१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तिलोत्तमा गोल्डकपकाे उपाधि दाफिन्सलाई

रुपन्देही - पाहुना टोली दाउफिन्स एफसी क्यामरुनले २१औं तिलोत्तमा गोल्डकपको उपाधि उचाल्दै सिजनको ह्याट्रिक गरेको छ। बुढासुब्बा गोल्डकपको बदला लिने दाउमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई सडनडेथमा ६–५ ले स्तब्ध पार्दै दाउफिन्सले तिलोत्तमा गोल्डकपको उपाधि उचालेको हो। 

योसहित दाउफिन्सले यो सिजनमा सञ्चालित तीन ठूला प्रतियोगिता जितेर ह्याट्रिक गर्न सफल भयो। दाउफिन्सले बुढासुब्बासहित मनकामना केवलकार पोखरा कपको उपाधि चुमिसकेको छ।  पुलिसले भने यो सिजनमा खप्तड कपको उपाधि मात्रै पाएको छ।  विजेता दाउफिन्सले नगद ८ लाख ८० हजार प्राप्त गरेको छ। उपविजेतामा सीमित नेपाल पुलिस क्लबले ५ लाख ५० हजारमा चित्त बुझाएको छ।

सोमबार बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा गोल हुन नसकेपछि नतिजाका लागि खेल सीधै पेनाल्टी सुटआउट गराइएको थियो। पेनाल्टी सुटआउटमा ५–५ को बराबरी भएपछि खेल सडन डेथमा  धकेलियो, जसमा दाउफिन्स एफसी भाग्यमानी बन्यो। । पुलिसका तेज तामाङको प्रहारलाई दाउफिन्सका गोलकिपर प्रिसोले रोकेसँगै दाउफिन्सका नियाले सडन डेथमा गरेको प्रहारले जाली चुमेपछि टोलीले उपाधि कब्जा गर्‍यो । 

पुलिस र दाफिन्सबीचको फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक बन्यो। पुलिसले दाउफिन्सलाई खेल अवधिभर पूरै दबाबमा राखेको थियो। पुलिसले २० मिनेटभित्र नतिजा निकाल्ने रणनीतिका साथ मैदान उत्रेको भए पनि त्यो अनुसार खेल अघि बढेन।
टाइब्रेकरमा दाउफिन्सका लागि जो अगोला, पेटांग, इकेवोङ, प्रेसो, एनजामाले गोल गरेका थिए। नेपाल पुलिसका लागि अमित भण्डारी, भरत शाह, रवि पासवान, तीर्थ रानामगर, सुमन लामाले गोल गरे। 

नेपाल पुसिल क्लबले धरानमा भएको बुढासुब्बा कप फाइनलमा दाउफिन्ससँग सडनडेथमै हार ब्यहोरेको थियो। 

प्रतियोगितामा लाली रूपन्देही ११ का आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडी  भए। उनले यामाहाको स्कुटी पुरस्कारस्वरूप प्राप्त गरे। यसै गरी उत्कृष्ट गोलरक्षक दाउफिन्सका प्रिसो, उत्कृष्ट मिडफिल्डर पुलिसका हेम तामाङ, उत्कृष्ट फरवार्ड पुलिसकै रवि पासवान, उत्कृष्ट प्रशिक्षक अनन्तराज थापा र उत्कृष्ट डिफेन्डर पुलिसकै विक्रम धिमाल बने। विधागत रूपमा उत्कृष्ट भएका खेलाडीहरूले जनही नगद २५ हजार र कप तथा प्रमाणपत्र प्राप्त गरे। विजयी समूह र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरे।

प्रकाशित: १३ फाल्गुन २०७५ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App