राजगुठी कमलपाेखरी यसरी भयो व्यक्तिको

शुक्रबार, १० फागुन २०७५, ०६ : ०८ दीपेश केसी

काठमाडौं - श्री सिंह सार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ वहिल कमलपोखरीको डिलको बगैंचामा फुलेको फूल दिनहुँ भगवान्को पूजामा प्रयोग गरिने उल्लेख छ। पञ्चामृतस्नान गरिने र भगवान्लाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो। कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरूले देखाउँछन्। पोखरीको निकै स्याहार हुन्थ्यो र कमलको फूल फुलाउनकै लागि कामदार खटाइन्थ्यो। १९५३ को अभिलेखअनुसार कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ।

गुठीका सचिव राजेन्द्रप्रसाद प्रधान विगतमा सोही पोखरीमा फुलेको कमलको फूल टिपेर विक्रमशील महाविहारमा भगवान्लाई चढाउने गरेको बताउँछन्। अहिले पोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गरिएको छ। कमलको फूल फुल्ने कमलपोखरी मासेपछि परम्परा धान्न बजारबाट कमलको फूल किन्ने गरिएको बताउँछन् प्रधान। श्रावण प्रज्ञा पारमिता पाठ गर्ने बेलाको दसौं दिन कुमारी वसन्तपुरबाट आएर भगवान्को दर्शन गर्दा कमलको फूल दिने परम्परा थियो। प्रधान भन्छन्, ‘बाजेको पालामा कमलपोखरीको फूल कुमारीलाई दिइन्थ्यो रे !’ भगवान्लाई कमलको फूल चढाउने परम्परा बोकेको कमलपोखरी मात्र नभई भगवान् गुठीका निकै जग्गा सत्ता र शक्तिबाट कब्जामा लिइएको गुठीका अध्यक्ष सुरेन्द्रमान प्रधान बताउँछन्।

सचिव राजेन्द्रप्रसाद प्रधान बाजेको पालामा कलपोखरीको फूल टिपेर भगवान्लाई चढाउने गरिएको र मृत्यु संस्कारअन्तर्गत १३ दिनको राति श्राद्ध पोखरीमा विसर्जन गर्ने गरेको सुनाउँछन्। कम्प्लेक्सछेवैका स्थानीय ७५ वर्षीय भीमदास मानन्धर राणाहरूले पर्खालले घेरेको भित्र पोखरी देखेको उल्लेख गर्छन्। छायाँ कम्प्लेक्सको पश्चिमतर्फको मूलगेटको पीपल देखाउँदै भन्छन्, ‘यो पीपलको रूख पोखरीको डिलमा थियो।’ गुठीयारसमेत रहेका काठमाडौं महानगरपालिका २६ का पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधान कमलपोखरी थियो भन्नेमा कुनै शंका नरहेको बताउँछन्। भगवान् गुठीका गुठीयारसमेत उनी भन्छन्, ‘उहिल्यै कमल फुल्ने प्राचीन कमलपोखरी थियो।’

भगवान् गुठीका गुठीयार भागवतनरसिंह प्रधानको २०७१ सालमा प्रकाशित ‘थँ बहिल विक्रमशील महाविहारको ऐतिहासिक कमलपोखरी’ नामक पुस्तकमा लिइएको अन्तरवार्तामध्ये थँ बहिल किसानका थकाली अष्टनारायण महर्जनले ९० वर्षको हुँदा २०७१ सालमा दिएको अन्तरवार्तामा केशरमहलको दरबारको पर्खालदेखि चिनी साहुको घरसम्म फैलिएको कमलपोखरीबारे उल्लेख गरेका छन्। ‘म १० वर्षको हुँदा पोखरीमा नुहाउन जान्थें,’ ९९ वर्षीय भुयु डँगोलले सुनाएका थिए। ८० वर्षीय लवलाल प्रधानले भनेका थिए, ‘भगवान् गुठीको पोखरीमा मुद्दा पर्दा तत्कालीन बहालका कार्यकर्ताद्वारा पदको दुरुपयोग गरी अनधिकृत मिलापत्र गरिएको छ।’

