विदेश सम्बन्धको बदलिँदो व्याख्या

शुक्रबार, १० फागुन २०७५, ०९ : २६ नागरिक

आशीष अधिकारी
नेपालको विदेश सम्बन्धबारेका व्याख्या दुई किसिमका बुझाइहरूले बनेको देखिन्छ। भारतको हस्तक्षेपकारी भूमिकाले एउटा व्याख्या निर्माण गरेको छ भने भारत सम्बन्धको विविधीकरणले दोस्रो व्याख्या जन्माउँदै छ। डा. युवराज संग्रौलाले हालै प्रकाशित आफ्नो किताब ‘साउथ एसिया चाइना जियोइकोनोमिक्स’मा पश्चिमा शक्तिहरूले नेपाललाई ‘कक्पिट’का रूपमा विकास गरिरहेको बताएका छन्। उक्त कक्पिटबाट भारत र चाइनाको विस्तारलाई घेर्ने योजना बनाएको तर्क गरेका छन्। 

नवउदारवादको प्रयोग, धर्म परिवर्तन र जातीय पहिचानको नारा उक्त रणनीतिको उपकरण भनिएको छ। २००७ सालपछि नेपालमा पश्चिमा शक्तिलाई आलोचनात्मक रूपमा डिल्लीरमण रेग्मीले हेर्न सुरु गरेका हुन्। उनले सन् १९५२ मा प्रकाशित आफ्नो किताब ‘विथर नेपाल’मा ब्रिटिस साम्राज्यले नेपाललाई आफ्नो स्वार्थका निम्ति अलग राखेको लेखेका छन्। यो नेपालको विदेश सम्बन्धमा हाल बन्दै गरेको व्याख्या हो जसले पश्चिमा शक्तिको भूमिकालाई केन्द्रमा राखेको छ।

विश्व व्यवस्थामा आउने परिवर्तन, अन्तर्राष्ट्रिय कानुनको विकास, अन्तर्राष्ट्रिय आर्थिक अन्तक्रियाहरू अझै केही समय पश्चिमा शक्तिको निर्णयमा चल्नेछन्। उनीहरूले निर्माण गरेको विश्व व्यवस्थामा तत्काल परिवर्तन आउनेछैन। तर आफ्नो उत्पादन र सेवा बेच्न हामीलाई छिमेकीको विशाल जनसंख्यापनि चाहिन्छ। 

अर्काेतिर ६ जनवरी २०१९ मा प्रा. कृष्ण खनालको ‘बदलिँदो भूराजनीतिक आयाम’ लेख प्रकाशित भयो। उक्त लेखले सिक्किमको विलयको विषयलाई मुख्य रूपमा उठाएको छ। एकातिर नयाँ राष्ट्र बंगलादेशको निर्माण र अर्काेतिर सिक्किमको विलयले भारतको स्वार्थ दुईतिर लाग्ने कर्दजस्तो देखाइएको छ। भारतले आफ्नो स्वार्थ अनुकूल भूमिका खेल्छ। १२ माघमा सुधीर शर्माको ‘सिक्किम : एक दुःखान्त’ लेख प्रकाशित भयो। उक्त लेखमा मुख्यतः छोग्यालसँग काठमाडौँ आएका सिक्किम गार्ड्सका क्याप्टेनको अनुभव वर्णन गरिएको छ। छोग्यालको भारतले आक्रमण गर्दैन भन्ने अतिशय विश्वासले सिक्किमको विलय सम्भव भएको देखिन्छ। यो नेपालको विदेश सम्बन्धको स्वरूप तयार गरेको पुरानो व्याख्या हो जसले भारतको भूमिकालाई केन्द्रमा राखेको छ।  

