२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी सेमिफाइनलमा

हिमालयन शेर्पाविरुद्ध गोल गरेपछि म्यान अफ दी म्याच नवयुग श्रेष्ठसँगै आर्मीका खेलाडीहरू खुसीयाली मनाउँदै। तस्बिर : उमेश पुन/नागरिक

पोखरा –  मध्यान्तरपछि उत्कृष्ट फुटबल पस्किँदै कमब्याक गरेको त्रिभुवन आर्मी  क्लबले १७औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गरेको छ। अघिल्लो दिन मात्रै भुटानबाट मोफसलकै उत्कृष्ट प्रतियोगिता आहा रारा गोल्डकप खेल्न पोखरा आइपुगेको आर्मीले हिमालयन शेर्पाको चुनौतीलाई ३–१ गोलले पन्छाउँदै सिजनको दोस्रो उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको हो। 

डेढ महिनाअघि इटहरीमा आयोजित मदन भण्डारी गोल्डकपको उपाधि उचालेको आर्मीले सिजनको दोस्रो उपाधि उचाल्ने लयमा देखिँदा पोखराको मैदानमा नवयुग श्रेष्ठ छाए। पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गरेपछि आर्मी एकाएक खेलमा फर्किएको थियो। नवयुग श्रेष्ठले गोल गरेपछि आर्मीले खेलमा पुनरागमन गर्‍यो। 

खेलको २७औं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिँदै आर्मीमाथि दबाब सिर्जना गरिरह्यो। त्रिदेव गुरुङले मिलाइदिएको पासलाई अफ्रिकन खेलाडी प्याट्रिक गोहाले हानेको प्रहारले जाली चुमेपछि शेर्पाका खेलाडीमा उल्लास छायो। पहिलो हाफमा आर्मीले बराबरीको अवस्थामा आउन निकै मिहिनेत गर्‍यो। तर सम्भावना भने कमजोर बन्यो। शेर्पाले ३१औं मिनेटमा पनि अर्को अवसरलाई गुमाउन पुग्यो। दोब्बर अग्रता बनाउने अवसरको रूपमा रहे पनि शेर्पाका त्रिदेवले हानेको बल आर्मीका गोलकिपर विकेश कुथुकै हातमा पर्‍यो। 

आर्मीलाई खेलमा फर्किन ७१ मिनेटको समय लाग्यो। सन्तोष तामाङले मिलाइदिएको फ्रिकिक पासलाई नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई कमब्याक गराए। श्रेष्ठको हेडिङ बलले जाली चुमेपछि आर्मीको आत्मविश्वास ह्वात्तै चुलिँदा शेर्पाको जोस भने मत्थर हुन पुग्यो। खेलमा फर्किएको आर्मीले दोस्रो गोल भने ७९औं मिनेटमा सम्भव बनायो। नवयुग श्रेष्ठले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई जिततर्फ डोर्‍याए। 

शेर्पाका खेलाडीले ब्याक पास दिने क्रममा बल खोस्दै जर्जप्रिन्स कार्कीले अफसाइड लाइन बिट गर्दै नवयुगले ‘चिप’ गरेको बलले जाली हल्लायो। सेन्टरलाइननजिकै डिफेन्ससँगै रहेका नवयुगले शेर्पाका गोलकिपर किशोर गिरी अगाडि बढेको अवस्थामा बललाई हल्का चिप गरिदिए। दोस्रो गोल आर्मीले काउन्टर एट्याकमा गर्दै शेर्पाको उत्साहलाई शिथिल बनाएको थियो। 

आर्मीले तेस्रो गोल भने अतिरिक्त समयमा हान्यो। भरत खवासले हानेको सटलाई शेर्पाका गोलकिपर गिरीले डाइभ सेभ गर्ने क्रममा हातबाट रिफ्लेक्ट बललाई जर्ज प्रिन्स कार्कीले खाली पोस्टमा गोल गर्दै आर्मीलाई जितको अन्तर फराकिलो बनाउँदै सेमिफाइनल सुरक्षित बनाए। एक गोलले अग्रता बनाइरहँदा शेर्पाले डिफेन्सप्रति केही हेलचेक्र्याइँ गरेपछि बराबरी गोल खान पुग्यो। नवयुग श्रेष्ठले हानेको त्यही गोलबाट आर्मीले कमब्याक गरेको थियो। दुई गोल गरेका नवयुग खेलमा म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कारस्वरूप थापे। 

आर्मीले पहिलो हाफमा पनि अवसर भने नपाएको होइन। तर सदुपयोग गर्नबाट चुकेपछि पहिलो हाफ एक गोलले पछि पर्दै टुंग्याएको थियो। १५औं मिनेटमा सन्तोष गुरुङले वान भर्सेस वानको अवस्थाको अवसरलाई खेर फाले। शेर्पाका गोलकिपर गिरीले गुरुङको प्रहारलाई बचाएका थिए। ६७औं मिनेटमा जर्ज प्रिन्स कार्कीले उपलब्ध गराइदिएको पासलाई आर्मीका विवेक बस्नेतले बाहिर फालिदिए। अनमार्क रहेका बस्नेतले हानेको हेड बल पोस्टभन्दा केही इन्चले मात्रै बाहिँरिदा बेन्चका बसेको खेलाडी उत्साहित देखिँदै अन्तत निराश बस्न बाध्य भएका थिए। 

‘भुटानबाट खेलेर आएको खेलाडी निकै थकित छन्। पहिलो हाफ आर्मीले आफ्नो पुरानो लयको खेल देखाउनै सकेन,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानले भने, ‘दोस्रो हाफमा लयमा रहेपछि आर्मीले जित निकाल्यो। वान भर्सेस वानको अवस्थामा पहिलो हाफमा गोल गरेको भए नतिजा अझै फरक आउने थियो।’  

हिमालयन शेर्पाका टोली व्यवस्थापक विजेन्द्र पुडासैनीले पहिलो खेलभन्दा निकै सुधारिएको खेल प्रस्तुत गरेको बताउँदै खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको अभिव्यक्ति दिए। ‘अग्रता जोगाउन नसक्नु नै  टोलीको कमजोरी रह्यो। काउन्टर एट्याकमा गोल खानु नै हारको टर्निङ प्वान्ट बन्यो,’ पुडासैनीले थपे। प्रतियोगिताको सोमबार सिक्किम युनाइटेड भारतले रुस्लान थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App