१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रेड रोज

रातो गुलाब माने ? मायाको चिनो। मायाले संसारमा बाँच्न सिकाउँछ, अघि बढ्न सिकाउँछ, मायामा जात भात, राम्रो नराम्रो, सानो ठूलो, धनी गरिब केही हुँदैन। हुन्छ त केवल माया मात्र। यो मायामा मानिस आफैँमा खुशी हुन्छ, आफै दुःखी पनि। यसले अप्ठेरा पहाड नाघ्छ, समुद्रको लहर पार गर्छ। कल्पनाको सागरमा पौडिन्छ, नाङ्गो पहाडमा हरियाली संसार देख्छ, काँडामा फूल देख्छ, रापमा शितल। माया नहुने हो भने संसार नै बाँच्न लायक हुने थिएन होला। आज समीरकै मायाको कारणले गर्दा म कहाँबाट कहाँ आइपुगें ! यो मायाकै शक्ति त हो !

म एउटा गाउँकी केटी, मेरा आमा–बाबा जमिन्दारको जग्गा कमाउँथे। हाम्रो सानो झुप्रोको एउटै कोठामा हामी खान्थ्यौँ, बस्थ्यौँ सुत्थ्यौ पनि। आज पनि याद छ, त्यो दिन मालिकहरु आफ्नो गाउँको घरमा आएका थिए। खेतबाट भोकले रन्किएर घर आइपुग्दा आमालाई नदेखेपछि पक्कै मालिकको घर गएको अनुमानको आधारमा म त्यहाँ गएकी थिएँ। आमा चिया पकाउँदै हुनुहुन्थ्यो। भोकले राँक्किएको थाहा पाएर आमाले मलाई चिया र मुरै दिनुभयो। म पनि त्यहीँ बसेर खान थालेँ। त्यत्तिकैमा मलकाइन आउनु भयो। 

‘बुक्रई, तिम्री छोरी हो ? कति कक्षामा पढ्छे ?’ मलकाइनले मलाई हेर्दै सोध्नुभयो।

आमाले मलकाइनतिर हेर्दै भनिन्, ‘हो हजूर, तीन कक्षामा पढ्दैछे। गाउँको स्कुलमा पढाइ राम्रो छैन। के गर्नु हजुर ? मैले जस्तो दुःख गर्नु नपरोस् भनेर पढाउन थालेको। के हुन्छ !’ 

‘ए... मेरै छोरी जत्रै रहिछ,’ मलकाइनले आफैँसित कुरा गरेझैँ भन्नुभयो, ‘मेरै घरमै बस्छे, मेरै छोरीसँग स्कुल जान्छे। मलाई पनि सघाउँदै दिदी–बहिनी बस्छन्, एकै ठाउँमा हुन्न ? बुक्रई ?

मेरी आमा छक्क परिन्। आँखा चुहिएलाझैँ भयो, भनिन्, ‘मलकाइन, यति निमन बात गर्नुभयो तर करिश्माको बाबालाई पहिला सोध्छु। अनि मलकाइनलाई भन्छु।’ 

यो कुरा सुनिरहेकी थिएँ। राति घरमा निद्रा पनि लागेन। मनमा कुरा खेल्न थाल्यो, राम्रा नराम्रा दुवै। साँच्चिकै बाबाले पठाए भने त म जानुपर्ने हुन्छ। नयाँ ठाउँ नयाँ परिवार ! मलकाइनकी छोरी हुन पाए त जिन्दगी ऐश हुन्थ्यो। मलकाइनकी छोरीलाई मैले बच्चा बेलामा देखेकी हुँ। कस्ती परीजस्ती छ ! तर फेरि एकसाथ मलाई आफ्नो गाउँ, खेत, साथीसंगी, भैँसी–बाख्रा, सबै सबैको याद आयो। त्यसमाथि आमा–बाबाको न्यानो काख र भाइको माया छोड्न मन लागेको थिएन। 

बेलुकी बामा–आमाका कुरा मैले लुकिछिपी सुनेँ। बाबाले पनि मलकाइनको घर जाँदा पढाइ राम्रो नै हुने धारणा राख्नुभयो। ‘मलकाइन निमन छ, करिश्माले त्यहाँ हाम्रैजस्तो माया पाउँछे !’ बाबाले भनेको सुनेँ।

बिहान मलाई कसैले उठाएन। मज्जैले घाम झलमल्ल हुञ्जेल निदाएछु। सायद अघिल्लो रात अबेरसम्म मनमा कुरा खेलेर ननिदाएको बिहानीपख झप्प निद्रा लाग्यो क्यार ! 

