१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

आइपिल ट्याब्लेट

‘ल यो खाई हाल त,’ गाडा गुलाबी रंगको ट्याब्लेट हातमा थमाउदै बोल्यो ऊ। ऊ अर्थात् सुुलभ। उसँग मेरो भेट भएको पाँच वर्ष बितिसक्यो। ऊसँगका हरेक पल मेरा लागि निकै प्रेमिल हुन्छ। ऊसँगको आत्मीयतामा बिल्कुलै फरकपन आभास गर्छु। सायद थाहै नपाई उसलाई मनमा बास दिएकी थिएँ। 

हामीबीच जे थियो, निकै मिठो थियो। हामी हप्ता–हप्तामा भेट्थ्यौं। ब्ल्याक कफीको चुस्कीपछि ऊ पागलजस्तै मलाई पछ्याउँथ्यो। हात समात्नु, अँगालो हालेर बेफिक्री बाटोमा हिँड्नु सामान्य थियो, हाम्रा लागि। छुट्टिन नसक्ने परेवा जोडीजस्तै थियौं हामी। बाहिरबाट भेट्न नपुगेपछि एक–अर्काको कोठासम्म धाउन थाल्यौं। 

आज भने उसलाई आफ्नै कोठामा ल्याएँ। जहाँ भए पनि ऊसँग समय बिताउनु मेरा लागि सुखद् पल हुन्थ्यो। उसको छातीमा टाँसिदै सोच्छु– थाहा छैन म के गर्दैछु। तर, जे गर्दैछु निकै खुसी छु। केही स्वार्थबिना, कुनै सुर्ताबिना बेफिक्री माया गरिरहेकी छु। टेबुलको पानी बोटल मेरो हातमा थमाउँदै उसले फेरी भन्यो, ‘ह्याँ कता टोलाई रा, ल छिटो औषधि खाई हाल त निस्कनुपर्छ अब।’ 

झस्किएँ। मसँग भेट्दा रमाउने र सँगै बस्न पाए हुन्थ्यो जस्तो गर्ने सुलभ एकछिनको निकटता पछि किन हतारिन्थ्यो छुट्टिन। मैले बुझ्नै सकेकी थिइनँ न त बुझ्न कोसिसै गरेँ। बस् मलाई त ऊसँग समय बिताउनु थियो, माया पाउनु थियो। 

‘छिटो खाउन न अबेर हुन्छ, खोइ मेरो लुगा ?’ ऊ कड्कियो। म उसको मायाको उपहार आइपिल ट्याब्लेट आँखा चिम्लिँदै एकै घुटमा निल्थें। आइपिल निल्दा लाग्थ्यो– संसारकै बेस्वादिलो जहर निल्दैछु। 

उसले फेरी मलाई सोध्थ्यो, ‘खोई यार केही भेट्दिनँ त।’ उसलाई हेरेर फिस्स हाँस्दै खाटमुनि आँखा डुलाएँ। मेरा सपनाजस्तै छरिएर तितरवितर भएका रहेछन् लुगा। ऊ लुगा लगाएर हतार–हतार घर जान तम्सिन्थ्यो। 
‘ल म गए हँै, कल गरुँला,’ यत्ति भन्दै ड्याम्म ढोका लागेको आवाज सुने पनि म भित्रैबाट भन्थे, ‘घर पुगेपछि कल गर न।’ उसले सुन्थ्यो सुन्थेन कहिले सोधिनँ। तर, मेरो मन भने हलुंगो हुन्थ्यो। 

सिरानीनजिकै राखिएको ल्यापटपमा जगजित सिंह कलेक्सन प्ले गर्थेँ। अनि त्यही टेबुलको घर्राबाट चुरोट निकालेर सल्काउँदै बिस्तारामा टोलाउँथे। सुलभ मेरो नजिक आउन के–के मात्र गरेन। ‘आखिर एउटा केटा, केटी भेट्नुको अन्तिम निश्कर्ष भनेको यही बिस्तारासम्म त रहेछ नि !’ आफैसँग बात मार्थे। 

