१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निगमले माग्यो ५० पाइलट, अन्य कर्मचारी १२४ माग

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले रिक्त रहेका पदपूर्ती गर्न ५० पाइलट माग गरेको छ। १३ जना सिनियर क्याप्टेन, १५ जना जुनियर क्याप्टेन, ९ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट गरेर ५० पाइलट माग गरेको हो।

निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४ थान जहाज छन्। निगमका अनुसार ती १४ जहाजलाई उडाउनको लागि सिनियर क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को–पाइलट र जुनियर को–पाइलट गरेर १ सय ४३ पाइलट आवश्यक हुन्छ। अहिले निगमसँग ८५ जना मात्रै पाइलट छन्। ‘अपुग रहेका मध्ये ५० जना पाइलट थप्न लागेका हौं,’ निगमका सहप्रवक्ता नबराज कोइरालाले भने, ‘सोही अनुसार शुक्रबार विज्ञापन आह्वान गरेका छौं।’ प्रकाशित सूचना अनुसार परेको दरखास्तलाई प्रक्रिया अनुसार पाइलट भर्ना गरिने कोइरालाले बताए। फागुन १० गतेबाट २१ दिनको म्याद दिएर दरखास्तका लागि आह्वान गरिएको प्रकाशित सूचनामा उल्लेख छ।

अहिले निगमसँग भएका ८५ पाइलट मध्ये १७ पाइलट विदेशी छन्। करारमा रहेका यी पाइलटको अवधि पनि लामो छैन। निगमका सबै जहाज अप्रेसनमा आउँदा भने पाइलट अपुग हुन्छन्। त्यसैले निगमले पाइलट आवश्यकताको विज्ञापन आह्वान गरेको कोइरालाको भनाई छ।

निगमसँग भएका १४ मध्ये पाँच जहाजले अन्तर्राष्ट्रिय उडान गर्छन् भने नौ जहाजले आन्तरिक उडान गर्छन्। तर, डेढ महिना यता आन्तरिक उडान गर्ने जहाज पाइलटको अभावले थन्किरहेका छन्। दुर्गममा उडान गर्ने १७ सिटे चार थान ‘वाई १२–ई’ सिरिजका जहाज सञ्चालनको लागि ४ क्याप्टेनसहित १६ जना पाइलट आवश्यक पर्दछ। हाल ४ क्याप्टेनसहित १२ पाइलट छन्। क्याप्टेनहरु उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सन्जय बादे श्रेष्ठ र आङनुरी शेर्पा मध्ये उद्धव घिमिरे तालिममा विदेश छन्। भट्टराई र श्रेष्ठ बिरामी बिदामा छन्। बाँकी शेर्पाको पनि सीप परीक्षण प्रमाणपत्र (पीपीसी)को म्याद सकिएपछि जहाज उडाउन पाएका छैनन्। जसले गर्दा चिनियाँ जहाज अहिले विमानस्थलमा घाम तपाएर राखिएको छ। 

निगमसँग आन्तरिक उडानको लागि तीन थान ट्विनअटर जहाज पनि छन्। यी जहाज उडाउनको लागि १६ पाइलट आवश्यक पर्दछ। अहिले ट्विनअटर जहाज उडाउनको लागि १२ पाइलट मात्रै छन्। यद्यपी ट्विनअटर सिरिजका दुई वटा जहाज ग्राउन्डेड भएर मर्मतको क्रममा छन्।

त्यसैगरी सुगम क्षेत्रको आन्तरिक उडान गर्न ५८ सिटे दुईथान ‘एमए–६०’ छन्। यी जहाजको लागि १२ पाइलट आवश्यक पर्छन्। हाल निगमसँग ७ पाइलट मात्रै छन्। यो सिरिजको एउटा जहाज लामो सयमदेखि ग्राउन्डेड छ भने अर्को जहाज पनि बारम्बार ग्राउन्डेड भइरहन्छ। 

