१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थ्री स्टार उपविजेता

भुटान – भुटानको क्लब पारो एफसीलाई जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को फाइनलमा शुक्रबार १–० को नतिजा सुम्पिएपछि नेपाली ‘ए’ डिभिजन क्लब थ्री स्टारको अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने सपना यसपटक पनि अधुरै बनेको छ। 

पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपाली टोलीको आपसी तालमेल राम्रो नहुँदा झिनो अन्तरले पराजित हुँदा उपाधि घरेलु टोलीले घरमै सुरक्षित गरेको हो। नेपाल यु–१९ फुटबल टिमका कप्तान अर्पण कार्की सम्मिलित भुटानको पारो एफसीका लागि चेन्चोले गरेको एक मात्र गोल उपाधिका लागि पर्याप्त बन्यो।

चेन्चोले ७३औं मिनेटमा कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएका थिए। नेपालकै टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको पारोले खेलको सुरुआतबाट नै थ्री स्टारलाई दबाबमा राख्यो। दोस्रो मिनेटमा पारोले गोल गरे पनि रेफ्रिले त्यसलाई अफसाइडको संज्ञा दिएका थिए। 

घरेलु दर्शकको साथ पाएको पारोले एक पछि अर्को मुभ बनाउँदै नेपाली टोलीलाई दबाबमा राखेको थियो। पहिलो हाफमा बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन। ५८औं मिनेटमा थ्री स्टारका मार्टिनले पेनाल्टी बक्सभित्र वान भर्सेस वान अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिने अवसर खेर फाले। 

तर, ७३औं मिनेटमा चेन्चेले कर्नर बललाई जाली चुमाउँदै घरेलु टोलीलाई अग्रता दिलाए। बाँकी समयमा थ्री स्टार खेलमा फर्किन निकै संघर्ष गरे पनि सफल हुन सकेन र पारोका कप्तानले गरेको गोल नै निर्णायक बन्यो। उपविजेता बनेको टोलीका प्रशिक्षक मेघराज केसीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा सुम्पिँनुपरेको प्रतिक्रिया दिए।

‘हाम्रो टोलीले खेलमा राम्रो खेलेको थियो। तर आजको खेलमा फिनिसिङ गर्नबाट चुक्यौं,’ प्रशिक्षक केसीले भने, ‘मिडफिल्डमा राम्रो तालमेल भए पनि फरवार्ड लाइनले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन्। केही निश्चित बललाई  सदुपयोग गर्न सकेनौं, जसका कारण हार्नुपर्‍यो।’

नेपाली टोली असफल हुँदा भुटानको टोलीबाट खेल्दै आएका नेपाली यु–१९ टोलीका गोलरक्षक तथा कप्तान अर्पण कार्कीले भने भुटानको क्लबलाई पहिलो उपाधि जिताउन सफल भए। नेपाली टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै यु–१८ को साफ च्याम्पियसिपको उपाधि दिलाएका कार्की भुटानमा भएको प्रतियोगितामा भाग्यमानि सावित भए।

प्रतियोगितामा भुटान, नेपाल र भारतका टोली गरि कुल १२ टोलीले सहभागिता जनाएका थिए। नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका नेपाली क्लबद्वय थ्री स्टार र त्रिभुवन आर्मीले सोझै क्वार्टरफाइलमा प्रवेश पाएका थिए।

पहिलो हाफमा बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा हारसँगै उपाधि गुमायो।

प्रकाशित: ११ फाल्गुन २०७५ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App