रम्य रचना

मारकस बाबालाई मुद्दा !

शनिबार, २२ असोज २०७३, १२ : २५ नरेन्द्रजंग पिटर

म सगरमाथाको चुचुरोबाट मारकस बाबालाई फेरि नालिस ठोक्दै छु । मेरो यो दोस्रो फिरादपत्र हो । यसलाई उच्च अदालतसामु अपिल भनेर बुझियोस् । पहिलो नालिस नेपालमा जनयुद्ध चल्दै गर्दाको थियो, दोस्रो अहिले घनघोर मनोयुद्ध चल्दै गर्दाको हो । नालिस दिनुको कारण मारकस–पिशाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो भनेर हो।
समाज खजबजियो, संस्कार भाँडियो । राजाबेगरको देश कहीँ हुन्छ र हजुर ? हिजो कजाइएकाहरू अहिले काजी बन्दैछन् । मुन्छेले दिउँसै सपना देख्न थालेर बौलाउँदै गयो। कसैलाई कसैले पनि नगन्ने, नटेर्ने भयो । कसैलाई नपुछ्ने भयो । न मालिकको डर, न धर्मकर्म, न यहलोक, न त परलोककै डर । कलियुगले ढपक्क ढाक्यो ।

पशुपतिनाथले पनि रक्षा गर्नै सकेनन् । कस्तो बेथिति ! चमारे जागे, मधिसे कुर्ले । जुम्ली, हुम्ली, मन्ठाहरू चिच्याउन थाले । आइमाईहरू मलामी जान थाले । किरिया बस्न, जन्ती जान, हलो जोत्न, घरधुरी छाउन, मार हान्न थाले । समाज भाँड्नेहरू अनेकौँ रूपधारी छन् । कतै राक्षस र दानव, कतै शैतान, कतै काफिर बनेर घुमिरहेका छन् । संसारको कुनै कुना–काप्चा नै छोडेन । भगवान, ईश्वर र अल्लाहलाई सीधै चुनौती दिने विधर्मी कस्ता हुँदा रहेछन् ? मैले खुट्याइसकेँ । यो रोग हो, मारकस–पिशाचको । दुनियाँ बचाउन र पिशाचलाई सदाका लागि मन्सिनुप¥यो या सखाप पो पार्नुप¥यो, हजुर । त्यसैले मारकस बाबाउपर मुद्दा दर्ता होस् ।

मारकस–पिशाच लागेपछि मान्छेको जात पहिला बौलाउँदो रहेछ । आफ्नै लागि, सन्तानका लागि पनि नसोच्ने दिलहीन बैगुनी बन्दोरहेछ । रोगले सताउँदै गएपछि मुन्छेमा धर्मकर्म भन्ने चिजै हराउँदो रहेछ । समाज भाँडिँदै गएपछि के नहुने रहेछ र ? त्यसैले लोक कल्याणका लागि यो दोस्रो फिराद–पत्र लिएर म हाजिर भएको हुँ । यो छुतको रोग मेरो देशलाई मात्र नसोचियोस्, संसार भरिनै लागिसक्यो । शान्ति र अमनचयनको दुश्मन, सभ्यताको शत्रुले संसारभरि नै समस्या पारेको छ । त्यसैले मारकस–पिशाचलाई कारबाही गरी सभ्य बन्न चाहनेलाई न्याय मिलोस् ।

यो पिशाच फैलाउने अरू कोही हुँदै होइन । जन्मको नाम कार्ल हेनरिक माक्र्स भई बेलायत लन्डनमा इहलीला सकेको, हाइगेटमा चिहान भएको सोचको अन्तर्राष्ट्रिय अपराधी मरकस बाबालाई सगरमाथाको देशबाट उजुरीको एक मात्र औचित्य हेग अदालतमा उभ्याउने हो । पुर्खा यहुदी भए पनि सन् १८२४ देखि उसका बाबु–आमा इसाई भएका, जर्मनीको राइन नदी किनारमा (५ मई १८१८ देखि १४ मार्च १८८३) जन्मेर प्रौढतामा तालु खुइलिएको, धेरैजसो बेलायती पुस्तकालयमा भेटिने पडन्ता, लेखन्ता, सधैँ झम्म दाह्री पाल्दै युरोपका गल्ली–गल्ली भौँतारिँदै हिँड्ने उसको हुलिया हो ।