गुठीयार विश्वम्भरलाल प्रधान कमलपोखरी मात्र नभई भगवान् गुठीका धेरै जग्गा राणाहरूले तर्साएर लिएको बताउँछन्। उनले भने, ‘सत्ता र शक्तिको दुरुपयोग गरी राणाहरूले कमलपोखरी हडपेका थिए।’ पुस्तकमा गुठीका पूर्वसचिव ८० वर्षीय माधवप्रसाद प्रधानले भनेका छन्, ‘हाम्रो भगवान् बहालको पोखरी र जग्गा राणाले तर्साएर लियो।’ गुठीका सचिव राजेन्द्रप्रसाद पन्त भन्छन्, ‘केशरशमशेर बेलायतको राजदूत भएर गएपछि भगवान्ले सपनामा पोखरी किन लिएको भनी सोधेपछि चिठी लेखी वार्षिक रु. १२५ बाली तिर्ने गरी कर्मचारीमार्फत पत्र पठाएको बूढापाकाबाट सुनेको हुँ।’

नागरिकले प्राप्त गरेको गुठीयारहरूको हस्ताक्षरसहितको २०२५ सालको दस्ताबेजमा पनि बहाल नतिरेको विषय उल्लेख छ। सचिव प्रधानले उक्त पत्रमा उल्लेखित नाम र हस्ताक्षर आफ्ना बाजे र काकाबाजेहरूको भएको बताए। उनले भने, ‘मेरा बाजे र काकाबाजेहरुले हस्ताक्षरसहित पत्र लेख्नुभएको रहेछ।’

गुठीको कमलपोखरी
अहिले थँ बहिलमा कमलपोखरी छैन। केशरशमशेरको पालासम्म पोखरी रह्यो। उनका सन्तानले त्यसको अस्तित्व मात्र नष्ट गरेनन् ऐतिहासिक अभिलेखले ‘भगवान्को बिर्ता’ उल्लेख गरेको जग्गा सत्ता र शक्तिको आँडमा लालपुर्जा निकालेर व्यक्तिलाई बिक्री गरे। पोखरीको जग्गामा १५ तले व्यापारिक कम्प्लेक्स ‘छाया कम्प्लेक्स’ ठडिएको छ। भवन बनाउनेहरू प्रामाणिक अभिलेखबाट अत्तालिएका छन्। छाया सेन्टरका प्रबन्धनिर्देशक महेश्वर श्रेष्ठ प्राचीन अभिलेखका आधारमा नभई अदालतको फैसलाका आधारमा टेकेर भवन बनाएको दाबी गर्छन्। तर छाया कम्प्लेक्स निर्माण भएको स्थानमा कमलपोखरी रहेको तथ्य अस्वीकार गर्न सक्दैनन्। उनी भन्छन्, ‘हो यहाँ पोखरी थियो तर राजगुठीअन्तर्गत नभई निजी पोखरी थियो।’ तर नागरिकले फेला पारेको अभिलेखले त्यहाँ श्री सिंह सार्थ बाहु गरुड भगवान् गुठीअन्तर्गतको कमलपोखरी रहेको स्पष्ट देखिन्छ।

गरुड भगवान् गुठीले १९६५ मा पोता तिरेको पोता रसिदमा कमलपोखरी डिलसमेत साढे २६ रोपनी उल्लेख गरिएको छ। १९७० को अभिलेखमा पनि यस्तै विवरण उल्लेख छ। डिल्लीबजार, लगत फाँटमा रहेको १९६७ सालको ठमेलको पोता लगतमा कमलपोखरी डिलसमेत साढे २६ रोपनी उल्लेख गरिएको छ। पोखरी वरिपरिको डिल, पुरानो बाटोसमेत बारीको थँ बहिलका गोप्रसादसिंह प्रधानले लिएको ठेक्काबारे उल्लेख गरिएको अभिलेख छ।