उठ्नेबित्तिकै मेरा लागि चिया र पाउरोटी तयार थियो। आमाले मनै चसक्क हुने गरी भनिन्, ‘आइज, चिया पाउरोटी खाइहाल। तेरो कपाल कोरिदिन्छु। आज स्कुल नजा। मसँग घरमै बस्। छोरीलाई धेरै माया गर्ने मन छ।’

केहीबेर रोकिइरोकिई आमाले आफैँसँग गनगन गरिरहेकी थिइन्। ‘अब त छोरी मालिककोमा बसेर ठूलो मान्छे हुन्छे। हामीलाई विर्सन्छे होला।’

सबै कुरा सुन्दा मैले गाउँ छोड्नुपर्नेमा म पक्का भएँ। 

मलाई एकातिर आमा–बुबा र भाइ छाड्नुपर्ने दुःख थियो, अर्कोतिर ठूलो सहरको ठूलो घर हेर्ने रहर पनि थियो। मनमा मिश्रित भावना पलाइरहेका थिए। 

आमाले दिउँसोतिर मलकाइनको घर पुर्याइन्। उनले अप्ठेरो मान्दै भनिन्, ‘छोरी सानै छ। उसलाई माया गर्नुहोला। गल्ती गरे आफ्नै छोरी सम्झनु होला। तपाईंहरुको चालचलन जान्दिन। बिस्तारै सिकाइदिनुहोला, सिक्छे। करिश्मा टाठी छे। सबै सिक्छे। राम्ररी सिकाउनु मलकाइन। गाह्रो भयो भने उसको बाबा लिन आइहाल्छ।’

एक एक शब्द भन्न मेरीलाई कठिन भइरहेको थियो। प्रत्येक शब्द बोल्दै गर्दा उनको गहबाट आँशु तप्किरहेको थियो। आमाको आँशु देखेर मेरा पनि अनायाशै झर्न थाले।

साँझपख हामी काठमाडौंको घर आइपुग्यौँ। मेरो कल्पनाभन्दा बाहिरको घर ठूलो, बगैँचाभरि फूल फुलेको, हेर्दै चिटिक्क र सफा सुग्घर ठाउँ। मलाई सबैले अचम्म मानिरहेका थिए। लाग्थ्यो, म एउटा फोहोरी गन्हाउने मान्छे मालकिनको पछिपछि आइरहेकी छु। यत्तिकैमा मलकाइनले कसैलाई बोलाउनु भयो। 

‘रामु काका, आजबाट मैले नयाँ छोरी ल्याएकी छु। उसलाई सफा सुग्घर बनाऊ अनि ऋतिका सँगैको कोठामा उसलाई बस्ने व्यवस्था मिलाइदेऊ।’ 

ऋतिकाकै स्कूलमा म पनि ऊसँगै कक्षा ३ मा भर्ना भएँ। मेरो काम बिहान उठ्ने, भगवानको पूजाको लागि फूल, दुबो आदि टिप्ने अनि ऋतिकालाई उठाएर केहीबेर ऊसँगै बसेर होमवर्क गर्ने अनि स्कुल जाने हुन्थ्यो। आफूले सक्ने काम गर्थें। काममा पनि कुनै कर थिएन। काम त्यत्ति धेरै नहुने भएकाले मैले पढाइमा जोड दिन थालेँ। ऋतिका पढाइमा अलि कमजोर थिई। उसलाई पनि सिकाउन थालेँ। उसको गृहकार्य पनि मैले नै पूरा गरिदिन्थेँ। 