मारकस बाबाको काँचो पिशाच भने अहिले दुनियाँभरि नै भड्किरहेको छ । धेरै पढे–लेखेर बौलाएको र बौलाहाबुटी तयार गरेर पिशाच फैलाउने ऊ अपराधी नै थियो र हो । उसका बाबु–आमा इसाई र पुर्खा यहुदी भए पनि ऊ भने अधर्मी भएर विज्ञानवादी कहिन पो थाल्यो ! धर्मलाई अफिमभन्दा कडा भन्ने कस्तो महामूर्ख होला ! कस्तो मापाको ? संसारका सबै प्रश्नको उत्तर पो विज्ञानमै छ अरे । संसारकै श्रमजीवी एक हौँ भनेर उसको चिहानमै लेखिएको छ । साँच्चै सोच्ने तरिकैमा मारकस बाबाले हस्तक्षेप गरिदियो । त्यसलाई कसले पो सहन्थ्यो र ? सभ्यहरूको देशमा पिशाच फैलाउने मारकस बाबाको सालिक नि किन सहन्थे ? बेलाबेला विरोध त भइरहन्छ ।

सन् १९७० मा त बमै प्रहार पो भयो । १९८१ मा नष्ट गर्ने प्रयत्नै भयो । सभ्य मान्छेहरूको सोच पनि यो पिशाच लागेपछि कसरी फेरिदिन्छ ? म आफैलाई यो छुत रोग लागेका बेलाको हबिगत गम्छु । यो रोगी काफिर, शैतान, पापीले धर्मकर्म नै पोली खान्छ भने अरु के पो बाँकी राख्छ र ? म आफै बौलाएर चेत खुल्न थालेको मनुवा भएकाले यी सबै कुरा देखेको, भोगेको, जानेको, बुझेकाले फिराद गर्न सक्ने औकात राखेको हुँ । हाम्रै देशमा एउटा कथन थियो हजुर, २५ वर्षसम्म मारकसलाई गुरु नभन्ने मानव नै होइनन्, २५ वर्षपछि मारकस रोग उपचार नगर्ने भनेको महामूर्खै हुन् ।

मारकस–पिशाच अझै दुनियाँका मजदुर एक हौँ भन्छ । ऊविरुद्ध हामीसँग को र के छैन ? पुँजी र प्रविधि छ । धनपति, कर्पोरेटपति, हतियारपति, युद्धपति, प्रोपोगान्डापति सबै हामीसँगै छन् । संसारकै थैलीशाह, बादशाह, पण्डितजी, मुल्लाहजी, पादरी र लामाहरू एकगठ पार्न सक्छौँ र हुन सक्छौँ । मारकस–पिशाच लागेका भूतपूर्व कम्निस पनि साथै हुनेछन्, मजस्तै । मारकसविरुद्ध संसार एक हौँ– एक हौँ ।   

