१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विवादित बालुवा खानी पुनः सञ्चालनमा ल्याइँदै कृष्ण किसी

भक्तपुरमा बन्द गरिएका बालुवा खानी पुनः खुल्ने भएका छन्। तत्कालिन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भई बन्द भएका जिल्लाका खानी पुनः खुल्ने भएका हुन्।

अनियमित रूपमा चलेको उजुरीका आधारमा करिव चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कब्जामा लिएको बालुवा खानी सञ्चालनसम्बन्धी फाइल हालको जिल्ला समन्वय समिति (पहिलाको जिल्ला विकास समिति) लाई फिर्ता भएपछि खानी सञ्चालनको बाटो खुलेको हो।

भक्तपुरमा रहेका सबै बालुवा खानी चाँगुनारायण नगरपालिका क्षेत्रभित्र पर्छन्। स्थानीय ऐनले स्थानीय स्रोतसाधनको सञ्चालन, अनुमति, व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएपछि चाँगुनारायण नगरपालिकाले प्रक्रिया अगाडि बढाएको हो। चाँगुनारायण नगरपालिकाले पहिलेका खानी सञ्चालकलाई आधिकारिक कागजात नगरपालिकामा उपलब्ध गराउन सूचना जारी गरी खानी सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढाएको हो।

चाँगुनारायण नगरपालिकाद्वारा गठित खानी सञ्चालन सम्बन्धी सिफारिस समितिका संयोजक एवं चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालका वडा अध्यक्ष परासर सापकोटाले छिट्टै खानी सञ्चालनमा ल्याउने जनाए। ‘हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं, अब छिट्टै सञ्चालनमा आउँछन्,’ उनले नागरिकसँंग भने, ‘तर, अहिले नै मिति भने निश्चित गर्न गाह्रो हुन्छ।’ 

पछिल्लो नगरसभाले काम अगाडि बढाउन निर्देशनसमेत भएको उनले सुनाए। नगरसभाले खानी सञ्चालनसम्बन्धी कार्यविधिसमेत तयार गरिसकेको उनले जानकारी गराए।

केही खानी चाँगुनारायण नगरपालिका वडा नं ३ भित्र पनि पर्छन्। चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलका वडा अध्यक्ष श्यामसुन्दर धिमालले बालुवा झिक्न नपाएर समस्या भएकाले नगरपालिकाले बालुवा खानी सञ्चालन गर्न दिने निर्णय गरेको जनाए। बालुवा खानी सञ्चालन नहुँदा पुनर्निर्माणमासमेत समस्या परेकाले खानी सञ्चालन गर्न दिन लागेको उनले सुनाए।  

नगरपालिकाका अनुसार नगरपालिकाभित्र १८ बालुवा खानी छन्। तिनीहरूमध्ये १२ चल्नसक्ने अवस्थामा छन्। अरु खानी सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको बताइएको छ। भौगोलिक अवस्थाका कारण पनि केही खानी सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा पुगेको बताइएको छ। 

भक्तपुरको बालुवा खानी विवादित छ। अबैध रूपमा चोरी निकासी हुँदा बालुवा खानी विवादमा परेको हो। 
जथाभावी बालुवा निकालिँदा स्थानीय असन्तुष्ट  छन्। यसले भूक्षयलगायत समस्या देखिएको उनीहरूको भनाइ छ। बालुवामा पुरिएर पटक–पटक मजदुरको मृत्यु हुनेलगायत गरेको छ। 

खानी सञ्चालनकै कारण विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर भासिने खतरा छ। 

खानी सञ्चालन गर्न दिने निर्णयको व्यवसायीले भने स्वागत गरेका छन्। यहाँका खानी व्यवसायीले स्थानीय तहमा जनप्रतिनिधि बहाली भएपछि पटकपटक खानी सञ्चालन गर्ने वातावरण बनाइदिन माग गर्दै आएका थिए। उनीहरूले पटक–पटक जनप्रतिनिधिलाई ज्ञापनपत्र दिँदै खानी सञ्चालन स्वीकृति दिन भन्दै आएका थिए। यसअघि पनि बन्द गरिएका खानीबाट बालुवा चोरी भने रोकिएको थिएन। 

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App