अहो, आज त उसले हतारमा घडी नै बिर्सिएर पो गएछ। सुलभको घडीले टेबुलबाट मलाई हेरिरहेको थियो। 
मैले चुरोट पिउन थालेको तीन वर्ष भइसकेको थियो। सुलभसँगको सामिप्यतापछि भने दिनमा २–३ खिल्ली उडाउने भएकी थिएँ। हातका दुई औला चुरोट समात्न व्यस्त भएजस्तै यी दुई आँखा पनि अघि हामी अँगालिएको बिस्तारातिर व्यस्त भए।

बिहान उठेपछि मिलाएको बिस्तारा अहिले बिग्रिएको छ, मेरो मनजस्तै। सर्लक्क मिलाएको तन्ना खुम्चिएर एकै ठाउँमा डल्लो परेको थियो, मेरा रहरहरूजस्तै। दुई सिरानी भुइँमा लाससरी लडेका थिए, मजस्तै। फरक यति थियो की ममा सास र प्राण थियो, सिरानीमा थिएन। 

हातको चुरोट सकिएको पो रहेछ, पोलेपछि मात्र चेत पाएँ। हतारिएर नजिकैको जुठो भाँडा राखेको नीलो प्लास्टिकको बाटातिर हुत्याइदिएँ। 

म्यासेजको घन्टी बज्यो, ‘म घर पुगे है, अब पढ्नु छ, भोलि काम पनि धेरै छ, खाना खाएर सुत्नु।’ बेलुकीको खाना खान अल्छी मान्ने मलाई उसले भन्ने शब्द यही हुन्थ्यो। ‘हस्’ जवाफमा लेखें, न त्यो म्यासेज सिन हुन्थ्यो, न रिप्लाई। 
अर्को चुरोट सल्काएँ। ‘एकैछिन बोले नि हुनी,’ आफैंलाई भने। मनमा आउने यस्ता कति हो कति कुरा न उसलाई भन्न सके, न म्यासेजमा लेख्न। चुरोटसँगै ब्ल्याक कफी पिउन मन लाग्यो। अल्छी लागेकै भए पनि उठेर तातो पानी उमालें। थोरै कफी र एक चिम्टी चिनी राखी कपमा खनाएँ। म तीतो कफी नै रुचाउँछु। 
६ बजेको रहेछ, फोनको घन्टी बज्यो। उसले ४ दिनपछि कल गरेको थियो। ‘कहाँ हो ?, भेटौं न’ यताबाट बोल्न नपाई उतैबाट आवाज आयो। ‘कहाँ, कति बजे ?’ प्रतिप्रश्न गरे। 
‘म ३० मिनेटमा तिम्रो अफिस पुग्छु, रेडी हुनू,’ उसले फोन राख्यो। थाहा छैन किन, उसको आवाज सुन्नेबित्तिकै नाइँ भन्नै सक्दिनँ। 

ऊसँग बिताएका प्रत्येक पल मेरा लागि प्रिय लाग्छ। सँगै घुम्नु, उसका धेरै कुरा सुन्नु मेरो काम हुन्नथ्यो। सुनेर बस्नमै आनन्द लाग्छ मलाई। सुलभ आइपुग्यो। ‘आज मेरो घर जाउँ है ?’ उसले भन्यो, ‘कहिले पो नाई भनेकी थिएँ र ?’ 
बाहिरै खाएर गएकाले पकाउनुपर्ने झन्झट भएन। हामी एक–अर्काको अँगालोमा बाँधियौं। उसको स्पर्शले मोहित हुन्थें, बस् म हराउँथे त्यसमा। उसको छातीमा टाउको टाँसेर अँगालोमा बाँधिएकी थिएँ। अँगालोमा कसिएका बेला सोधें, ‘मेरो माया लाग्छ, हो ?’ 

