१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

फरक फ्लेभरका तीन फिल्म

काठमाडौं – आज शुक्रबारबाट तीन नेपाली फिल्म ‘फिंगर प्रिन्ट’, ‘रुमालै छ चिनो’ र ‘ब्वाइफ्रेण्ड’ रिलिज हुँदैछन्। फिंगर प्रिन्टको दुरुपयोगले हुने जघन्य अपराधलाई समेटिएको फिल्म ‘फिंगर प्रिन्ट’मा नविन निरौलाको लेखन, सम्पादन र निर्देशन छ।

फिल्मका नायक राज क्षितिजले फिल्म फरक विषयमा बनेको दाबी गरे। ‘फिल्मले विश्वमा मान्छेको औंला सुरक्षित छैनन् भन्ने सन्देश दिएको छ’, उनले भने, ‘घर, गाडी, सम्पत्ति मान्छेको फिंगरमा अडिएको छ। विश्वमा ठुला अपराधहरूको छानविन पनि फिंगरबाट हुन थालेको छ। एउटाको आदेशमा अर्कोले अपराध गर्ने चलनले पनि मानिसका फिंगरहरू असुरक्षित छन् भन्ने कुरा फिल्ममा देखाइएको छ।’

अर्का कलाकार रमेश बुढाथोकीले फिल्ममा आफु नकारात्मक चरित्रमा रहेकोले उसले के के गर्छ भन्ने जान्न फिल्म नै हेर्नुपर्ने बताए। फिल्ममा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरूप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारको अभिनय छ। 

शंकर आचार्य र अनिल श्रेष्ठ निर्माता रहेको फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी तथा सुमन तण्डुकार र राहुल राईको छायांकन छ।

त्यस्तै कलेज जीवनबाट भारतीय आर्मीमा भर्ती भएर जम्बु कश्मिरको युद्धमा लडेका एक नेपाली युवाको कथा समेटिएको फिल्म ‘रुमालै छ चिनो’मा दिनेशसिंह ठकुरीको निर्देशन छ। निर्देशक ठकुरीले फिल्मले एउटा नेपाली वीर गोर्खालीको सन्तान गोर्खा बटालियनमा भर्ना त्यहाँ उसले देखाएको बहादुरीलाई फिल्ममा प्रस्तुत गर्ने बताए। ‘पहिला पहिला गाउँघरमा रुमाललाई सम्बन्धको माध्यम बनाइन्थ्यो। परिवारमा मिलनविछोडको माध्यम नै रुमाल थियो। त्यही रुमाल भित्र हुने युद्धलाई फिल्ममा देखाएका छौं’, उनले भने, ‘फिल्ममा सहकर्मीसँग लडाईंमा गएको एक नेपाली सैनिकले सहकर्मी मरेपछि कसरी एक्लै खुकुरी बोकेर लडाईं गर्दछ भन्ने देखाएका छौं।’

फिल्ममा नायिका अप्सना थापा र नायक सुशान्त कार्कीले रोमान्स गरेका छन्। नायिका अप्सनाले पारिवारिक र अग्र्यानिक कथाको फिल्मले नेपालीले कहिल्यै पनि हार्न जानेको छैन भन्ने दिने दाबी गरिन्।

फिल्ममा किशोर खतिवडा, सञ्चिता लुँइटेल, मिथिला शर्मालगायतका कलाकारको पनि अभिनय छ। ज्योति फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा शिव थारुको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, रेश्मा थापाको कथा, दिनेशसिंह ठकुरीको पटकथा र संवाद तथा विनोद सापकोटाको छायांकन छ।

अभिभावकले सन्तानलाई समय नदिँदा उनीहरूमा आउने समस्यालाई प्रस्तुत गरिएको फिल्म ‘ब्वाइफ्रेण्ड’को निर्देशन मदन घिमिरेले गरका हुन्। बुढाथोकी फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, शोभा भण्डारी, सुष्मा तामाङ, पवन खनाल, आकाश बम्जन, शेखर केसी, कैलाश दाहाललगायतका कलाकारको अभिनय छ। कृष्ण खनाल निर्माता र सूर्य बुढाथोकी प्रस्तुतकर्ता रहेको फिल्ममा नविन निरौलाको सम्पादन, शंकर महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत र पुनम राईको नृत्य छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App