मारकसले यस दुनियाँमा गर्नु ÷नगर्नु ग¥यो । आजको जस्तो सूचना प्रविधि भएको भए अझ केके उधुम मचाउँथ्यो कुन्नि ! ऊ मरेर पनि उसका अपराधले भने राष्ट्रिय सीमा छिचोलेर विश्व ब्रह्माण्डमै छुत फैलाइरहेका छन् । हेर्नुस् त, कस्तो अपराधी ! जीवन र जगत्लाई विज्ञानको आँखीझ्यालबाट नियाल्नुपर्छ रे । उज्यालो चाहनेले आफै जल्न तयार हुनुपर्छ रे । कस्तो बकम्फुसे कुरा ! मेरो देश र मेरै कथा सुनाउँछु । मलाई कुनै दिन त्यही पिशाच लागेको थियो भनेर नसोचियोस् । यो पिशाचले कुनै जाति, क्षेत्र, भेष र भाषा अछुतो राखेन । उसकै बुटी खाँदा आज घरको न घाटको भइयो । जसले यो नशा त्यागे, ती नयाँ बनेर यहलोक र परलोक सपारे, सुधारे । मन्त्र त्याग्नेमा पुष्पलाल र बीपीका सगोत्री पहिलो पंक्तिमा परे । बुधना र उसका कैयौँ कामरेडले नशाले अझै त्यो पाप उतार्नै सकेनन् ।

त्यो अपराध कुुकर्मपछि मारकस बाबाकै हात छ । मुद्दा चलाउनुका कारण र प्रमाण यथेष्ट छन् । अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लाग्ने ठूलो प्रमाण भनेकै सबै प्रकारका सत्ता हल्लाउँदै, भत्काउँदै सीधासादा मान्छेका मन र मस्तिष्कलाई सभ्य समाजविरूद्ध भड्काउँदै नयाँ सोच्न ललकार्नु नै हो । नयाँ सोचले निर्धा दरबिलो हुँदा रहेछन् । पाजीहरू काजी बन्न खोज्ने ? भुइँमान्छेहरू जुरुक्क उठेर सबैखाले प्रभुका सिंहासन भत्काइदिँदा रहेछन् । भुइँमान्छे र सोच्ने भनाउँदा मान्छेहरू बौलाएपछि त संसारमै केके भयो, केके ! डेढ सय वर्षको इतिहास साक्षी छ । आस्तिक र नास्तिकका अर्थ फेरिए, धर्मात्मा र पापीहरूका मर्म फेरियो । राजक र अराजकका सीमा टुटे । बाइबल, तौरिद, कुरान, वेद र त्रिपिटकका देववाणीमा अनास्था फैलाउँदै, धार्मिक आस्थावान् र विश्वासी मान्छेलाई नास्तिक बनाउँदै गयो । चर्च, मस्जिद, मन्दिर, सेनेगाल र मठमाथि भ्रम पैदा गरेर पादरी, पण्डित, मौलाना, लामा र भिक्षुप्रति अनादर फैलाउने अपराध गर्दै गयो । कस्तो इसाईपुत्र हो यो ? आफ्नै महापापप्रति पनि घृणा फैलाउने !

धर्मग्रन्थको खिल्ली उडाउँदै यस्तो प्रहार ग¥यो कि एकैपटक सबै धर्म संकटमा पर्न गए । तर्क पनि कस्तो धारिलो दिने ! मान्छेलाई बौलाहा नै बनाउने । संसारकै सुखीका चयन छिन्दै, राजा–महाराजा सम्भ्रान्त, कुलीन, धनाढ्यका दिउँसोका चयन र रातिका निद्रा हराम गराउँदै गद्दी उल्टाइदिँदै गयो । सनातनी राजधर्म विप्लव गराउँदै सोझा, सीधा र कर्महारा कामदारलाई भाग्यका अर्थ र पुर्पुरोमा लेखिएको कर्मलाई चुनौती दिँदै गयो । खप्परेका भाग्यमानी खप्पर फोर्दै काले, गोरे, खैरे, भैरे, नाक चुच्चे, थेप्चे सातै समुद्र वारि–पारिका भुइँमान्छेलाई आफ्नै मालिक र अन्नदाताविरुद्ध उचाल्दै गयो ।