नेपालको विदेश सम्बन्धको व्याख्या माथि उल्लिखित कृतिहरूमा रहेको बुझाइले निर्माण गरेका छन्। विशेषतः दुई किसिमको व्याख्या निर्माण भएको देखिन्छ। पहिलो र पुरानो व्याख्या भारतको छिमेकी राष्ट्रहरूप्रतिको हस्तक्षेपकारी भूमिका र त्यसले उब्जाउने त्रास हो। नेपाल भौगोलिक अवस्थिति र अपर्याप्त पूर्वाधारको कारणले लामो समय भारत केन्द्रित रहँदै आएको छ। विभिन्न समयमा भारतले नेपाललाई नाकाबन्दी लगाएको छ। नेपालको संविधान लागू गर्ने बेला भारतको भूमिका हस्तक्षेपकारी थियो। ऐतिहासिक रूपमै बाँध निर्माण र पानीको उपयोगमा नेपाली पक्ष सन्तुष्ट देखिएको छैन। व्यापार घाटा चुलिँदो छ, तथापि नेपाली वस्तुको निर्यात बेलाबखत विवादित रहन्छ। ऊर्जासम्बन्धी पावर पर्चेज सहमति पनि विवादरहित हुन सकेन। सीमा अतिक्रमण र सीमामा बल प्रयोगका दृष्टान्त पनि छन्। नेपालको विकाससँग जोडिएका ठूला परियोजनाको जिम्मा लिने तर काम नगर्ने आरोप पनि भारतलाई लाग्दै आएको छ। भारतको भूमिकाले नेपाली विदेश सम्बन्धको विविधीकरणको व्याख्या निर्माण गरेको छ। 

दोस्रो र बन्दै गरेको व्याख्या पश्चिमा शक्तिको षड्यन्त्र र त्यसले उब्जाउने परिणाम हो। पश्चिमा शक्तिले भारत र चीनलाई घेर्न नेपाली समाजलाई जातीय पहिचान र धर्म परिवर्तनजस्ता उपकरण प्रयोग गरेर विभाजित गर्दै लगेको बुझाइले दोस्रो व्याख्या बनेको छ। अमेरिकाले नेपालको इन्डोप्यासिफिक नीतिमा देखेको महत्वले दोस्रो व्याख्यालाई थप बल पुर्‍यायो। नेपालमा काम गरिरहेका मुख्य गरी पश्चिमा आइएनजिओहरूलाई नेपालको सामाजिक विभाजनमा सहयोग गरेको आरोप लागेको छ। अझ केही पश्चिमी कूटनीतिक नियोगहरू जातीय र धार्मिक विषयमा उत्तेजना फैलाएको भनी विवादास्पद छन्।

यी दुई व्याख्यामाझ नेपालको विदेश सम्बन्धको गतिशील चरित्र देखिन्छ। पुरानो भारत केन्द्रित व्याख्याले नेपालको विदेश सम्बन्धलाई विविधीकरण उन्मुख गरेको छ। पश्चिमा शक्तिहरू नेपालको विविधीकरणको महत्वपूर्ण साझेदार रही आएका छन्। नेपाल विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्य बनेको छ। ती संस्थाहरूमा महत्वपूर्ण योगदान गरेको छ। क्षेत्रीय र वैश्विक समस्याहरूलाई बुझेको छ र समाधानमा योगदान गरेको छ। विश्व शान्तिमा नेपाली सेनाको योगदान अतुलनीय छ। नेपालले विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारहरू बनाएको छ। नेपालको विदेश सम्बन्ध विविधीकरण हुँदै जाँदा दोस्रो व्याख्या पनि सँगसँगै निर्माण हुँदै गएको देखिन्छ। 

पश्चिमा शक्तिहरूको रणनीति नेपाल र छिमेकीको हितमा नरहेको भाष्य बन्दैछ। धर्म परिवर्तनका आँकडाहरू बढ्दै गएका छन्। सरकार आइएनजिओहरूलाई नियन्त्रण गर्न असमर्थ बन्दै गएको छ। सदाचार नीति ल्याउने भनेपनि व्यवहारमा देखिएको छैन। युनिभर्सल पिस फाउन्डेसनको विवादस्पद कार्यक्रममा सरकार आफैँ सक्रिय भएर छिमेकीलाई सजग बनाएको छ। छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सम्बध न्यानो देखिँदैन। इपिजी समूहको प्रतिवेदन भारतले बुझेको छैन। बेल्ट र रोड इनिसिएटिभका योजनाहरूपनि छुट्टिन सकेका छैनन्। विविधीकरण गर्दै जाँदा पश्चिमाहरूको भूमिका गहिरो र छिमेकी सजग बन्दै छन्। 

विविधीकरणको अर्को महत्वपूर्ण पाटो चीन हो। चीनलाई नेपालमा भारतकै सम्बन्ध विविधीकरणका रूपमा बुझिन्छ। तर चीनका बारेमा नेपालमा पश्चिमा शक्तिजस्तो व्याख्या निर्माण भएको छैन। चीनको व्याख्या कसरी निर्माण हुन्छ, त्यसले नेपालको सम्बन्ध विविधीकरणमा ठूलो असर गर्नेछ। 

