१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यामकुमारीको आकांक्षा

काठमाडौं- रोल क्रम मिचिएन भने यामकुमारी खतिवडा अब एक वर्ष पुग्दानपुग्दै निजामती सेवाअन्तर्गत सचिव (विशिष्ट श्रेणी) हुनेछिन्। पूर्वी पहाडी जिल्ला ओखलढुंगाको दुर्गम गाउँमा जन्मेकी खतिवडा अहिले उद्योग मन्त्रालयमा सहसचिव छन्। सानो संघर्ष र मेहनतले उनी यो अवस्थामा आएकी होइनन्। स्कुले जीवन सम्झँदा उनी आफैं अचम्भित छिन्। 'दुई घन्टा हिँडेर स्कुल जानुपर्थ्यो,' सिंहदरबारको मन्त्रालयभित्र स्कुले जीवनलाई स्मरण गर्दै भनिन्, 'त्यतिबेला छोरीहरूले पढ्न कठिन थियो।'

उनी आफ्ना आमाबाबुको देनलाई गर्वका साथ तारिफ गर्छिन्, 'मेरा बुवाआमाले वातावरण नदिएको भए अहिले कहाँ हुन्थें होला? आफूले संघर्ष गर्नु त स्वाभाविक हो।'

मुलुकको राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसके पनि निजामती क्षेत्रको सर्वोच्च पद मुख्यसचिवमा  महिला पुगेका छैनन्। त्यहाँ आफू पुग्नेमा खतिवडा आशावादी छिन्। 'भाग्यले साथ देला–नदेला,' उनले भनिन्, 'अवसर पाए मुख्यसचिवको नेतृत्व गर्न सक्षम छु।'

खतिवडा ०५१ सालमा संसद् सेवाको शाखाअधिकृत पदबाट निजामती सेवामा प्रवेश गरेकी हुन्। उमेर ४६ वर्ष मात्र पुगेकाले मुख्यसचिव पदसम्म पुग्न उनलाई योग्यता र क्षमताले रोक्ने छैन।

गाउँको विद्यालयमा दुःखजिलो गरेर पढेकी खतिवडा तीन विषयमा स्नातकोत्तर छिन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र, सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी खतिवडाले कोरियाको केडिआई स्कुल अफ पब्लिक पोलिसी एन्ड म्यानेजमेन्टबाट पब्लिक पोलिसीमा समेत स्नातकोत्तर गरेकी छन्। उनी कानुनमा पनि स्नातक हुन्।

निजामतीमा समावेशी नीति नआउँदै खुला प्रतिस्पर्धाबाट २३ वर्षको उमेरमै शाखाअधिकृतबाट सेवा प्रवेश गरेकी उनी चार वर्षमै उपसचिवमा बढुवा भइन्। त्यसपछि खुला प्रतिस्पर्धाबाट नौ वर्षमा सहसचिव भएकी हुन्। संसद्पछि ६ वर्ष प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागको महानिर्देशक हुँदै अहिले उद्योग मन्त्रालयमा कार्यरत छन्। कर्मचारी वृत्तमा आकर्षक (कमाउ) भनिने विभागमा महŒवपूर्ण जिम्मेवारी पाउँदा पनि उनी त्यसमा नगएर नीति–निर्माणमा संलग्न छिन्।

जिल्लामा काम गर्ने इच्छा भए पनि व्यक्तिगत कारणले जान नपाएको बताइन्। गृह सेवामा रहँदा प्रमुख जिल्ला अधिकारी (सिडिओ), स्थानीय विकास अधिकारी (एलडिओ) हुने असाध्यै रहर भएर पनि आफ्नै कारणले जान नपाएको बताइन्। 'प्रत्यक्ष जनतालाई सेवा दिने र वस्तुस्थिति बुझ्न सिडिओ हुने असाध्यै रुचि थियो,' उनले भनिन्, 'तर, परिवार व्यवस्थापन गर्नुपरेकाले त्यो अवसरबाट वञ्चित भएँ।'

सिडिओ, एलडिओ भएर जिल्लामा नघुमे पनि विकट स्थानमा पुगेर स्थानीयसँगको समस्यासँग प्रत्यक्ष संलग्न भएको उनले सुनाइन्।

'कस्तो पोलिसी बनाउनुपर्छ भन्नेमा सचेत छु,' उनले भनिन्।

निजामती प्रशासनमा धेरै कमजोरी भएको उनी स्वीकार गर्छिन्। 'कमजोरी धेरै नै भए पनि सरकारी कामको भूमिका परिवर्तन भएको छ,' उनी भन्छिन्, 'परिस्थितिअनुसार धेरै फेरिएको छ।'

सरकारका प्राथमिकता फेरिएको र  जनतामा चेतना धेरै छिटो वृद्धि भएको उनको बुझाइ छ। 'जनताको अपेक्षा निकै बढी भयो,' उनी भन्छिन्, 'सरकारको पहुँच कम छ।'

सामाजिक संस्कारको प्रतिविम्ब पढेलेखेका भनिने कर्मचारीतन्त्रमा पनि देखिएको उनको गुनासो छ। 'सरकारी सेवा पनि जेन्डर फ्रेन्डली हुन सकेको छैन,' उनले भनिन्, 'महिला कर्मचारीलाई अलिकति महŒवपूर्ण जिम्मेवारी दिन आशंका गर्ने गरिन्छ।'

आफूले काम गरेर प्रमाणित नगर्दासम्म अवसर नपाउने गरेको उनले बताइन्।

बिहान ९ बजेदेखि मन्त्रालयको काम, सभा, सम्मेलन, भेटघाटमा व्यस्त हुँदा साँझ अबेर ७–८ बजेसम्म मन्त्रालयमा भेटिने खतिवडा महिला भएकै कारण कतिपय सूचनाबाट वञ्चित हुने गरेको अनुभव सुनाइन्। 'महिला भएकैले औपचारिक कार्यक्रममा मात्र सहभागी हुन्छु,' उनले भनिन्, 'अनौपचारिक सम्बन्धबाट धेरै सूचना थाहा हुन्छ। सूचना पावर हो। पुरुष कर्मचारी गेटटुगेदर, लन्च लगायतमा सहभागी हुने हुँदा धेरै सूचना प्राप्त गर्छन्।'

जिम्मेवारी सम्हाल्न पुरुषभन्दा महिला बढ्ता सचेत हुने गरेको उनको अनुभव छ। 'पुरुष हुनासाथ सजिलै गरिहाल्छ भन्ने बुझाइ छ,' उनले भनिन्, 'तर, हामीलाई जिम्मेवारी दिन केही हिच्किचाउने चलन छ।'

खतिवडाकै नेतृत्वमा मस्यौदा भएको औद्योगिक व्यवसाय ऐन भर्खर संसद्बाट पारित भएको छ। विदेशी लगानी नीति, गरिबीको रेखाभन्दा तल रहेकालाई उद्यमशील बनाउन नीतिगत परिवर्तनमा उनी निरन्तर खटिरहेकी छिन्।

प्रकाशित: २२ आश्विन २०७३ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App