१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भ्वाइस सेवाका ग्राहक चार करोड

काठमाडौं – मोबाइल र टेलिफोन सेवाका ग्राहकको संख्या झण्डै चार करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भ्वाइस सेवा लिने ग्राहक पछिल्लो समय उल्लेख्य रुपमा बढेका छन्। 

मोबाइल सेवा प्रदायकले वितरण गरेका सिमका आधारमा ग्राहकको संख्या मुलुकको जनसंख्याभन्दा झन्डै एक करोडले धेरै देखिएको छ। लिएका सबै सिम प्रयोग नहुने हुँदा वास्तविक सक्रिय प्रयोगकर्ताको संख्या भने कम हुन्छ। प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकका सक्रिय ग्राहकको विवरण समेत सार्वजनिक गर्ने बताएको छ।  

तथ्यांक अनुसार भ्वाइस सेवा का ग्राहक संख्या तीन करोड ९७ लाख ५६ हजारभन्दा धेरै छ। यो संख्या हालको देशको जनसंख्याभन्दा एक करोडले धेरै हो। मुलुकको हालको जनसंख्या दुई करोड ९८ लाख पुगेको छ। प्राधिकरणका अनुसार भ्वाइस सेवा लिने ग्राहकको संख्या एक सय ३५ प्रतिशतभन्दा माथि पुगेको छ। 

भ्वाइस सेवा लिने ग्राहकमध्ये अधिकांश मोबाइलका ग्राहक छन् भने केही मात्रामा फिक्स्ड लाइनका छन्। तथ्यांक अनुसार कुल ग्राहकमध्ये झण्डै एक सय ३३ प्रतिशत मोबाइलका र तीन प्रतिशत फिक्स्ड लाइनका रहेका छन्। 

यी ग्राहक मुलुकमा सञ्चालनमा रहेका चारवटा दूरसञ्चार सेवा प्रदायकसँग जोडिएका छन्। मुलुकभर सञ्चालनमा रहेका ६ वटा दूरसञ्चार सेवा प्रदायकमध्ये नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइटका ग्राहक उपलब्ध भए पनि युटिएल र सिजीको ग्राहकबारे प्राधिकरणले विवरणमा उल्लेख गरेको छैन। 

विवरण अनुसार नेपाल टेलिकम र एनसेलको ग्राहकमा प्रतिस्पर्धा देखिन्छ। अन्य दुईको ग्राहक धेरै कम देखिन्छ। नेपाल टेलिकमको ग्राहक संख्या दुई करोड १० लाख ९८ हजार छ। यो संख्या उसको मोबाइल र फिक्स्ड लाइन सेवाका हुन्। उसका मोबाइल ग्राहक एक करोड ८६ लाख ७३ हजार छन् भने पिएसटिएनका ग्राहक ६ लाख ७६ हजार र सिडिएमएका १६ लाख छन्। 

त्यसैगरी, एनसेलको ग्राहक संख्या एक करोड ६३ लाख ४१ हजार रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै, नेपाल स्याटेलाइट ग्राहक ३ लाख २८ हजार र स्मार्ट टेलिकमका ग्राहक १९ लाख ३५ हजार छन्। अन्यमा एक हजार सात सय ग्राहक रहेका छन्। 

मुलुकभर इन्टरनेट ब्रोडब्यान्डका ग्राहक ५६.४१ प्रतिशत पुगेको छ। फिक्स्ड ब्रोडब्यान्ड तथा थ्रिजी र फोरजीको ग्राहक संख्याका आधारमा कुल ५६ प्रतिशतभन्दा धेरै जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेट पुगेको देखिन्छ। तथ्यांक अनुसार मोबाइल ब्रोडब्यान्ड ४३.६६ प्रतिशतमा पुगेको छ। तारसहितको फिक्स्ड ब्रोडब्यान्ड ११.४९ प्रतिशत र ताररहित फिक्स्ड लाइनको ब्रोडब्यान्ड १.२६ प्रतिशतमा पुगेको छ। फिक्स्ड लाइनमा एक जडान बराबर झण्डै पाँच ग्राहक मानिन्छ। 

तथ्यांकअनुसार मुलुकभर एक करोड ६५ लाख २३ हजार जनसंख्याले ब्रोडब्यान्ड इन्टरनेट चलाउँछ। यसमध्ये मोबाइलबाट फोरजी र थ्रिजी चलाउनेको संख्या एक करोड २६ लाख ५२ हजार छ। 

इन्टरनेट सेवा प्रदायकहरुको तारसहित फिक्स्ड लाइन चलाउनेको संख्या २३ लाख ५० हजार छ। ताररहित फिक्स्ड लाइन इन्टरनेट चलाउनको संख्या दुई लाख ८० हजारभन्दा धेरै छ। 

बजार हिस्सा हेर्ने हो भने मोबाइलको बजार ९८ प्रतिशत र अन्य सेवाको दुई प्रतिशतमात्र छ। कम्पनीहरुको बजार हेर्दा नेपाल टेलिकमको ५३ प्रतिशत र एनसेलको ४१ प्रतिशत छ। स्मार्ट टेलिकमको पाँच प्रतिशत र नेपाल स्याटेलाइटको एक प्रतिशत रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App