१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

झापा ११ माथि दाउफिन्सको फराकिलो जित

रूपन्देही – झापा ११ लाई भारी गोलअन्तरले हराउँदै पाहुना टोली दाउफिन्स एफसी क्यामरुन बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। एन्फा एकेडेमीको खेलमैदान देवीनगरमा मंगलबार भएको खेलमा पाहुना टोली दाउफिन्सले झापा–११ लाई ५–० को फराकिलो अन्तरले हराएको हो । पहिलो हाफमा १–० को अग्रता लिएको दाउफिन्सले दोस्रो हाफमा गोलको वर्षा नै गर्यो।

दाउफिन्सका लागि २६औं मिनेटमा यानिकले पहिलो गोल गरे। गोलरक्षक दीप क्षत्रीले गम्भीर गल्ती गर्न पुग्दा झापाले पहिलो गोल खान पुगेको थियो।

खेलको ५०औं मिनटमा पिटेंगाले दाउफिन्सका लागि दोस्रो गोल गरे। खेलको ५८औं मिनेटमा औरेल इनामी दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि अफ्रिकी टोली दश खेलाडीमा सीमित हुन पुगेको थियो। तर पनि एकतर्फी जित निकालेको दाउफिन्सका लागि ७३औं मिनेटमा नाइसले तेस्रो गोल गरे।

लगत्तै ७५औं मिनेटमा डिडेर टिनाले चौथो गोल गरे।  ८८औं मिनेटमा म्यान अफ दी म्याचसमेत घोषित बिक बिकले पाँचौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे। दाउफिन्सका अगाडि झापा ११ फिक्का साबित भयो। उद्घाटन खेलमा झापा ११ ले एपिएफलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो। दाउफिन्सले सेमिफाइनलमा आयोजक रूपन्देही ११ सँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतियोगिताअन्तर्गत बिहीबार अन्तिम क्वार्टरफाइनल हुनेछ। लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र च्यासल युथ क्लबबीच खेल हुने आयोजकले जनाएको छ।  बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा जिल्ला फुटबल संघ रूपन्देहीको आयोजनामा जारी प्रतियोगितमा विजेताले नगद ८ लाख ८० हजार पुरस्कार, कप मेडल प्राप्त गर्नेछ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App