पोखरी नजिक निर्माण भइरहन्थे। पोखरीको निकै स्याहारसुसार हुन्थ्यो। त्यससम्बन्धी दस्ताबेजले पनि पोखरीको गरिमा र महŒव देखाउँछ। कबुलियतपत्रमा समेत पोखरी उल्लेख गरिन्थ्यो। १९४७ सालमा ठिमीका काशीनाथ श्रेष्ठले घर बनाउँदा कबुलियत गरेको पत्रमा थँ बहिल भगवान्को बिर्ता कमलपोखरी भनी उल्लेख छ। १९४७ मा कमलपोखरीको पश्चिमपट्टिको पर्खालमा ढोका बनाउने र पर्खाल भत्केको बिग्रेको बनाउनेबारे अभिलेख छ। १९५० को अभिलेखले पनि पोखरीको डिलको विषय उल्लेख गरेको छ। १९५९ मा भगवान् बहालको निकास कमलपोखरीमा पठाउन बहालअगाडि कुलो बनाउने अभिलेख छ। कमलपोखरीको पश्चिमपट्टिको पर्खालदेखि कमलपोखरीसम्म गुम्बज हाली पानी जाने निकास बनाउने बारे १९६१ सालको अभिलेख छ।

धार्मिक महत्वको भएकाले पोखरी समयसमयमा सफा गरिन्थ्यो। १९४७ को स्याहामा कमलपोखरीमा घाँस उम्रेको फोहोर सफा गराउन मोही रैतीहरूलाई खाजा खुवाउनसमेत लाग्ने रकमको विवरणसहित कमलपोखरी पर्खाल भत्केको बिग्रेको बनाउनेबारे अभिलेख छ। १९५० र १९५१ मा कमलपोखरी सफा गर्नका लागि काम लगाउँदाको खाजा खर्चको विवरणसहित लिखत छ। १९५३ को आवर्जेमा कमलपोखरी सफा गर्नेहरूलाई दिउँसो खाजाभात खुवाउन गरिएको खर्चको विवरण छ। १९७० को लिखतमा पोखरीको पेटीमा उम्रेको घाँस काट्ने ठेक्काबारे उल्लेख छ।

पोखरीको डिलमा सुन्दर बगैंचामा फलफूल रूख रहेको ऐतिहासिक दस्ताबेजले पुष्टि गर्छ। १९४९ मा पोखरीको डिलको बारीमा फलेको भोगटेको बिक्रीबारे उल्लेख भएको भगवान् गुठीको अभिलेख छ। १९५१ मा पोखरीको डिलको बारीमा फलेको बिमिरो र सुन्तला बिक्री गरिएको अभिलेख छ। १९७० मा पोखरीका डिलमा फलेको सुन्तला बिक्री गरिएको अभिलेख छ। १९५३ को स्याहामा कमलपोखरी डिलको बगैंचा हेरविचार गर्नेलाई बस्न ठाउँ बनाउने उल्लेख छ। पोखरी वरिपरि सुन्दर बगैंचा थियो जहाँ सुन्तला, बिमिरो, भोगटे फल्थे। अभिलेखहरूका अनुसार फलफूल बिक्रीका लागि ठेक्का दिने गरिएको थियो।