महत्वपूर्ण कुरा, दुई व्याख्या एक अर्काको विरोधाभासकारूपमा विकसित हुँदै छन्। यस्ता व्याख्या विरोधाभासपूर्ण हुँदा नेपालको विदेश सम्बन्ध गतिशील नभई विचलित रहिरहन्छ। विचलित विदेश सम्बन्धको प्रभाव आन्तरिक राजनीतिमा पनि नकारात्मक पर्छ। नेपालको विविधीकरणनै छिमेकीका लागि खतरा देख्नु र नेपाल दुई छिमेकीबीच मात्र अटाउनुपर्छ भन्नु दुवै अतिशय बुझाइ हुन्। यस्तो व्याख्याले नेपाली समाजलाई कित्ताकाँट गर्छ। छिमेकीहरूसँग विवाद हुँदा वा छिमेकीहरूले नेपाल हेर्ने धारणा नेपालको हितमा नहुँदा आउन सक्ने परिस्थितिबारे पनि सजग हुनुपर्छ। यस्तो अवस्था बुझेर नेपाललाई क्रमिक रूपमा वैश्विक बनाउँदै लानुपर्छ। 

हामीलाई प्रविधिको विकास, सेवा बिक्री, वित्तीय पुँजीको निम्ति पश्चिमाहरू आवश्यक छन्। विश्व व्यवस्थामा आउने परिवर्तन, अन्तर्राष्ट्रिय कानुनको विकास, अन्तर्राष्ट्रिय आर्थिक अन्तक्र्रियाहरू अझै केही समय पश्चिमा शक्तिको निर्णयमा चल्नेछन्। उनीहरूले निर्माण गरेको विश्व व्यवस्थामा तत्काल परिवर्तन आउनेछैन। आउन सक्ने परिवर्तनहरू बुझ्नपनि हामीलाई पश्चिमा शक्तिले बनाएका संस्थाहरू जस्तोः विश्व बैंक, अन्तर्राष्ट्रिय मौद्रिक कोष, विश्व व्यापार संगठन आवश्यक पर्छन्। तर आफ्नो उत्पादन र सेवा बेच्न हामीलाई छिमेकीको विशाल जनसंख्यापनि चाहिन्छ। छिमेकीहरूले भूमिका प्रधान रहेको बिआरआइसिएस्  (ब्रिक्स), एआइआइबी पनि बुझ्न आवश्यक छ। छिमेकीहरूसँग भौतिक रूपमा जोडिनु अझ महत्वपूर्ण छ। गतिशीलकूटनीतिले मात्र दुवै आवश्यकता पूरा गर्न सक्छ। गतिशील कूटनीतिका निम्ति राजनीतिक स्थिरता अपरिहार्य छ। राजनीतिक स्थिरताका निम्ति नेपालको संस्कृति जोगाउँदै सामाजिक एकतालाई बलियो बनाएर राख्नुपर्छ। पहिलो र दोस्रो व्याख्याको विरोधाभासले आउने आन्तरिक विभाजन रोक्नुपर्छ। राष्ट्रिय अखण्डता, सामाजिक सौहार्द र छिमेकीको राष्ट्रिय स्वार्थमा नकारात्मक असर गर्ने गतिविधिलाई बुझेर रोक्नुपर्छ। 

आजको समयमा अन्तर्राष्ट्रिय गतिविधिहरू राज्यले मात्र सञ्चालन गर्दैनन्। त्यस्ता गतिविधिहरू राज्य प्रायोजित हो÷होइन छुट्याउनुपर्छ। उदाहरणका लागि धर्म परिवर्तनमा चर्चको भूमिका छ वा राज्य प्रायोजित हो, नछुट्याई धारणा बनाउँदा सही समाधान निस्किँदैन। नेपालले विविधीकरणको बाटोमा पनि हिँड्नु छ।सँगै बाटोका अवरोधहरूपनि बुझेर हटाउनु छ। मुख्यतः छिमेकीका राष्ट्रिय स्वार्थसँग जोडिएका समस्याहरू बेलैमा पहिचान गरेर रोक्नुपर्छ। नेपालले सजग रहेर सावधान कूटनीति सञ्चालन गर्नुपर्छ। (लेखक पेकिङ विश्वविद्यालयमा विद्यावारिधि गर्दैछन्)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...