घरमा म र ऋतिकाबीच भेद कसैले गर्दैनथ्यो। त्यसैले कसैलाई पनि म गरिब किसानकी छोरी हुँ भनेर कसैलाई पनि लाग्दैनथ्यो। यसरी सुखपूर्वक मेरा दिनहरु बितिरहेका थिए। मलाई पढ्नु थियो, ठूलो मान्छे बन्नु थियो। आमा–बाबालाई केही गरी देखाउनु थियो। सहरमा जति सुख सुविधा भए पनि आमा–बाबाको याद आइरहन्थ्यो। त्यही यादले जति सक्दो छिटो पढेर म आमा–बाबालाई भेट्न जान चाहन्थेँ।

ऋतिका र मबीच पढाइमा प्रतिस्पर्धा हुन्थ्यो तर अन्य कुरामा भने प्रतिस्पर्धा गर्न म धकाउँथेँ ! खासमा फेसन लगायतका कतिपय कुरामा मैले कहिल्यै ध्यान दिइनँ। उसलाई मोर्डन ड्रेस सुहाउँथ्यो। मलाई भने ती कुरा अलि वाहियात लाग्थ्यो। खासमा मलाई मेरो घरको पृष्ठभूमि बिर्सनु हुँदैन भनेर मनले घच्घच्याइरहन्थ्यो। फेसनमा मात्र होइन, धेरै कुरामा यस्तो सोचले मलाई ब्रेक लगाउन सघाउँथ्यो।

एकचोटी हामी सिनेमा हेर्न गयौँ। त्यहीँ मैले ऋतिकाको केटा साथी समीरलाई चिन्ने मौका पाएकी थिएँ। उनीहरु दुई जना मिल्ने साथी थिए। उनीहरुको सहज व्यवहार देखेपछि हामी तीन जना बेला बेलामा भेट्ने, सँगै घुम्ने, सिनेमा हेर्ने गर्न थाल्यौँ। ऊ पनि पढे लेखेको, सज्जन तथा भलाद्मी थियो। राम्रो घरको छोरो थियो। 

एक दिन केटाका घरपरिवार कफीको लागि मलकाइनकहाँ आउने र मलकाइनको छोरीको हात माग्ने हल्ला चल्यो। यो सुनेर हामी एकदमै खुशी भयौँ। भनेजस्तो घरबाट ऋतिकाको लागि प्रस्ताव आयो भन्ने भयो। मलकाइनले केटाका बारेमा मलाई पनि सोध्नुभएको थियो। मैले त्यति राम्रो केटा त हामीले उम्काउनु हुँदैन भन्ने जवाफ दिएकी थिएँ। मेरो जवाफ सुनेर मलकाइन आँखा टेढा पार्दै मुस्काउनु भएको थियो।

प्रणय दिवसको दिन अर्थात् भ्यालेन्टाइन डे हामी सबै खुशी थियौँ। ऋतिका त्यसै पनि राम्री थिई, उसलाई अझ सुन्दर बनाउन हामीले कुनै कसर छाडेनौँ। केटा पक्ष आएर बैठकमा बसे। दुवै परिवार बैठकमा थिए। ऋतिका घरीघरी मलाई बोलाइरहेकी थिई। ऊ नर्भस थिई। आज मलकाइनले सबैको परिचय दिँदा मेरोबारेमा लामै परिचय दिनुभयो। ‘मैले ऋतिका र उसमा केही फरक गरेकी छैन,’ मलकाइनले भन्नुभएको थियो, ‘उसको पढाइ सकिएकोले अब गाउँ जाँदैछे।’ 

परिचयको क्रम सकिएपछि चियानास्ता भयो र यसपछि समीरकी आमाले भनिन्, ‘आज मेरो छोराले आफ्नो जीवनसाथीलाई प्रणय दिवसको दिन प्रपोज गर्न आएको छ। उसले हामीलाई अहिलेसम्म सस्पेन्समा नै राखेको छ। हामी सबै उसको प्रपोज सुनौं।’

त्यतिकैमा केटा उठ्यो र भन्यो, ‘म आज मेरो जीवन साथीको रुपमा करिश्मालाई रोज्छु र यो मायाको चिनो रेड रोज दिन चाहन्छु।’

मैले जे सुनेँ, त्यहाँ मेरो नाम उच्चारण भएको हो तर मलाई विश्वासै लागेन। पक्कै उसले ऋतिकाको नाम उच्चारण गरेको हुनुपर्छ। तर होइन, उसले मैतिर हेरेर प्रपोज गरेको थियो। हे भगवान् मैले यो के सुन्नुप¥यो ! समीरले मलाई किन रोज्यो ? मेरो र उसको स्टाटस नै मिल्दैन। फेरि ऊ प¥यो बाहुन, म परेँ थारु ! मैले जतिसुकै पढे पनि समाजले बनाएका कतिपय पर्खालका बारेमा अनभिज्ञ छैन। 

म मात्र होइन, त्यहाँ उपस्थित हरकोही यो प्रस्तावप्रति आश्चर्यचकित नै थियो। म लाज, अप्ठेरोपन र असहजताले गर्दा पसिना पसिना भएँ। मेरो टाउको घुमिरहेको थियो। मेरो अगाडि हेर्दैको आकर्षक रातो गुलाब लिएर समीर घुँडा टेकेर मलाई प्रस्ताव गरिरहेको थियो। मलाई भाउन्न भयो। मेरो संसार फिनिनी घुम्यो र म समीरको काखमा लडेँ।

त्यसपछि एकैचोटि अस्पतालको बेडमा मेरो होश फर्कियो। आँखा खोल्दा एकातिर ऋतिका र अर्कोतिर समीर थिए। क्रमशः आँखा घुमाएँ, वरिपरि मलकाइन र समीरको आमा पनि त्यहीँ देखेँ। म हडबडाएर उठ्न खोजेँ तर सकिन। ‘मलकाइन,’ मेरो ओठबाट यत्ति आवाज निस्कियो। बोलीको साटो आँखाबाट आँशु बगिरहेको थियो। मलकाइनले मौन रुपमा मेरो आँशु पुछिदिनुभयो।

यसपछि समीरकी आमा अगाडि आउनुभयो। मैले उहाँतिर नजर मिलाउन पनि सकिनँ। उहाँले मेरो टाउको सुम्सुम्याउँदै भन्नुभयो, ‘करिश्मा तिमी आराम गर। सबै ठीक हुन्छ।’

मेरो होश आएको देखेर समीरको अनुहारमा रौनक छाएको देखेँ। डाक्टरहरुसँगको छलफलपछि मेरो त्यही दिन डिस्चार्ज हुने भयो। 

मलाई अस्पतालबाट घर लैजान मलकाइन मात्र आउनु भएको देखेँ। ‘ऋतिका खोई त ?’ मैले मलकाइनलाई सोधेँ। उहाँले गोलमटोल उत्तर दिनुभयो। त्यो दिन म मेरो आफ्नो कोठामा होइन, पाहुना कोठामा मेरालागि तयार पारियो। 

एउटा अञ्जान प्रस्तावले एकै दिनमा ठूलो परिवर्तन ल्याइसकेको थियो। पाहुना कोठामा मलाई निद्रा नै लागेन। अनेक तर्कनाले रातभर सुत्न सकिनँ। मनमा एउटै प्रश्न घरिघरि आउँथ्यो, ‘मैले के गल्ती गरेँ ? समीरले प्रस्ताव राख्नुमा मेरो के गल्ती ? कसैले मलाई मन पराउँदैमा म अपराधी त हुन्न नि ! मैले समीरको प्रस्ताव स्वीकार गरेको पनि छैन। जीवन भरिको मेरो माया र नाता एउटै कुरामा किन यसरी तोडियो ? परिवारबाट म कसरी अचानक पाहुना भएँ ? रातभरि प्रश्नको उत्तर खोज्ने प्रयास गरिरहेँ। बिहान उठेर फूल टिपी पूजा कोठामा जाँदा मलकाइनले पूजा गरिसकेको देखेँं। यसपछि त मेरो मन थामिदै थामिएन। मलकाइनको अगाडि उभिएँ। मेरा आँखामा प्रश्नवाचक आँशु थिए।

मलकाइनले भन्नुभयो, ‘तँसित म मेरो खुशी माग्छु। समीरसँग ऋतिकाको विवाह गराइदे नानी। मलाई अन्यथा नलिई। म आमा भएकीले मेरो छोरीको खुशीको अगाडि अरु केही देखिरहेकी छैन। मेरो छोरीको खुशी  छोडिदे।’ 

मलकाइनलाई आश्वस्त पार्दै भनेँ, ‘हजूरले यो के भन्नु भएको ? यो घरले मलाई धेरै कुरा दिएको छ। यो घरको खुशीको लागि म जे गर्न पनि तयार छु ।’ ‘उसो भए एउटा काम गर्,’ मलकाइनले कठोर हुँदै भन्नुभयो, ‘तँ गाउँ जा। अब फर्केर पनि नआइज।’

मलकाइनको बोलीमा यत्तिको कडा शब्द मैले आफ्नो जीवन कालमा कहिल्यै देखेकी थिइनँ। उहाँ करुणाको मूर्ति हुनुहुन्थ्यो। तर म बुझ्छु, ऋतिकाका लागि यत्तिको कडा हुन एउटी आमालाई सुहाउँछ।

मलाई समीर मन नपर्ने होइन। मलाई मात्र किन, हरकोही उमेरदार युवतीको सपनाको राजकुमार हो ऊ। तर मैले न त उसलाई कहिल्यै मेरो चाहना बताएकी थिएँ, न त उसले आफ्नो चाहनाको झल्को नै दिएको थियो।

म घर फर्कंदा ऋतिकाले मलाई भेट्ने कुनै जाँगर देखाइन। मात्र मलकाइनले मेरा सारा सामान प्याक गरिदिनु भयो।

यसपछिका चार वर्ष कसरी बिते, मलाई पत्तो भएन। एउटा ठूलो कम्पनीमा एउटा प्रोजेक्ट म्यानेजरको पोस्टको लागि अन्तर्वार्ता दिन गएकी थिएँ। ‘एक्सक्युज मी सर, मे आई कम इन ? 

‘यस्, यु क्यान कम।’

हाकिम भित्तातिर फ¨कएको थियो। उसले भित्तैपट्टि फ¨कएर आवाज निकालिरहेको थियो, भन्यो, ‘यो फिल्डमा तिम्रो अनुभव राम्रो रहेछ। समय कतिको दिन सक्छौं ? मसँग काम गर्न त मिहिनेत बढी नै गर्नुपर्छ।’

मलाई कामको बढी नै आवश्यकता थियो। यहाँ मैले आफ्नो समुदायमा अझ बढी गर्ने मौका थियो। त्यसैले भनेँ, ‘समयको कुनै समस्या छैन। खासमा म वर्कहोलिक नै हुँ सर।’

‘ग्रेट् !’ कुर्सी घुम्यो र हाकिम देखाप¥यो। भन्यो, ‘ल नयाँ कामका लागि तिमीलाई धेरैधेरै बधाई।’

म अवाक भएर हेरिरहेँ। अगाडि समीर थियो। कहीँ सपना त देखिरहेकी छैन झैँ भयो मलाई। समीरले व्यग्र हुँदै सोध्यो, ‘तिमी कहाँबाट यहाँ ? किन केही नभनी घरबाट निस्केकी ? आन्टीले समेत कति खोज्नु भएछ !’ उसले एकै सासमा अल्पअल्प कुरा गरे पनि व्यग्रता देखाइरहेको थियो।

मलाई थाहा भयो, मलकाइनले धेरै कुरा लुकाउनु भएको रहेछ। 

‘यी सब छोड। ऋतिकालाई कस्तो छ ?’ मैले सोधेँ, ‘तिमीहरु त बच्चा पनि भइसक्यो होला ! आन्टी, मलकाइन, रामु काका सबैलाई कस्तो छ ? अनि तिमी यो गाउँमा कताबाट आइपुग्यौ नि ?’ मेरो मनमा पनि कयौँ जिज्ञासाहरु रुमल्लिइरहेका थिए। 