‘लौ, किन नलाग्नु नि,’ उसले मेरो हात समात्दै भन्यो। मैलेजस्तै माया गर्ने मान्छे भेटेँ भनेर म झन् उसलाई अँगालोमा कस्थेँ। बिस्तारै उसको निधार, गाला, आँखा, ओठ हुँदै चिउँडोमा चुप्पा खान्थेँ। सुलभ भने केही असहज मान्दै तर्किन खोज्थ्यो। 

‘माया त लाग्छ। तर, के गर्नु ? हामी ढिला भेट भयौं, मेरो त आफ्नो मान्छे छ,’ यति सजिलै गरी बोल्यो ऊ मानौ हामीबीच केही पनि छैन, अथवा एक–आपसमा यसरी विलिन हुनु ठूलो कुरा नै होइन। म झसँग भएँ, मुटुमा बेस्सरी गाठो पर्यो। ‘अनि यो सब किन त ? मसँग केको बदला चुकाउँदै हुनुहुन्छ त ?’ सुकेको स्वरमा बोले म। यति बोल्दा असह्य पीडा भएको थियो। ‘बदला हैन, अब के भनुँ। तर हेर, मलाई धोका दिएको भनेर आरोप लाउन पाउन्नौ है। मैले तिमीलाई भनिसकेको थिएँ कि मेरो आफ्नो मान्छे छ,’ मसँगै टाँसिएर अँगालोमा हालेर बसेको ऊ भित्तातिर सर्दै भन्थ्यो। 

सास फेर्र्न सकिनँ, मुटु रोकियो, एक्कासी छातीमा तातो छुरा रोपेझैँ भयो। शब्दमा कति ताकत हुन्छ जसले मुटु छियाछिया पार्न सक्छ भनी त्यहि दिन महसुस गरेँ। आँसुलाई आँखैबाट पिउनु जति पीडा अरु केही हुँदैन, त्यो भोग्नेलाई थाहा हुन्छ। बिस्तारै कोल्टे परेँ। कराएर रुनसमेत सकिनँ। सुलभलाई सोध्न मन थियो, कति प्रश्न गर्न मन थियो। तर ऊ भने सुतिरहेको थियो।

यो कस्तो खेल समयको, ऊसँग बिताएको प्रत्येक पल सर्र स्मरण गरे। १२ बजिसकेको थियो, भुइँमा छरिएका लुगा शरीरमा भिरेर बाथरुमतिर लागेँ। बाथरुममा झुन्डाइएको ऐनामा अनुहार हेरेँ, आफ्नो खुब माया लागेर आयो, मायाभन्दा बेसी दया लाग्यो। आफूलाई सहानुभूतिसम्म दिन सकिनँ, रुममै गएँ।

उसको नजिकै उसँगै बिस्तारामा पल्टिन पनि मन लागेन, भुइँमा नै पल्टिएँ। आँखाबाट भने आँसु रोकिने नाम नै लिएको थिएन। ‘जसलाई यति धेरै माया गरेँ, जसलाई आँखा चिम्लिएर विश्वास गरेँ, आज उसैले यस्तो भन्न कसरी सक्छ ?, यति सहजै दुई शब्द भनेर ऊ कसरी निदाउन सक्छ ?’ आफूलाई यस्तै प्रश्न गर्दागर्दै रात कटेछ। मोबाइल हेरेँ, ४ बजिसकेको थियो। 

‘अब १ घन्टा बाँकी छ अनि यो कोठा छोड्छु,’ मनमनै सोचे। असह्य सकसपश्चात ५ बज्न नपाउँदै सुलभ नियालेँ। र, कोठाबाट निस्किएँ कहिल्यै नफर्कने गरी उसको जीवनमा। 

हतारहतार कोठाबाट निस्किएँ, मोबाइलमा राखेको सिम झिकेर थापाथलीको पुलबाट मिल्काइदिए। घरमा गई केही थान लुगा पोको पारेर हिँडेकी म कहाँ जान्छु, केही अत्तोपत्तो थिएन। बस् पुरानो बसपार्कको गाडीमा बसेँ। एकोहोरिरहे। गाडी कहाँ जान्छ पनि सोधिनँ।

