१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

निश्चलको पहिलाे अंग्रेजी ‘फर्गो’

काठमाडौं – युवा लेखक निश्चल मल्लको अंग्रेजी भाषाको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ। राजधानीमा हालै एक कार्यक्रमकाबीच अभिनेत्रीद्वय ऋचा शर्मा र सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

अभिनेत्री ऋचाले लेख्ने मान्छेप्रति आफ्नो मनमा श्रद्धा रहेको बताउँदै कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाई दिइन्। ‘उन्नाइस/बीस वर्षकै उमेरमा यस्तो किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो। तर उमेर कम भए पनि किताबमा मैले परिपक्कता देखें ’,उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखक मल्लले राम्रो तरिकाले प्रस्तुत गरेका छन्। यसको भाषा मलाई मन परेको अर्को पक्ष हो। पुस्तक पढिरहँदा मलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभाष भयो। उहाँको भाषामा गज्जबको लालित्य छ।’ पुस्तक एकै बसाइमा पढेको खुलााउदै ऋचाले मल्लले आगामी दिनमा उच्चकोटीको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने दाबी गरिन्।

अर्की अभिनेत्री सुरक्षाले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन्। ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन्। अझ यति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन्। यो हिसाबमा निश्चलले मलाई प्रभावित गरेका छन्’, उनले भनिन्, ‘पुस्तक आकर्षक लागेको छ। भ्यालेन्टाइन मुखमा छ। आफ्नो डेटलाई दिन यो उत्तम गिफ्ट हुनेछ।’

लेखक सुविनले निश्चललाई देखेर आफ्ना पुराना दिन याद आएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममा आएको बताए। ‘व्यस्तताका कारण पुस्तक पढ्न पाइनँ। त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन। पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ। निश्चलका लागि पनि यो किताब स्पेसल बनोस्। पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रिया पाए पनि लेख्ने काम जारी राख्नुपर्छ।’

लेखक निश्चलले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुत गर्ने जनाए। ‘पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामा आफूले सोचे जस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेस गरेको छ। जीवन र प्रेमलाई लिएर युवाले खेप्ने द्विविधामा पनि पुस्तकमा अटाएको छ। पुस्तक पढिरहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’बुकहिलले प्रकाशन गरेको पुस्तक एक सय चार पृष्ठको छ। निश्चलको यो पहिलो पुस्तक हो।

प्रकाशित: १० फाल्गुन २०७५ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App