१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रसुवागढी नाका जोड्ने दुबै सडकलाई प्राथमिकता : मुख्यमन्त्री पौडेल

तस्बिर : रसुवागढीमा अवलोकन गर्दै मुख्यमन्त्री डोरमणि पौडेल

रसुवा, फागुन १२ (नागरिक) – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवैतर्फको सडकको व्यवस्थापन गर्नुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। नाका अवलोकनका लागि आइतबार रसुवागढी पुगेका मुख्यमन्त्री पौडेलले दुवै सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। वार्षिक रूपमा अर्बौं राजस्व उठ्ने गरे पनि सडकको दुरवस्था देखेर उनले दुःख व्यक्त गरे।

‘नाकाबाट वार्षिक रूपमा अर्बौंको राजस्व उठ्ने गरेको छ,’ उनले भने, ‘तर नाका सञ्चालन भएको लामो समय हुँदा पनि सडकको स्तरोन्नति भएको देखिएन।’ पासाङल्हामु सडकको अवस्था नाजुक भएको र गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी सडक महिनौं बितिसक्दा समेत सञ्चालनमा आउन नसकेको स्थानीयले गुनासो गरेका थिए। समस्या सम्बोधन गर्ने कुरामा प्रदेश सरकार गम्भीर रहेको उनले बताए। ‘धेरै ठाउँमा सडकको मापदण्डले समस्या ल्याएको छ,’ उनले भने, ‘बस्ती नै उठिबास हुने अवस्थामा समयमै सोचिएन भने दीर्घकालीन समस्या आउँछ।’ प्रदेश सरकारको अधिकारभित्र रहेका सडकलाई व्यवस्थापन गर्ने उनको भनाइ छ। ‘एकातिर हामीलाई सडक पनि चाहिएको छ,’ उनले भने, ‘विकास सँगै विनाश हुने खतरा पनि उत्तिकै छ।’

चीनको केरुङ जान निजी सवारी तथा मोटरसाइकललाई निर्बाध रूपमा सञ्चालन गर्न दिनुपर्ने गोसाइँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष कारग्याल्मो श्रेष्ठले बताए। ‘निजी सवारीमा अवैध सामग्री आउँछ भनेर सवारी सञ्चालन गर्न नदिनु राम्रो कुरा होइन,’ उनले भनिन्, ‘यसका लागि सुरक्षा व्यवस्था मिलाउनुपर्छ।’ यसैगरी टिमुरेका स्थानीयहरूले मुख्यमन्त्रीसमक्ष सोह्रबँुदे माग राखेर ज्ञापनपत्र बुझाएका छन। मन्त्री पौडेलले आइतबार रसुवागढी नाका, चिलिमे जलविद्युत् आयोजना, ऐतिहासिक स्थल रसुवागढीको अवलोकन गरेका थिए।

प्रकाशित: १३ फाल्गुन २०७५ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App