मनमा रहेका ति तमाम प्रश्न गर्दागर्दै निदाएछुु। आँखा खोल्दा काभ्रे पुगिसकेकी थिए। गाडीको अन्तिम गन्तव्य त्यहीसम्म रहेछ। गाडीबाट ओर्लेर पानीको एउटा बोटल किनेँ। आँखा नमज्जाले पोलेको थियो, पानीले आँखा भिजाएँ। यसै त रातभर ओसिएका आँखालाई पानीले पखालेर चिया पिउन बसेँ। चिया पिउँदा–नपिउँदै दोलखा, चरिकोटको गाडी आयो। एक कप चियाको २० रूपैयाँ दिएर गाडीतिर कुदेँ। हिजोसम्मको अतीतलाई सुुलभको कोठामा नै छाडेर म नयाँ जीवनको सुरुवातमा हिँडेकी थिएँ।

उफ् ! सम्झदा त्यो घाउ आलो हुन्छ, मैले बिर्सिसकेँ। जीवनमा जे–जे परिवर्तन भयो, निकै राम्रो भएको छ। कसैप्रति केही गुनासो छैन। तर, जेहोस् तिमी धन्यवादको पात्र बनेका छौं, बिना पछुतो खुसीको जीवन जिउने कला जो सिकेकी छु। आज ६ वर्ष भएछ काठमाडांै छाडेर यता (रामेछाप) बस्न थालेको, विगत सम्झदा अस्तिजस्तै लाग्छ। जीवन भोगाइमा एउटा कुरा खुबै राम्रोसँग सिकेँ। जीवनमा कोही पनि कोहीबिना मरिहाल्ने भने रहेनछ। अब आँसु आइदिए हुन्थ्यो भन्दा नि आउँदैन, चट्टान नै भएछु क्यार। साँच्ची म कठोर भइसकेकी रहेछु। अब जिन्दगीको कुनै मोडमा पनि सुलभसँग भेटिनु मन छैन, बस्।

‘मामु, कति बोलाएँ, खोई सुनेको तिमीले ?’ म विगतमा चुर्लुम्मै डुबेकी रहेछु, पछाडि फर्किएँ, अशुंले अँगालो हालेकी रहिछिन्। अंशु, मेरो बच्चा, मेरो बाँच्ने आधार। 

‘ओहो, मेरो सानुले बोलाको सुनिनछु सरी,’ दुवै कान समाएर बोले म। अगाडिका थोते दाँत देखाउँदै हाँसी अंशु, ‘इट्स नट ओके, बट इट्स ओके’ केही ढाँचा पार्दै गालामा चुप्पा गरी। 

अंशु, मेरो सिंगो संसार हो, जसले गर्दा यो संसारमा बाँच्ने बहाना पाएकी छु। काठमाडौंबाट विरक्तिएर एक्लै भौतारिँदै हिँड्दा मसँगै आएकी रहिछिन्। थाहै पाइनँ, सुलभको रगत मेरोे शरीरमा बसेको। निरश अनि छेदविच्छेद मुटु लिएर निस्केकी म सुलभको उपहार त्यो गुलाबी ट्याब्लेट खान बिर्सिएकी रहेछु। एक मनले अंशुलाई शरीरबाट छुट्याउ कि जस्तो लाग्यो। फेरि सोचँे– यसमा अंशुको के दोष ? कसैप्रति केही गुनासो भने छैन। अब अंशु नै मेरो ‘जीवनसाथी’ भएकी छ। यो महिनामा अंशु पूरा पाँच वर्षकी हुनेछिन्। पेशाले शिक्षक हुँ। अंशुको भविष्यको लागि छ वर्षपहिले छाडेर आएको ठाउँ फेरि फर्किदैछु। भविष्यका चुनौतीलाई सामना गर्न थाहा छैन ममा कति साहस र ताकत हुनुपर्छ। तर, अंशुका अबोध आँखा नै मेरा लागि ताकत हो। 

