१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

घरेलु मैदानमा अनिलको ह्याट्रिक

ह्याट्रिक गरेपछि खुसीले उफ्रिँदै अनिल गुरुङ।  तस्बिर : उमेश पुन/नागरिक

पोखरा – घरेलु मैदानमा अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्री स्टारले आहा रारा गोल्डकपको १७औं संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ। पाहुना टोली भारतको सिक्किम युनाइटेडलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दा अनिलले प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा आफ्नो नाम लेखाए। 

भुटानबाट उपविजेता बन्दै स्वदेश फर्किएको थ्री स्टारका लागि आफ्नो घरेलु मैदानमा अनिल गुरुङले आफूलाई महत्वपूर्ण खेलाडी सिद्ध गरे। सोमबार पोखरा रंगशालामा सिक्किमविरुद्धको तेस्रो क्वार्टरफाइनल खेलिरहेको थ्री स्टारका लागि अनिलले पहिलो गोल भने पेनाल्टीमार्फत गर्दै सुरुआती अग्रता दिलाए। 
 
सुशील राईलाई पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई अनिल गुरुङले सदुपयोग गर्दै पहिलो हाफमै अग्रता दिलाए। कर्नर बललाई सिक्किमका गोलकिपरले पन्च गर्दै क्लियर गर्ने कोसिस गरे। पन्च गरेको बल सिक्स यार्ड बक्सभित्र खसेपछि राईले कलेक्ट गर्न खोज्दा सिक्किमका डिफेन्सले फाउल हानेर लडाएपछि थ्री स्टारले २६औं मिनेटमा पेनाल्टीको अवसर पायो। 

ह्याट्रिकको खोजीमा रहेका अनिलले घरेलु मैदानमा आफ्नो पुरानै फुटबल लयलाई कायमै राखे। पहिलो हाफमै उनले केही अवसरलाई गुमाए। यद्यपि उनकै गोलबाट लिएको अग्रता भने पहिलो हाफसम्म रहिरह्यो। १४औं मिनेटमा सिक्किमका जसमन गुरुङले हानेको लङ रेन्ज प्रहार गोलपोस्टभन्दा परबाट बाहिरिएको थियो। 

थ्री स्टारले दोस्रो हाफमा हरेक समय सिक्किममाथि निकै दबाब बनाइराख्यो। ५०औं मिनेटमा थ्री स्टारले गोलको उपहार पायो। अनिल गुरुङले हानेको क्रस बललाई सिक्किमका डिफेन्स जिग्मे दोर्जे भुटियाले क्लियर गर्न खोजेको बल गोलकिपरसँग ठोक्किएर फर्किएको थियो। त्यही फर्किएको बल डिफेन्स भुटियाको टाउकोमा लागेर पोस्टभित्र छिरेपछि थ्री स्टारले खुसी मनाउने अर्को अवसर प्राप्त गर्‍यो। अनिलले ५३औं मिनेटमा हानेको बाइसाइकल किक बल फस्ट बारमा लागेर फर्किंदा दुर्भाग्य बन्यो। 
 
६६औं मिनेटमा अनिल गुरुङले हानेको बल पोस्टनजिकैबाट बाहिरिँदा अग्रता बढाउने अवसर फेरि एकपटक गुम्न पुग्यो। एकपछि अर्को मुभ बनाइराखेको थ्री स्टारले ७०औं मिनेटमा अजयी मार्टिनले व्यक्तिगत गोल गर्दा थ्री स्टारको खातामा ३–० को अन्तर देखिएको थियो। मार्टिनले डिफेन्सले ब्याक पास दिने क्रममा खोस्दै वान भर्सेस वानको अवस्थामा गोलकिपरलाई छलाउँदै खाली पोस्टमा गोल गरेका थिए। 

अनिल गुरुङले व्यक्तिगत दोस्रो गोल भने पेनाल्टीमार्फत नै सम्भव बनाए। ८१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै व्यक्तिगत दोस्रो गोल आफ्नो नाममा लेखाए। उनको ह्याट्रिक गर्ने सपना भने ८५औं मिनेटमा पूरा भयो। मार्टिनले डी बक्सभित्र छोटो माइनस गरेको बललाई सेकेन्ड बार नजिकैबाट बल पोस्टभित्र छिरेपछि लामो समयपछि घरेलु मैदानमा घरेलु दर्शकलाई उनले ह्याट्रिक गरेको हेर्ने अवसर जुर्‍यो। उनले ह्याट्रिक गरेपछि थ्री स्टारले प्रतियोगिताकै फराकिलो  जित निकाल्नेतर्फ लम्कियो। अनिल खेलको म्यान अफ दी म्याच बन्दै नगद ५ हजार रुपैयाँ पुरस्कार समेत थापे। 

८९औं मिनेटमा सिक्किमले पनि थ्री स्टारविरुद्ध गोल गर्दै आफ्ना समर्थकलाई खुसी तुल्याउने प्रयास गरे। सोनाम छिरिङ भुटियाले गोल गर्दै थ्री स्टारसँगको अन्तरलाई केही कम गरे। अतिरिक्त समयमा सिक्किमले पेनाल्टीको अवसर पायो। जुन अवसरलाई  छिरिङ लोप्चाले गोल गर्दै अन्तरलाई घटाउने अन्तिम प्रयासका रूपमा सदुपयोग गरे। पेनाल्टी ९० प्लस ३ मिनेटमा पाएको थियो।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको १७औं सस्करणको आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल भने क्यामरुनको डाउफिन्स फुटबल क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। दुवै टोली बुटवलमा आयोजित तिलोत्तमा गोल्डकपको फाइनल खेलेर मंगलबार बिहान पोखरा आइपुग्नेछन्।

प्रकाशित: १४ फाल्गुन २०७५ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App