१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शक्ति रूपेण संस्थिता

काठमाडौं– या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

या देवी सर्वभूतेषु मातृ रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

नेपाली समाजले वर्षौंदेखि यो शारदीय याममा टुप्लुक्क आइपुग्ने दसैं पर्वमा शक्ति सम्पन्न देवीहरूको आराधना गर्दै आएको छ। दुर्गा शप्तसति पाठका यी पंक्तिले देवतालाई समेत आसुरी शक्तिबाट आपत् आइलाग्दा यिनै मातृ स्वरुपका देवीहरूले रक्षा गर्दै आएको हामीलाई सम्झाउँदै आएको छ।

शास्त्रमै नारी शक्तिको यत्रो महिमा हुँदाहुँदै पनि व्यावहारिक जीवनमा अहिलेसम्म त्यसलाई पूर्ण अनुभूत गर्न सकिएको अवस्था छैन। यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता (जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता समेत खुसी हुन्छन्) भन्ने उदात्त भावना बोकेको हाम्रो पूर्वीय शास्त्र, सभ्यता वा संस्कृति सामाजिक जीवनमा पूर्ण रूपमा प्रतिविम्बित हुन नपाएको हामीलाई महसुस हुन्छ।

देशलाई समृद्धिको बाटोमा लैजान, लोकतन्त्रलाई जनस्तरसम्म पुर्‍याउन, संविधान पालना गर्न र आसुरी शक्तिबाट नागरिकलाई जोगाउन मातृशक्तिले भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ।

यद्यपि समयसँगै नेपाली समाजको सामाजिक–राजनीतिक परिवर्तनको यो कालखण्डमा नारी साँच्चिकै शक्तिशाली स्थानमा आइपुगेका छन्। देशलाई समृद्धिको बाटोमा लैजान, लोकतन्त्रलाई जनस्तरसम्म पुर्‍याउन, संविधानको पालना गर्न र आसुरी शक्तिबाट नागरिकलाई जोगाउन मातृशक्तिले भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ।

७० वर्षभन्दा अघिदेखि यो मुलुक निरन्तर राजनीतिक परिवर्तनको मार्गमा अग्रसर छ। आधुनिकीकरणको बाटोमा हिँडेको पनि यत्तिकै लामो समय भइसकेको छ। पश्चिमा धेरै मुलुकले यति छोटो समयमा प्राप्त नगरेको राजनीतिक र सामाजिक परिवर्तन हासिल गर्न हामी सक्षम भएका छौं।

मुलुकका प्रमुख सर्वोच्च पदमा नारीको उपस्थितिको चर्चा देवीको आराधना भइरहेको यो समयमा गर्नु उपयुक्त हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्की आदि सर्वोच्च स्थानमा रहेका नारीको उपस्थितिले मुलुकको विषम परिस्थितिलाई नाश गरोस् भन्ने अपेक्षा चौतर्फी भइरहेको छ।

संविधान पालनाका निम्ति राष्ट्रपति भण्डारीले गर्न सक्ने योगदान विगतका राजा–महाराजाको भन्दा कम नहुने र अग्रगामी हुने स्पष्ट संकेत देखिइसकेको छ। सभामुख घर्तीले संसदीय सर्वोच्चताको गरिमा बढाउँदै समाजिक न्यायका निम्ति निर्वाह गर्न सक्ने भूमिका ठूलो छ। उनले खेल्ने प्रभावकारी भूमिकाले त्यो संस्थाको गरिमा मात्र बढाउने छैन, समग्रमा जनप्रतिनिधिले गुमाउँदै गएको साख पनि पुनःस्थापित हुनेछ।

इतिहासमै पहिलोपटक सर्वोच्च अदालतको नेतृत्व गर्ने अवसर प्रधानन्यायाधीश कार्कीलाई यसै वर्ष आएको हो। नारी राज्यको शक्तिशालीमा पदमा पुगेको अर्थमा पनि नेपालीका लागि यो वर्षको दसैं अर्थपूर्ण छ। उनको निर्भीक व्यक्तित्व र निष्कलंक छविले निश्चय पनि मुलुकमा छाएको निराशाको कालो बादल हटाउन सफल हुनेछ भन्ने आशा छ। यस अर्थमा पनि हामीले घरघरमा पाठ गर्ने दुर्गा शप्तसतिले सार्थकता पाउने अपेक्षा भइरहेको छ।

पितृसत्तात्मक हाम्रो सामाजिक संरचनाले अहिले पनि यी सर्वोच्च स्थानमा पुगेका नारीलाई आफैंले पुर्‍याएको ठान्छ। तर, क्षमता नभई ती त्यहाँ पुगेका पक्कै होइनन्। ती ठाउँमा पुगेपछि तिनले निर्वाह गर्दै आएको भूमिकाले पनि तिनको क्षमतालाई प्रतिविम्बित गरिरहेकै छ। र, यसको प्रभाव समग्रमा नेपाली समाजमा परिरहेको छ।

निर्वाचन आयोगमा रहेकी इला शर्मा हुन् वा राष्ट्रिय मानव अधिकार आयोगमा रहेकी मोहना अन्सारी। सत्य तथा मेलमिलाप आयोगका माधवी भट्ट र मञ्चला झा हुन् वा सर्वोच्च अदालतकै न्यायाधीशहरू मीरा खड्का र सपना प्रधान मल्ल, तिनले कुनै न कुनै रूपमा यो समाजमा आशाको दियो बालेका छन्।

राज्यसत्ताका सबैजसो क्षेत्रमा नारीको सशक्त हस्तक्षेप हुँदै छ। कुनै बेला राजधानीको थापाथलीको ट्राफिक व्यवस्थापन महिला प्रहरीले गरेको देख्दा समेत हामी पुलकित हुन्थ्यौं। नारी देशको सर्वोच्च स्थानमा पुग्दा त्यसले नागरिक आकांक्षालाई थप उचाइमा पुर्‍याएको छ।

आज घरघरमा रहेका आमाहरू छोरीहरूको यो प्रगति देखेर गौरवान्वित हुनुपर्छ। विश्वका कुनै पनि मुलुकमा गएर नारीले शासन गरेको मुलुकका नागरिक हौं भन्दा हाम्रो शिर झनै उचो हुनेछ। त्यसकारण, यस वर्षको दसैंमा हामीले हाम्रो राज्यका विविध शक्तिस्रोतमा पुगेका नारीको संघर्ष र सफलतालाई चर्चा गरेका छौं।

दुर्गा शप्तसतिको पाठलाई हामी समवेत स्वरमा गाउँछौं–

या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता...

प्रकाशित: २२ आश्विन २०७३ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App