनेका छौ? के पाउछौ यिनीहरुबाट ? के देला यिनले भोलि देश र राष्ट्रलाई। रमेश पौड्याल जस्तो एमाले युवा संघका लठैत अनि नेविसंघ र विद्यार्थीको नाममा गुण्डागर्दी र मानब तस्करी गर्ने कुन्दन र ऋषिकेश जस्ताले देशलार्इ भोलि दिने केही हैन। बुझिराख उल्टो सिध्याउने छ। लुट्ने छ। हेर मण्डिखाटारको आलिसान बङ्गला। यी फटाह हुन्। कहिले सुध्रिने छैन। बुझिराख। निराशालाई आशामा बदल्न सकिन्छ तर इमान्दार कार्यकर्ताको निहुरिएको शिर कहिले उठाउन सकिनेछैन। चेतना भया।’

पार्टीको गुटबाट चलेका विद्यार्थी नेताहरू आइतबार पार्टी कार्यालय अगाडि इँटा हानाहानमै उत्रिएका थिए। उक्त घटनाले नेविसंघको अबको बाटो के भन्नेमा अन्योल बढ्दो छ। 

पार्टी कार्यालय अगाडि भएको झडपको विषयलाई लिएर अहिले कांग्रेसमा आस्था राख्ने कार्यकर्ताले पनि आलोचना गरिरहेका छन्। झडपमा रमिते बनेका नेताहरू पनि आआफ्ना कार्यकर्ताको पक्षमा उभिएका छन् भने केही आफ्ना कार्यकर्ता नभएको भन्दै बचाउ गरिरहेका छन्। केहीले उक्त घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताइरहेका छन् भने पार्टीको सम्बन्धित निकाय भने मौन छ। यो विषयलाई लिएर नेविसंघका नेताहरू पनि विभाजित छन्। गुटगत रूपमा विद्यार्थी नेताहरू पनि प्रतिक्रिया दिइरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शशांक कोइराला समूह यो घटनाबाट पन्छिन खोजिरहेको छ। उक्त समूहले यो राजनीतिक संस्कारअनुसार नभएको दाबी गर्दै आएको छ। 

केन्द्रीय समिति बैठकमै आफ्ना कार्यकर्ता संलग्न नभएको बताउँदै पन्छिसकेका छन्। उनी निकट विद्यार्थी नेताले पनि आफ्नो समूहलाई जोगाएर प्रतिक्रिया दिइरहेका छन्। ‘यो घटना दुःखद् हो। यो आन्तरिक लडाइँको समय होइन’, वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेता दीपक भट्टराईले भने, ‘यसले संगठनको हित गर्दैन। व्यक्तिगत फाइदाका लागि यस्तो काम नगरौँ।’

स्ववियु निर्वाचनको मुखैमा नेताहरूको आपसी लडाइँले नेविसंघलाई क्षति हुने नेताहरू टिप्पणी गर्छन्। यो घटनाले नेविसंघ मात्र होइन कांग्रेसकै साख गिरेको महामन्त्री डा.शशांक कोइरालानिकट विद्यार्थी नेताहरूको निष्कर्ष छ। ‘पार्टी र संगठन भनेको परिवारजस्तो हो। परिवारमा हार्दिकता, एकता हुनुपर्नेमा झगडाले राम्रो हुँदैन’, महामन्त्रीनिकट विद्यार्थी नेता नीलकण्ठ रिजाल भन्छन्, ‘यसले संगठन र सिंगो पार्टीलाई नै कमजोर बनाउँदै लैजान्छ।’

आपसको झगडाले संगठन नै डुब्ने उनको तर्क छ। ‘हामी एउटै डुंगामा छौं। कसैले पनि डुंगा चढेर डुंगामै प्वाल नपारौं’, उनले भने, ‘प्वाल पारियो भने सबै डुब्छौं।’

दुई समूहका विद्यार्थी नेताले यस्तो प्रतिक्रिया दिइरहँदा झगडा गर्ने संस्थापन र नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरू भने अझै पनि अरोपप्रत्यारोपमा उत्रिरहेका छन्। 

संगठनमा अनुशासन नहुँदा यस्तो अवस्था आएको संस्थापन समूहका विद्यार्थी नेता सरोज थापाको तर्क छ। ‘नेविसंघ अध्यक्षलाई कालोमोसो दल्दा, सहमहामन्त्रीले अध्यक्षलाई कारवाही गर्दा र आफ्नै पार्टीका नेताको अपमान गर्दा पनि अनुशासनको कारवाही नहुँदा यस्तो अवस्था आएको हो’, उनले भने, ‘त्यसकारण संगठनमा जे गर्दा पनि हुन्छ भन्नेलाई कारवाही गर्नुपर्छ।’

थापाको भनाइले सिटौला समूहका विद्यार्थी नेताहरूलाई कारवाही गर्नुपर्ने माग स्पष्ट पार्छ। सिटौला समूहका विद्यार्थी नेताहरू भने यो घटनाको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने तर्क गर्छन्। ‘यो घटना पार्टी नेताको जंगबहादुर शैली र हुकुमी शासनका कारण आएको हो। प्रदर्शनका लागि तोकिएको स्थान छाडेर आउने र झडप गर्ने अनि हामीलाई भन्ने?’, सिटौला समूहका विद्यार्थी नेता कुन्दनराज काफ्ले भन्छन्, ‘यो सभापतिले निर्देशनमा भएको घटना हो। यसको जिम्मेवारी उहाँले नै लिनुपर्छ।’

यो घटनाका एक समूहका ‘नाइके’ ऋषिकेशजंग शाह भने झडपलाई सामान्य रूपमा लिन्छन्। ‘यो घटना सामान्य हो। यसलाई अनावश्यक प्रचार गरिरहन पर्दैन’, उनले भने, ‘उहाँहरूले पार्टी नेतालाई दुव्र्यवहार गर्दाचाहिँ के सन्देश गयो रे?’

लोकतान्त्रिक पार्टीको कार्यालय अगाडि भएको यस्तो घटनाले पार्टीको गुटगत संस्कार देखाएको राजनीतिक विश्लेषक बताउँछन्। यो घटना राजनीति संस्कारभन्दा बाहिर रहेको पुरञ्जन आचार्य बताउँछन्। ‘यसले अब कांग्रेस नै संकटमा छ भन्ने देखाउँछ। नेतृत्वको क्राइसेसले यो घटना भएको हो’, उनले भने, ‘लामो समयको सत्ता उपयोगले कांग्रेस नेतामा मिसन र भिजन छैन। नेताहरू पैसा कमाउन मात्रै लागे।’

प्रकाशित: १४ फाल्गुन २०७५ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App