१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अस्तव्यस्त सडकले सर्वसाधारणलाई सास्ती

धौलागिरी महेन्द्र एकता मार्गको खाल्डाखुल्डी। तस्बिर : श्याम राई/नागरिक

काठमाडौं महानगरपालिका वडा–३२ स्थित पेप्सीकोला टाउन प्लानिङको धौलागिरी महेन्द्र एकता मार्गको सडक पिच उप्किएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ। पिच उप्केको एक वर्ष बित्दा पनि सडक मर्मत हुन सकेको छैन।

सडक पुनर्निर्माण गर्नुको साटो ठेकेदार बेपत्ता भएको भन्दै सरोकारवाला निकायले समेत बेवास्ता गरिरहेका छन्। सडक अस्तव्यस्त भएपछि मारमा परेको स्थानीयको गुनासो छ। स्थानीय नवराज आचार्यले सडकको पिच उप्किएपछि सडक अस्तव्यस्त भएको र यसले ट्राफिक जाम, दुर्घटनालगायत समस्या भोग्नुपरेको बताए। ‘करिब एक किलोमिटर सडकको सबैे कालोपत्रे उप्किएर खाल्डाखुल्डी छन्,’ उनले भने, ‘दिनहुँ सवारी जाम हुन्छ। सडक घामलाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छ। त्यसैले स्थानीय र सर्वसाधारणलाई धेरै समस्या परेको छ। तर, सडक निर्माणमा सरोकारवालाले चासो दिएको छैन।’

उक्त मार्गमा ठूलठूला मालवाहक सवारीसाधन चलाएपछि सबै पिच उप्किएको छ। त्यसैले सबै सडक खाल्डाखुल्डीमा परिणत भएको हो। आचार्यका अनुसार उक्त मार्गको खाल्डोमा परी केही साताअघि मात्रै मोटरसाइकल दुर्घटनामा परेको थियो। त्यसबेला चालक घाइते हुनुको साथै सबै उनले लगाएका लुगा च्यातिएको थियो। त्यही मार्गबाट मनोहरा पुल, सूर्यमुखी चोक र कागेश्वरी पुग्न सकिन्छ। तर, सडक मर्मत नगरिएपछि अहिले सवारी साधन ओहोरदोहोर गर्न सकिरहेका छैनन्।

महानगरपालिकाका मेयरलाई गत भदौ २६ गते उक्त मार्गमा ल्याएर सडकको अवलोकन गराए पनि यसको केही उपलब्धि नभएको उनले दुखेसो गरे। स्थानीय मारमा परेपछि दुई पटक वडा कार्यालयमा पुगेर गुनासो गरे पनि वडाले सडक मर्मतको लागि केही पहल नगरेको उनले बताए। ‘यो नेपालको उत्कष्ट टाउन प्लानिङ हो। त्यसैले सडक मर्मत गर्नका लागि हामीले दुई पटक वडा कार्यालयमा पनि ध्यानकर्षण गरिसकेका छौँ,’ उनले भने, ‘तर, हाम्रो गुनासोलाई बेवास्ता गरिएको छ।’

वडा कार्यालयले उक्त मार्गको सडक टालटुलमात्रै गर्न खोजेकोले टिकाउ हुने खालका सबै नयाँ पिच गर्नुपर्ने स्थानीयको माग छ।

सडक निर्माणका लागि टेन्डर गरे पनि ठेकेदार सम्पर्कमा ल्याउन नसकेकाले अहिले सडक मर्मत गर्न नसकिएको वडा–३२ का वडा अध्यक्ष नवराज पराजुली बताउँछन्। ‘सडक निर्माण गर्नको लागि टेन्डर भइसकेको थियो। ठेकेदार बेपत्ता भएकाले अहिले सडक मर्मत गर्न सकिएको छैन,’ उनले भने, ‘हामीले सम्पर्कमा ल्याउनको लागि फलोअप गर्दे आएका छौँ। ती ठेकेदारले काम नगरे पनि अर्को ठेकेदारलाई ल्याएर काम गराउँछौँ।’

सडक मर्मत गर्नका लागि सेरा कन्ट्रक्सन कम्पनीसँग २०७४ वैशाख १३ गते करिब ९६ लाख २४ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। यसको कार्यअवधि २०७५ मसान्तसम्म  छ। कार्य अवधि सकिन लाग्दा पनि ठेकेदार सम्पर्कमा नआएकाले पुनः टेन्डर प्रक्रियामा जाने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल बताउँछन्।  ‘सडक मर्मत गर्ने समय सकिन लागेको छ। अहिलेसम्म ठेकेदार सम्पर्कमा छैन,’ उनले भने, ‘यो कम्पनीलाई कालोसूचीमा राखेर   छिट्टै पुनः टेन्डर प्रक्रिया थाल्छौ।’ उनका अनुसार यसबारे सूचना प्रकाशित गरिसकेको छ। सम्झौतापछि ठेकेदारले सामान्य सडक सम्याएको थियो। त्यसपछि अरु कुनै काम गरेको छैन।

प्रकाशित: १० फाल्गुन २०७५ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App