स्वेच्छाले आत्मघाती ओखती खुवाउँदै गयो । जाति र धर्मभन्दा पनि वर्गीय माया चोखो, न्यानो र दरबिलो हुन्छ भन्ने फाल्तु कुरा सिकाउँदै धनी र गरिब कसरी हुन्छन् भन्ने इख्याउँदै गयो । कर्म लेखेको कुरालाई हाकाहाकी चुनौती दिने ऊ के महाभगवान् हो ? यो के गरेको हे पापी ? भन्दा त आँखा तरेर हाकाहाकी पो भन्छ– समानता र मानवताका सपना बाँडेको रे । सबैले पूर्वजुनीको कमाइ खानुपर्छ नि । के कुच्चाको मुख काट्याझैँ हुन्छ समाज ! कस्तो ढिट छ बाबै । उपदेशक नभई कर्ता बनेर हिँड्नुपर्छ रे । मुक्तिको लडाइँ अरू कसैले लड्दैन, आफैले लड्नुपर्छ रे भनेर कम्युनिस्टमन्त्रको बुटी बाँधिदिएर पागल पो बनाउँदैछ, संसारलाई ।

मालिकहरू, धर्माधिकारी, ख्वामित–महाराज, अन्नदाता सबै प्रभुज्यूू, कर्पोरेटपतिज्यू र म पनि लहैलहैमा लागेर मति बिगार्दै पुर्पुरो चर्काएर कुनै दिन आँखा तर्ने मान्छे बनेँ । अहिले पनि सपनीमा त्यो पिशाच आउँछ, त्यसले झ्याप्प समात्छ । हिजोका वाचा–बन्धन या त गल्ती थियो भने भन्, नत्र भने नयाँ जीवन किन लतार्छस् भनेर हकार्छ । सपनादेखि भाग्न पनि सक्दिनँ । ऊ घिच्याउँदै ऐनासामु लान्छ, ओझलिन पनि सक्दिनँ । आफ्नै अनुहारले आतंकित बनाउँछ । एकान्त त झन् आतंक नै बन्छ हजुर । सँगै हिँडेका र चिहानमा गाडिएका सम्झाउँदै चिहान खोतल्छ । म चिहानमा गाडिएकाको चित्कार सुन्नै नसक्ने भा’छु । तब झस्कन्छु । तर, मरकस भूतले क¥याप्प समात्छ । इतिहासका किताब बिच्छु बन्छन् । चिहाने तिख्खर स्वरले लल्कार्छन्, गिज्याउँछन् । हो, प्रभु केशर र बुधनामात्रै हैन, मलाई र मजस्तालाई पनि सपनाबाट जोगाउने एउटै उपाय छ, मारकसका भूत यो संसारैबाट हटाइयोस् ।

माफ गर्नुस् हजुर । उसैले नै हो, हामीलाई सपना देखाएको नांगो कुरा भन्नुपर्दा सखाप पारेको, बिगारेको । म एउटा निर्धाे गरिब छोरोले नत्र कसरी प्रभुसँग हाकाहाकी नजर लडाउन सक्थेँ र ? त्यो बौलाएकै थियो, त्यही महाछुतरोगबाट । अब त माफ माग्छु हजुर । लेखेका चिच्याएका, आँखा तरेका, जुलुस लगाएका, बन्दुक पड्काएका, सभ्य समाजलाई हेपेका कुरा अब फच्चे भनिदिनुस् । के गरौँ लोर्के उमेरको थिएँ । ओठमाथि भर्खर रौँ आउन थालेको पट्ठो बेला थियो । तब बौलाएर घरबार छोडी र भौँतारिन थालेँ । त्यसै बौलाएको कहाँ हो र ? सोच्न भर्खर आँखा खुलेका थिए, मारकस बुटी खाएर पछुवा बनिसकेर बौलाई सकेपछि जे हुनु थियो, भयो । तब त बूढेसकालका बाबु–आमाका सहारा हुने गरिबपुत्र गाउँबाट एक्कासि अल्पियो, ख्वामित मलाई बौलाहा बनाउने त्यही दडियल मारकस बाबा नै हो ।