त्यसैगरी निगमसँग अन्र्तराष्ट्रिय उडान गर्ने एउटा बोइङ सहित चार वटा वाइड र न्यारोबडी जहाज छन्। २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुईथान वाइडबडी र १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजका दुई थान न्यारोबडीमा पनि प्राप्त पाइलट छैनन्। 

वाइड बडी दुई थान जहाजको लागि २१–२१ गरेर ४२ जना पाइलटको आवश्यक पर्दछ। तर, निगमसँग हाल वाइडबडी जहाज उडानका लागि २० मात्रै पाइलट छन्। ती मध्ये ११ पाइलट विदेशी हुन्। पूर्ण रुपमा अप्रेसनमा जहाज नआएकाले दुबै जहाज त्यही २० पाइलटबाट सञ्चालन भइरहेका छन्। 

त्यसैगरी न्यारोबडी जहाजको लागि ३८ पाइलटको आवश्यक पर्दछ। यो जहाजमा हाल ३५ पाइलट छन्।

‘बि७५७–२००’ सिरिजको बोइङ जहाजमा १९ पाइलटको आवश्यकता भएपनि ८ पाइलट मात्रै छन्। निगमको यो जहाज पनि ग्राउन्डेड छ। यसलाई बिक्री गर्ने योजना पनि निगमको छ। मर्मत गरेर जहाज विक्रि नहुन्जेलसम्म भने सञ्चालन गर्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए। तर, पाइलट भने प्राप्त छैनन्।

खरेलका अनुसार निगम ग्राउन्डेड रहेका सबै जहाज मर्मत उडाउने लक्ष्यमा छ। ‘हामीले जहाज मर्मतको काम गरिरहेका छौं,’ उनले भने, ‘मर्मत भएर सबै जहाज अप्रेसनमा आउँदा भने अपुग हुने पाइलट भर्ना गर्न लागेका हौं।’ उनका अनुसार भर्ना गरिने पाइलट आवश्यकता अनुसार विभिन्न जहाजको लागि प्रयोग गरिनेछ। भर्ना हुने सबै पाइलट नेपाली हुनेछन्। 

‘विदेशी पाइलट मंहगो हुँदा निगमको खर्च पनि बढ्छ,’ खरेलले भने, ‘अबको दिनमा निगमले पाइलट लिँदा नेपालीलाई प्राथमिकता दिनेछ।’ नेपालीले अवसर पनि पाउने र नेपालीलाई कम तलब पनि हुनेले प्राथमिकतामा नेपाली राखेको उनले जनाए। निगमले स्थायी रुपमा पाइलट भर्ना गर्न लागेको हो। विदेश पाइलट लिँदा भने करारमा लिने गरेको छ। प्राप्त नेपाली पाइलट भएमा विदेशी पाइलट नलिने योजनामा निमग छ। वाइडबडीमा हाल ११ पाइलट विदेशी छन्। 
वाइड र न्यारोबडी चार थान जहाजले भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंकक लगायतका छोटा गन्तव्यमा उडिरहेका छन्। चीन, जापान, कोरिया, दुबई लगायतका गन्तव्यमा यी जहाज उडाउने योजनामा निगम छ। यी जहाज पूर्ण अप्रेसनमा ल्याउनको लागि थप पाइलट आवश्यक पर्ने भएकाले पनि पाइलट चाँडो थप गर्न लागेको निगमले जनाएको छ।

निगमले पाइलटको मागसँगै आवश्यक अन्य कर्मचारीको लागि पनि विज्ञापन आह्वान गरेको छ। निगमले पाइटल सहित विभिन्न पदमा १ सय ७४ जना कर्मचारी माग गरेको छ। सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदका लागि निगमले शुक्रबार खुला विज्ञापन आह्वान गरेको हो।

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना र सहायकमा १८ जना कर्मचारी माग गरेको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App