रामेछापस्थित मिल्तीको विद्यालयमा अध्यापन गर्थे। अंशुको शिक्षाको लागि त्यहाँ बस्न उचित नलागेपछि काठमाडौं नै फर्कने निर्णण लिएँ। राजीनामापछि स्कुलका प्रिन्सिपलले काठमाडौंमा रहेका उहाँका दाजुको विद्यालयमा अंशुलाई पढ्ने र मलाई पढाउने व्यवस्था मिलाइदिए। हामी आमा–छोरीलाई छोड्न प्रिन्सिपल खड्ग थापा, घरबेटी कार्की बा, आमा र चमेली दिदी आएका थिए। अंशु सबैको प्यारी थिई। उसको हातमा चक्लेट दिँदै कार्की बाले हामीलाई भेट्न आउनु भन्नुभएको थियो। कार्की आमाका आँखा रसाएका थिए, सुक्कसुक्क गर्दै मजेत्रोले आँखा पुछ्दै थिइन्। चमेली दिदीले भने अंशुका हातमा सयको नोट दिँदै मायाले गालामा चुप्पा गरिन। यतिकैमा काठमाडौं जाने बस आइपुग्यो। हाम्रो झोला गाडीमा राख्दैै प्रिन्सिपल सर बोले, ‘ल म्याम पिर चिन्ता केही गर्नु पर्दैन। सबै व्यवस्था मिलाइसकेको छु।’ मैले हुन्छ भनी टाउको हल्लाएँ।

अंशुलाई मेरो हातमा दिँदै कार्कीनी आमाले आशीर्वाद दिन हात अगाडि बढाउनुभयो। हामी आमा–छोरी दुवैले सबैलाई नमस्कार गर्‍यौं र  बिदाईका हात हल्लायौं। 

काठमाडौंबाट रित्तो र एक्लै आएकी म अहिले छोरीलाई लिएर काठमाडौं फर्कदै थिएँ। काठमाडौंमा हाम्रो स्वागतमा प्रिन्सिपलका दाजु रमननाथ आउनुभएको रहेछ। एकछिनको चिनजानपछि हाम्रो लागि घर देखाउँदै रमननाथले भने, ‘यो घर यहाँहरूको लागि, स्कुलको गाडी बिहान लिन आउँछ।’ अंशुलाई भोलिबाट स्कुल आउँ है भन्दै रमननाथ हामीसँग बिदा भए। कोटेश्वरमा रहेको घर हाम्रै लागि बनाएकोजस्तै थियो। दुई तले घर भए पनि हामी माथिल्लो फ्ल्याटमा बस्थ्यौं। भुइँतलामा भने घर रेखदेख गर्ने दिदी बस्ने रहिछिन्।

अंशु सँगै ९ बजे स्कुलको लागि रेडी भई गाडी कुर्नु हाम्रो दैनिकी बन्यो। अंशुको पढाइप्रतिको लगाब देखेर सबै टिचर खुसी थिए। अंशु सबैलाई माया गर्थी, सबै साथीलाई उत्तिकै सहयोग पनि। कक्षाभरका विद्यार्थीमध्ये अंशु अर्जुलाई बढी माया गर्थी। ऊ भन्थी– उनीहरू बेस्ट फ्रेन्ड रे। एकदिन अंशुले अफिस कोठाबाट हात तान्दै मलाई बाहिर लिएर आई। त्यो अनुहार चिनेजस्तो थियो। ‘सन्ध्या हैन ?’ म पनि दंग पर्दै सुधा हैन भने। हामी कलेजमा सँगै पढेका साथी। कलेज सकिएपछिको पहिलो भेट। ‘अंशु तिम्रो छोरी हो ? नानु सधैँ अंशुकै कुरा गर्छे,’ अंशुलाई मायाले स्पर्श गर्दै बोली ऊ। ‘हो नि, भेट भयो कति खुसी लाग्यो,’ मैले भने। ‘भोलि नानुको जन्मदिन, जसरी नि आउनुपर्छ, अंशु नभए केक काट्दिनँ भनेकी छ,’ अंशु र अर्जुलाई हेर्दै उसले भनी। हात समात्दै अंशु बोली, ‘आमु, जाने ल, प्लिच’ उसको आखामा चमक थियो छुट्टै। ‘हुन्छ, हामी आउँछौ,’ मैले भने। मोबाइल नम्बर र घरको नम्बर अनि ठेगाना टिपाएर सुधा बिदा भई। स्कुल सकिएकाले स्कुल बसमा बस्यौं हामी। 