पोखरी वरपरको क्षेत्रबारे ठेक्कासमेतको ऐतिहासिक विवरण सुरक्षित छन्। अघिल्लो वर्षको ठेक्का सम्झौताको पत्र अर्को वर्ष विवरणसहित राख्ने गरिएको देखिन्छ। १९५६ को पोखरीको डिल पूर्वदक्षिणको ठेक्काबारे उल्लेख गरिएको १९५७ को विवरणबाट देखिन्छ। १९५७ को सिधवीर प्रधानको पोखरीको डिलको उत्तरतर्फको ठेक्काबारे १९५८ सालको विवरणमा देखिन्छ। ठेक्का लिएर रकम तिरेको विवरणसमेत गुठीमा सुरक्षित छ। गोप्रसादसिंह प्रधानले कमल पोखरीको चौतर्फी डिलको जग्गाको ठेक्कास्वरूप मोरु ४० गुठीमा दाखिला गरेको १९५८ को ऐतिहासिक विवरणमा उल्लेख छ। १९७० को अभिलेखमा पोखरीबाहेकको डिलका बाली फलफूलसमेत गोप्रसादलाई ठेक्का गएको गुठीको अभिलेखले देखाउँछ।

पोखरीको डिलको बगैंचाको उत्पादन, फूल र पात लिन ठेक्कासमेत लिइन्थ्यो। १९५० सालको सिधवीर प्रधानको कमलपोखरी डिलको उत्तरको ठेक्का र गोप्रसादसिंह प्रधानको पूर्वदक्षिणको ठेक्काबारे उल्लेख गरिएको १९५१ को अभिलेख गुठीमा छ। १९६४ को अभिलेखअनुसार गोपालप्रसाद प्रधानले लिँदै आएको उक्त ठेक्का सुचेतसिंह प्रधानले लिएको उल्लेख छ। सुचेतसिंहले लिएको ठेक्काबारे १९६५, १९६७, १९६८ को अभिलेख गुठीमा छ। १९७०, १९७१, १९७४ लगायतको अभिलेखअनुसार कमलपोखरीमा फुलेको कमलको फूल र पात गुठी तहबिलबाट टिपाई बिक्री गरिएको थियो। यसमा कमलपोखरीलाई श्री भगवान्को बिर्ता भनिएको छ। १९७६ सालसम्म पोखरीको स्याहारसुसारबारे अभिलेखमा उल्लेख छ। त्यसपछिका अभिलेखहरुले पोखरी हडप्न थालिएको देखाउँछ।

हडपिएको अभिलेख
सुन्दर पोखरी र वरिपरि बगैंचा भएकैले हडप्ने प्रयास एक सय वर्षअगाडि देखि हुँदै आएको ऐतिहासिक अभिलेखहरूले देखाउँछन्। सत्ता र शक्तिको आडमा केशरशमशेर मात्र पोखरी हडप्न सफल भए। उनका सन्तानले पोखरी पुरेर जग्गाको लालपुर्जा निकाले। ऐतिहासिक दस्ताबेजले यसको पुष्टि गर्दछ। १९५३ को विक्रमशील महावीर गरुड भगवान् गुठीको जग्गा जनरल केदारनरसिंह राणाको पर्खालभित्र पर्न गएको गुठीमा रहेको अभिलेखमा उल्लेख छ। गरुड भगवान् गुठीको १९७१ सालको अभिलेखमा कर्नेल इमानसिंह बस्न्यातले १९५८ मा घर क्याम्पा बनाउँदा खिचलोको कारबाही हुँदा उक्त जग्गा भगवान्लाई चढाएको जग्गा हो भनी १८३९ सालको लालमोहर र १९३७ को दुई छापे रुक्का दस्तखतबमोजिम ठमेलको भगवान्को नामको चार किल्ला सिमाना उल्लेख गरी पहाद बन्दोबस्त बिर्ता फाँटबाट श्री ३ महाराज चन्द्रशमशेरलाई चढाएको रिपोर्टमा उक्त जग्गाको सट्टा भर्नाबारे उल्लेख छ।