मेरै देशको कुरा गरौँ । कति सुन्दर, कति शान्त थियो । हिउँजस्तै चिसो थियो । भुइँमान्छेहरू खुरुखुरु हिँड्थे, लुरुलुरु मान्थे । एकदम सन्तोषी । कहिल्यै प्रभुको अहित चिताएनन् । अंग्रेजले भन्थे नि, नुनका सोझो गर्ने जाति । जब मारकस बाबाले नेपाली शासक जंगबहादुर राणालाई अंग्रेजका पाल्तु कुत्ता भनेदेखि काँचो पिशाच हाम्रो देशमा काँचो बायु बनेर पस्यो । सीधासाधा अछामी गाउँले बलदेव शाही बाँकावीरले जंगेलाई लल्कारे, तिलगंगाका तरबारी धारमा परे । साहेबबहादुरलाई सहयोग गर्न जंगबहादुरसँगै अवध पुगेका सिपाही लखन थापा विद्रोही बनेर फर्के । कस्तो बुटी हो, मारकस बाबाको ? पढ्न कलकत्ता गएका डोला दशरथ चन्द नारद व्यास र कस्मिरी खानसँग भेट्न नागपुर पुगेछन् । तब के चाहिन्थ्यो ? उनलाई मारकस–पिशाच लागेछ । मर्न देश आए । आफूमात्रै कहाँ हो र ? दौँतरीलाई पनि निम्त्याए । तिनकै सालिक माथि ठडिए, हाम्रा महाराज महासहिद बनेर ।

मारकस–पिशाच लागेर बौलाएका धेरै मान्छे छन् । कतिका परिवार बिगा¥यो, कामी बूढा, भीमदत्त पन्त, कोइली थरुनी, गुम्रा थारु, दुर्गानन्द झा, शमशेरबहादुर विष्ट, मायाराम रेग्मी, दशरथ चेपाङ, सूर्य तामाङ, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, रत्न बान्तवा, बैजनाथ गुप्ता, दिलबहादुर रम्तेल, सुरेश वाग्ले, नरेश खटिक, दयानिधि बर्मा कतिका नाम लिउँ ? यी सबै त्यही पिशाच लागेर बौलाउँदै इहलीला सकेका मुुन्छे । पहाडी थिए, मधेसी थिए, थारू, चेपाङ, गुरुङ र राई–लिम्बू थिए । हिमाल–तराई, पूर्व–पश्चिम, महिला–पुरुष सबै भुइँमान्छेले आफ्ना लागि घारो र कात्रो स्वयंले बोकेर मर्न लस्कर लागे, आफ्नै आँखाले देखेको हँु । यस्तो समय आयो कि मर्न नेपालीहरू मारकस बुटी खाएरै बौलाए हजुर ।

त्यसको काँचो बायु नउतारे नेपालका मात्रै होइन, संसारकै सभ्य मान्छेहरूले आउँदो समयमा पनि चयन पाउँदैनन् र बौलाउनेछन् । कष्ट भोग्नुपर्ने छ । निन्दा सुरु हुन्छ । प्रभुका जयगान होइन, आँखा तर्नेछन् । बौलाएका मान्छेले केके गरेनन् र ? मारकस–पिशाचको बल अचम्मै हुँदोरहेछ । त्यो छुतको रोग उतारे संसारमा मजस्तै मेरा केशर र बुधना पनि सद्दे मान्छेमा फेरिन्थे कि ? त्यसैले उनको लन्डन हाइगेटको चिहानमा गाडिएको लास उधिनेर हेग अदालतमा उभ्याउँदै न्याय गरिए पिशाच जरुर उत्रिने छ । मारकस–पिचासलाई न्यायका कठघरामा नउभ्याउने हो भने अरु धेरैलाई त्यो विचारले डस्ने छ हजुर । यो प्रेतात्माले फेरि कसैलाई सपना नदेखाओस्, नडसोस् र हरेक प्रकारका प्रभुलाई आइन्दा चुनौती दिने हिम्मत कहिल्यै–कसैले नगरोस् ।

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad