१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ग्रीनबुक’ बन्यो ‘उत्कृष्ट फिल्म’

फिल्म ‘दी फेभरेट’बाट ‘बेस्ट एक्ट्रिस’विधामा ९१ औं संस्करणको ओस्कार अवार्ड जितेपछि अभिनेत्री ओलिभिया कुलमेन। तस्बिरः एजेन्सी

लसएन्जल्स–अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थिएटरमा सम्पन्न ९१ औं संस्करणको ‘ओस्कार अवार्ड’मा फिल्म ‘ग्रीनबुक’ले ‘बेस्ट फिल्म’सहित तीन अवार्ड जितेको छ। यो फिल्मका लागि महेरशाला अलीले ‘बेस्ट सर्पोटिङ एक्टर’ तथा निक भेलिलोङ्गा, ब्रेन क्युरी र पिटर फेरिलले संयुक्त रूपमा ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’को अवार्ड जिते। 

पिटर फैरलीको निर्देशनमा बनेको यो बायोग्राफिकल कमेडी ड्रामा फिल्मले सन् १९६२ को समयलाई चित्रण गरेको छ। फिल्मले एक प्रख्यात पियानिस्ट डोन शिर्ली र बाउन्सर टोनी बेलेलंगा दक्षिणी यात्रामा निस्किएपछि उनीहरूको यात्रामा आउने उतारचढावलाई देखाइएको छ। ‘बेस्ट सपोर्टिङ एक्टर’ अवार्ड जितेका अलीले यसअघि सन् २०१७ मा यही विधाका लागि फिल्म ‘मुनलाइट’बाट अवार्ड पाएका थिए।

त्यस्तै फिल्म ‘बोहेमियन रेप्सोडी’ले कुल चार विधामा अवार्ड जितेको छ। फिल्मका लागि रामी मालेकले ‘बेस्ट एक्टर’, जोन वारहस्र्ट र निना हार्टस्टोनले ‘बेस्ट साउण्ड इडिटिङ’, पल मेसी, टिम क्याभागिन र जोन कसालीले ‘बेस्ट साउण्ड मिक्सिङ’ र जोन ओटमेनले ‘बेस्ट फिल्म इडिटिङ’को अवार्ड जिते। यो फिल्ममा रामीले दिवंगत फ्रेडी मर्करीको भूमिका निर्वाह गरेका छन्। फिल्मको कथा मर्करी र उनको बेण्ड ‘क्वीन’ वरपर घुमेको छ। ‘मेरो आमा यही कतै हुनुहुन्छ। म तपाईलाई माया गर्छु। म मेरो परिवारलाई धन्यवाद भन्न चाहन्छु’, अवार्ड पाएपछि भावुक हुँदै उनले भने, ‘मेरो पिताले यो अवसर हेर्न पाउनुभएन। तर मलाई विश्वास छ कि उहाँले यो अवसरलाई हेरिरहनुभएको छ।’

मेरो आमा यही कतै हुनुहुन्छ। म तपाईलाई माया गर्छु। म मेरो परिवारलाई धन्यवाद भन्न चाहन्छु। मेरो पिताले यो अवसर हेर्न पाउनुभएन। तर मलाई विश्वास छ कि उहाँले मलाई हेरिरहनुभएको छ।

त्यस्तै फिल्म ‘ब्ल्याक पेन्थर’ले तीन अवार्ड जित्दा फिल्मका लागि रूथ कार्टरले ‘कष्ट्युम डिजाइन’, हाना बीचलर र जय हार्टले ‘प्रोडक्सन डिजाइन’ र लडविग गोरान्ससनले ‘ओरिजिनल स्कोर’को अवार्ड पोल्टामा पारे। कार्टर र बीचलर अवार्ड पाउने पहिलो अस्वेत कलाकार हुन्। त्यस्तै १० विधामा मनोनित फिल्म ‘रोमा’ले ‘बेस्ट फरेन फिल्म’को अवार्ड जित्दा फिल्मका निर्देशक अल्फोन्सो क्युरोनले ‘बेस्ट डाइरेक्सन’ र ‘बेस्ट सिनोमाटोग्राफी’ विधाको अवार्डमा चित्त बुझाए।

त्यस्तै १० विधामै मनोनित भएको फिल्म ‘दी फेभरेट’का लागि अभिनेत्री ओलिविया कोलमेनले ‘बेस्ट एक्ट्रिस’को अवार्ड जितिन्। ‘यो अवार्ड वास्तवमै डरयुक्त छ। यो खुशी दिने कुरा पनि हो। मलाई ओस्कार मिल्यो’, उनले भनिन्। कोलेमलने फिल्ममा रानी एनीको भूमिका निर्वाह गरेकी छन्। टेलिभिजनबाट करियर सुरु गरेकी कोलमेनले अवार्ड विजेताका रूपमा आफ्नो नाम उच्चारण हुँदा आत्तिएकी थिइन्। सन् २००९ मा ब्रिटिस नायिका केट विन्स्लेटले अवार्ड जितेपछि योपटक कोलमेनले अवार्ड पोल्टामा पारेकी हुन्।

फिल्म ‘इफ बील स्ट्रीट कुड टक’का लागि नायिका रेजिना किङले ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’को अवार्ड जितिन्। उनी पहिलोपटक ओस्कारको मनोनयनमा परेकी हुन्।  फिल्म ‘ब्ल्याकक्लान्समेन’का लागि चार्ली वाचटेल, डेभिड रविनोविट्ज, केभिन विलमोट र स्पाइक लीले ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’को अवार्ड जिते। पपस्टार लेडी गागाले आफूले अभिनय गरेको फिल्म ‘अ स्टार इज बर्न’को गीत ‘सेलो’का लागि ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड जितिन्। यो गीत उनीसँगै मार्क रोनसन, एन्थनी रोसोमेन्डो र एन्ड्रयू वेटले लेखेका हुन्। यो अवार्ड उनीहरूले संयुक्त रूपमा पाएका हुन्। यो फिल्ममा गागासँगै ब्रेड्ली कूपरले प्रमुख भूमिकामा अभिनय गरेका छन्। गीतमा गागासँगै ब्रेड्लीको पनि स्वर छ। गागाले यो गीतका लागि ओस्कारसँगै गोल्डन ग्लोब, ग्रामी र बाफ्टा अवार्ड पनि जितेकी छन्।

अवार्डमा ‘फस्र्ट मेन’ले ‘बेस्ट भिजुअल इफेक्ट’, ‘स्पाइडर मेन’ले ‘बेस्ट एनिमेटेड फिचर फिल्म’, ‘पीरियड. इन्ड अफ सेन्टेन्स’ले ‘बेस्ट सर्ट डकुमेन्ट्री’को अवार्ड जित्यो।

प्रकाशित: १४ फाल्गुन २०७५ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App