१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निगमको जहाज टिकटमा 'पहुँचवाला'को पकड

नेपालगन्ज- घर जानका लागि जहाजको टिकट नपाएपछि ठेहे–५, हुम्ला निवासी लोकजन भण्डारी यतिबेला तनावमा छन्। टिकटका लागि उनी नेपालगन्ज धम्बोझीस्थित नेपाल वायु सेवा निगम कार्यालयमा बारम्बार धाए। तर, शुक्रबार दिउँसो भण्डारी रित्तो हात फर्किए। ‘धेरै पटक प्रयास गरे, टिकट नै पाइएन,’ उनले नागरिकसँग भने ‘दसैं मनाउन घर जाने सपना अधुरो भयो।’ सरकारी र प्राइभेट कम्पनीका जहाजको उडान पहाडी जिल्लामा निकै कम हुनु, सरकारी जहाजको टिकटमा पहुँचवाला व्यक्तिको मात्र मनपरी हुनुले सामान्य व्यक्तिले टिकट पाउन नसकेको भण्डारीको बुझाई छ।

काठमाडौंमा इन्जिनियरिङ पढिरहेका हुम्ला, ठेहे निवासी विकास बोहरा दसैं मनाउनका लागि केहीदिन अघि नेपालगन्ज आए। घर सम्म पुग्न हवाई यातायात बाहेक अर्को विकल्प नभएपछि उनले पनि टिकटका लागि सरकारी र प्राइभेट कम्पनीमा धाए, तर पनि पाएनन्। टिकट पाउने आशामा धम्बोझीस्थित निगम कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि २ बजेसम्म प्रतिक्षामा बसेका बोहरा नपाएपछि निराश भएर फर्किएका छन्। वर्षमा एक पटक आएको चाडपर्वमा घर जान नपाउँदा उनी निकै तनावमा छन्। ‘सरकारी टिकट त ठूला र पहुँच भएका व्यक्तिले मात्रै पाउँदा रहेछन, हामी जस्ता साधारण व्यक्तिले पाउँदैनौं,’ उनले भने।

हवाई टिकट नपाउँदा कर्णाली अञ्चलका थुप्रै सर्वसाधारण नेपालगन्जमा अलपत्र परेका छन् । विशेषगरी हवाई यातायातको विकल्प नभएका कर्णाली अञ्चलको हुम्ला र डोल्पाका सर्वसाधारण जहाजको टिकट नपाएर अलपत्र परेका हुन् । जहाजको टिकट नपाएका कर्णालीबासी अधिकांस नेपालगन्जमा आफन्त, इष्टमित्र तथा साथीको घरमा आश्रय लिएका छन् । घरमा जान नपाएपछि उनीहरुको दसै खल्लो हुने निश्चित भएको छ । प्राइभेट कम्पनीका अधिकांस जहाजले अचेल कर्णाली अञ्चलमा अचेल उडान भर्न छाडेका छन् । सरकारी जहाज कम्पनी नेपाल वायु सेवा निगमको उडान तालिका कम छ। यसले गर्दा कर्णालीका यात्रुलाई पर्याप्त मात्रामा टिकट वितरण गर्न नसकिएको निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ।

वायु सेवा निगमले ट्वीनिटर जहाजले नेपालगन्जबाट हुम्लाको सिमीकोट, ताल्चा, डोल्पा, जुम्ला, चौरजहारी, बाजुरा, रुकुम र काठमाडौं लागि उडान भर्दै आएको छ। यी ठाउँमा निगमले हप्तामा २  देखि ३ पटक उडान भर्ने गरेको पाइएको छ। कर्णाली अञ्चलको हुम्लामा केही समययता हप्तामा ३ पटक सम्म उडान भर्ने गरेपनि टिकट वितरणमा मन्त्री, राजनीतिक दल, निगमका कर्मचारी र पहुँचवाला व्यक्तिले आफ्ना मान्छेलाई बढी प्राथमिकता दिने गरेका कारण सर्वसाधारणलाई समस्या भएको स्रोतले जनाएको छ।

निगमका नेपालगन्ज स्टेशन म्यानेजर तुलसीप्रसाद उपाध्यायका अनुसार सातामा हुम्लाको सिमीकोटमा ३ र ताल्चा, डोल्पा, जुम्ला, चौरजहारी, बाजुरा, रुकुम र काठमाडौंका लागि २/२ वटा उडान भर्दै आएको छ। ‘अन्य ठाउँको तुलनामा हुम्लामा एउटा उडान बढी छ, तरपनि हुम्लामा बढी समस्या देखियो,’ उनले भने । करिव १३ जना यात्रु बोक्न सक्ने क्षमता भएको एक मात्र  ट्वीनिटर जहाज उडान हुदाँ टिकट बाँड्न समस्या भएको कर्मचारी बताउँछन्। सरकारी जहाज कम्पनी भएकाले मन्त्री, राजनीतिक दल र निगमका उच्च अधिकारीको टिकट वितरणमा हस्तक्षेप हुने गरेको कर्मचारीको गुनासो छ।

निगमको टिकट काउन्टरमा कार्यरत जुनियर असिष्टेन्ट खेमराज आचार्यले नियम अनुसार प्रत्येक उडानमा २/२ वटा सिट सरकारी कोटा र पर्यटकका लागि छुट्याइन्छ। ‘सर्वसाधारण यात्रु चढ्न पाउने ९ वटा सिटमा हो, यसमा पनि कहिले काही हामीलाई बिभागबाट निर्देशन आएपछि आवश्यकता अनुसारको सिटको व्यवस्था गरिदिनुपर्ने अवस्था आउँछ,’ आचार्यले भने।

 

प्रकाशित: २१ आश्विन २०७३ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App