१९५८ मा भगवान्को बिर्ता जनरल जित शमशेरजंग राणाले आफ्नो कम्पाउन्डभित्र पारेको पोखरीको डिलको जग्गाबारे विवरण गुठीमा छ। तर जनरल जितशमशेरले कमलपोखरी तीन रोपनी जग्गा आफ्नो कम्पाउन्डभित्र पर्न गएको कमलपोखरीको डिलको जग्गा सट्टाभर्नाका लागि इमाडोलमा जग्गा दिएको तत्कालीन गरुड भगवान् गुठीका १२ जना गुठीयारका नाममा जितशमशेरबाट पठाएको पत्र छ। जितशमशेरले सट्टाभर्नाबापत दिएको इमाडोलमा समेत कमलपोखरी कायम गरिएको थियो। जितशमशेरको पर्खालभित्र पर्न गएको पोखरीको डिलको जग्गा बारीबापत १९५६ मा बाली बुझाएको १९७० को अभिलेखले देखाउँछ।

१९७७ मा केशरशमशरेबाट कमलपोखरी लिने विषय अभिलेखमा उल्लेख छ। सोही सालको अभिलेखअनुसार कमलपोखरी केशरमहलभित्र पारी सो पोखरीदेखि पश्चिमपट्टिको पर्खाल भत्काइएको बारे उल्लेख गरिएको उल्लेख छ। केशरशमशेरले पोखरी आफ्नो दरबारभित्र पारेको र डिलको सट्टाभर्नाबापत जग्गा दिने र पोखरीको प्रयोग गरेबापत मोरु १२५ दिने भन्ने उल्लेख गरी गुठीका तत्कालीन बहिदान डिल्लीसिंह प्रधानलाई लेखिएको गुठीमा रहेको पत्रमा उल्लेख छ। उक्त जग्गा प्रयोग गरेबापत केशरशमशेरले मोरु १२५ तिर्ने गरेको ऐतिहासिक अभिलेखले देखाउँछ। केशरशमशेरले भगवान गुठीमा दर्शन गर्न गई रकमसमेत चढाउने गरेको अभिलेखमा उल्लेख छ। १९८८ मा गरुड भगवान् गुठीबाट पोता तिरेको पोता तहसिल अड्डाको पोता रसिद पत्रमा कमल पोखरी डिलसमेत साढे २६ रोपनी उल्लेख छ। केशरशमशेरले पर्खालभित्र पारेको उक्त पोखरीको सम्झौताबापत रु. १२५ दिँदै आएकोमा उनको मृत्युपछि उक्त रकम तिर्न छाडिएको २०२५ सालमा गुठीयारहरुले गुठी संस्थानलाई लेखेको पत्रबाट बुझिन्छ। सम्झौताबापत रकम पनि नतिरेको र सट्टाभर्नाबापत रकम पनि नतिरेको भन्दै उक्त पत्र लेखिएको थियो।

केशरशमशेरपछि केयूरशमशेर कमलपोखरी हडप्न सक्रिय भए। २०२७ सालदेखि मुद्दामामिला चल्यो। २०३३ साल पुस ३ मा कमलपोखरी र त्यसको डिल कायम हुनुपर्ने भनी सर्वोच्च अदालतले फैसला गर्‍यो। सोही वर्ष माघ ८ मा गुठीयार, केयूरशमशेर र गुठी संस्थानबीच सर्वोच्च अदालतमा मिलापत्र भई जग्गाको बहाल दिने सहमति भयो। यो सहमतिमा गुठीयारमध्येका केही विवादमा परे। २०३९ को जग्गाधनी पुर्जामा पोखरी उल्लेख छ। २०४२ सालको फिल्डबुकमा पनि पोखरी उल्लेख छ। तर, जग्गा हडप्न केशरशमशेर राणकी बुहारी अम्बिका राणा सक्रिय भइरहिन्। २०३९ सालदेखि नै मोही दर्ता गरी एउटा कित्ता बिक्री गरियो। जग्गा कित्ताकाट गरी बिना पौड्याल र सुधा पौड्यालका नाममा राजीनामा पास गरेको देखिन्छ। सोही जग्गा पुनः अम्बिकाका भाई शंकरप्रसाद शाहको नाममा पास गरिएको देखिन्छ। जग्गा किनबेच पटकपटक भएको देखाएर योजनाबद्ध तरिकाले हडपिएको हो।