बिहानै उठेर अंशु मलाई सोध्न भ्याइसकेकी थिइ, ‘आमु, कति बेला जाने हामी ?’ फुरुंग थिई ऊ। ‘साँझको पार्टी हो नि, हामी पहिला अर्जुलाई गिफ्ट लिन जाने ल ?’ मैले  भने। यति भनेपछि हवस् भनी हामी बिहानको खानापछि बजार जान तयार भयौँ। खुसीले बुण्रुक्क उफ्रदै कुन ड्रेस लाउनु भन्दै दराज खोतल्न लागि अंशु।

अर्जुलाई गिफ्ट किनेपछि हामी सुधाको घरको लागि निस्कियौं। उसले भनेको ठेगानामा पुग्न केही समय लाग्यो, भैसेंपाटीको कोलनीअगाडि झरेपछि मैले उसलाई कल गरे, ऊ गेटमा नै रहिछे साथमा अर्जु पनि। अंशु र अर्जु कुद्दै खेल्न गए। म र सुधा भने उसको घरमा लाग्यौं। 

‘सबै तयारी भइसक्या छ, बस् तिमीहरूको बाटो हेरेर बसेका थियौं,’ सुधा बोली। उसको घरको बैठक कोठामा बस्दै सन्चो–बिसन्चो कुरा गर्दागर्दै बोली ऊ, ‘अनि तिम्रो श्रीमान के गर्नुहुन्छ, एक्लै आकी उहाँलाई नल्याकी ?’ उसको सवालको जवाफ नपाउँदै उसको पछाडि एक गहुँगोरो वर्णको अधवैशे मान्छे उभियो। बसेको ठाउँबाट सुधा जुरुक्क उठेर ती पुरुषको हात समात्दै परिचय दिई, ‘य साँच्ची उहाँ मेरो श्रीमान सुुलभ।’

त्यही सुलभ जसलाई बिर्सन म अपरिचित गाउँमा गएर बसेकी थिएँ, जसलाई बिर्सन टाढा भएकी थिएँ। जसको खुसीका लागि आफू एक्लै रोएकी थिएँ। उफ् ! म झसंग भएँ। मेरो आँखाअगाडि विगतका ती पल झल्झली आउन थाल्यो। ‘ल तिमीहरू गफ गर्दै गर, म चिया लिएर आउँछु।’ यति भनेर सुधा कोठाबाट बाहिरी। म भक्कानिएँ, फेरि। ‘जीवनले कस्तो मजाक गर्छ मसँग बारम्बार।’ 

अंशु बोलाउँदै आई, ‘आमु ! मेरो डल भाँचियो, हेर्नु त।’ भर्खरै किनेको डलको शरीर र टाउको छुट्टिएको थियो। ऊ रोइरहेकी थिइँ, मेरो सपना पनि तिम्रो डलजस्तै भताभुंग भएर भााचिएको थियो। मनमनै सोचे। उसलाई काखमा बोकेर आँशु पुच्दै कोठाबाट बाहिरिए। पछाडिबाट आवाज आएको थियो, ‘सन्ध्या, रुक न, एकछिन। आइ एम सरी, तर प्लिज यसरी फेरि छोडेर नजाऊ।’ पछाडि नफर्की म ट्याक्सी चढेँ। सुलभ मेरो पछिपछि आउँदै थियो। मैले ट्याक्सीलाई गति बढाउन आग्रह गरे। एकछिनमै सुलभको नजरबाट हामी आमा–छोरी टाढा भयौँ। फेरि एकपटक सधैँका लागि...। 
अब, एउटै इच्छा छ, जीवनको कुनै मोडमा झुक्किएर पनि तिमीसँग भेट नहोस्। कारण– मलाई तिम्रो अझै चिन्ता लाग्छ, माया पनि सायद ! समस्या मलाई होइन, चिन्ता त मलाई तिम्रो छ, सोच्छु मसँग नजर कसरी मिलाउँछाैँ, अनि कसरी आफ्नो अनुहार देखाउँछौं ? यस्तो मिठो व्यवहार जो, तिमीले गरेका थियौं। फेरि तिम्रो जीवनमा आउन सक्दिनँ, सबै बाटो बन्द भइसकेको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७५ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App