‘ऋतिका उसको श्रीमान्सँग स्वीजरल्यान्डमा छे,’ समीरले भन्यो, ‘मैले त्यो बेला नै क्लियर गरिसकेको थिएँ, बिहे भयो भने तिमीसँग हुन्छ, ऋतिकासँग हुँदैन। यो घटनाको केही महिनापछि नै उसको बिहे भयो।’ उसले मेरो आँखामा आँखा जुधाउँदै भन्यो, ‘मैले मन पराएकी केटी भागी, उपयुक्त केटी फेला पार्न सकेको छैन। नत्र भने त हुन्थे होला, हाम्रा पनि एक दर्जन सन्तान !’

समीरको कुराले मुटुमा छुरा चलाएजस्तै भयो। कुरा मोड्न मैले भने, ‘अब कामको कुरा गरौँ।’

उसले भन्यो, ‘म अझै पनि मनकी रानीलाई कुरिरहेको छु। उसले मलाई स्वीकारेकै छैन। हेरौं मेरो तपस्या कहिले पुग्छ !’

‘खासमा तिमी यो प्रोजेक्टको सञ्चालक हौ भन्ने थाहा पाएको भए अप्लाई गर्दिन थिएँ होला !’ यत्ति भनेर म उठ्न खोजेँ।

समीरले भन्यो, ‘मेरो रिसले यति राम्रो जागिर गर्दिन भन्न खोज्या होला। अप्ठेरो त मसँग होला, कामसँग त पक्कै होइन होला।’

यसपछि जागिरलाई मैले जारी राखेँ। हामी दुईबीच कहिल्यै त्यसपछि कुनै व्यक्तिगत कुराकानी भएन। बिस्तारै हामी काममा व्यस्त भयौं। कामबाहेक अरु केही फाल्तु कुरा हुँदैन थियो। 

एकदिन बिहान अफिसमा कोही चिनेकै व्यक्ति आइपुग्नु भयो। उहाँ समीरको ममी हुनुहुन्थ्यो। नमस्कार गर्दै मैले सोधेँ, ‘आन्टी ? यहाँ कताबाट ?’

‘म तिमीसँग मेरो जीवनको ठूलो खुशी माग्न आएकी छु,’ आन्टीले भन्नुभयो। त्यत्तिकैमा समीरले ह्यापी भ्यालेन्टाइन्स डे भनेर मलाई रेड रोज दियो। 

थ्याङ्क्यु भनेर मैले लिएँ तर समीरले तत्कालै थप्यो, ‘के तिमी मसँग बिहे गरेर मेरो सादा जीवनलाई रंगीन बनाइदिन्छ्यौ ?’ यो सुनेपछि भने हत्त न पत्त मैले गुलाबको फूल फिर्ता थमाइदिएँ किनभने प्रस्ताव सुनेर फेरि मलाई वर्षौंअघिको घटना याद आयो। 

‘यो के ठट्टा गरेको ?’ म रिसाएँ, भनेँ, ‘न जात मिल्छ, न तिम्रो र मेरो परिवाको स्टाटस मिल्छ !...’

आन्टीले बीचैमा कुरा रोकेर भन्नुभयो, ‘मेरो छोरो राम्रो छैन ?’

म चूप।

‘मेरो छोरो तिमीलाई मन पर्दैन ?’

म फेरि पनि चूप।

‘समीरले अहिलेसम्म तिमीबाहेक कसैलाई देखेन, उसको तपस्या अझै पुगेको छैन ?’

यसपछि भने समीरको मायालाग्दो अनुहार हेरेँ। उसको हातबाट गुलाबको फूल फिर्ता लिएँ र छातिमा टाँसेँ।

जब–जब प्रणय दिवस आउँछ, मलाई समीरको प्रेमसंघर्ष सम्झना आउँछ।

प्रकाशित: १४ फाल्गुन २०७५ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App