२०४४ मा जग्गा श्री ५ को सरकारका नाममा आएको र २०४७ मा गुठी लगत तथा तहसिल कार्यालयले रैतानी गरिदिएको थियो। तर, गुठी संस्थानले राजगुठीको जग्गा व्यक्तिको नाममा रैतान गरेको भन्दै निर्णय सच्याएर रैतानी रद्द गरी पुरानै अवस्थामा फर्कायो। अम्बिका राणा यसै मुद्दा अम्बिका राणा अदालत गएपछि अदालतले रैतानीको पुरानो निर्णय सदर गर्‍यो। २०६२ मा गुठीयार र राणाबीच विवादास्पद सम्झौता भई गुठीको सबै पर्व परम्परा सञ्चालन गर्न एक करोड ५० लाख रुपैयाँ दिने र गुठीयारले हकदाबी छाड्ने विवादास्पद सहमति गराइयो। सहमति विवादमा पर्‍यो। २०६३ मा सुरेशाय हाउजिङलाई जग्गा बिक्री गरियो। २०६४ मा सुरेशायले कित्ता नम्बर २४१२ र शंकर शाहले कित्ता नम्बर १६१६ र १६१८ को विवादास्पद जग्गा प्रतिमा पाँडेलाई बिक्री गरेको मालपोत कार्यालयको रेकर्ड छ। पाँडेको नाममा जग्गा पुगेपछि २०६४ को माघ १७ गते छायादेवी कम्प्लेक्स प्रालिका नाममा पास गरेर छाया कम्प्लेक्स निर्माण प्रक्रियालाई गति दिएको देखिन्छ।

पोखरी मात्र नभई कानुनको छिद्र दुरुपयोग गरी गुठीका हजारौं रोपनी जग्गा व्यक्तिले हडपिसकेकाले फर्काउन असम्भव लागेको बताउँछन् विश्वम्भरलाल प्रधान। तर, सर्वोच्च अदालतले यस मामिलाको मुद्दाबारे निस्सा प्रदान गरिसकेको र गुठी संस्थानसमेत प्रमाणिक अभिलेखसहित प्रस्तुत भइसकेकाले कमलपोखरीको इतिहास पुनजीर्वित हुने आशा पलाएको छ। यस मामलामा गहिरो अध्ययनसहित अभियानमा सक्रिय भागवतनरसिंह प्रधान पुराताŒिवक अभिलेखसहित कानुनी लडाइँ लडेर कमलपोखरी स्थापित गरेरै छाड्ने दृढता व्यक्त गर्छन्। छाया सेन्टरका निर्देशक सुमन पाण्डे प्रश्न गर्छन्, ‘कमलपोखरी २६ रोपनी थियो भने बाँकी १३ रोपनी जग्गाबारे किन कोही बोल्दैन ?’ कमलपोखरीबारे उठेको मुद्दाले जग्गा प्रयोगकर्ता संकटमा परेका छन् भने प्राचीन स्मारक र पुरातात्विक महŒवका स्थानको संरक्षण र पुनस्र्थापनाबारे सरकार र नागरिकमाझ दबाब उत्पन्न भएको छ। गुठी संस्थानका प्रवक्ता सरोज थपलिया राजगुठीअन्तर्गतको प्राचीन कमलपोखरीको जग्गा फर्काउन आफूहरू कानुनबमोजिम सक्रिय भइसकेको बताउँछन्। उनी भन्छन्, ‘सर्वोच्च अदालतले मुद्दा चलाउन निस्सा प्रदान गरिसकेकाले गुठी संस्थान सप्रमाण प्रस्तुत हुन्छ।’ 






यसमा तपाईको मत

अन्य समाचार

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

Ncell Footer Ad