१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संरक्षण अभियन्ता प्रधानसँग प्रहरी सोधपुछ

काठमाडौं - छायाँ कम्प्लेक्सको विरोधमा उत्रिएका सम्पदा संरक्षण अभियन्ता भागवतनरसिंह प्रधानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बुधबार दिउँसो टेलिफोन गरी प्रधानसहित नमस्ते सायमी, यादव कायस्थ र मनिष श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गरेको हो।

प्रधानले आफूहरुलाई एक घन्टाभन्दा बढी समय प्रहरी नायब उपरीक्षक विनोद घिमिरेको कार्यकक्षमा राखिएको जानकारी दिए। छाया कम्प्लेक्सका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको हो। महानगरीय प्रहरी प्रभाग दरबारमार्गका इन्चार्ज प्रहरी नायब उपरीक्षक घिमिरेले शान्तिसुरक्षा पाऊँ भनी उजुरी परेको आधारमा बोलाएर कुराकानी गरिएको बताए। उनले भने,‘उजुरी आएपछि दुवै पक्षलाई बोलाएर छलफल गरिएको हो।’

प्रधानलाई प्रहरीले बुधबार बिहानै टेलिफोन गरी उपस्थित हुन भनेपछि उनका समर्थकहरु दरबारमार्गस्थित प्रभागमा पुगेका थिए। उनीहरुलाई दरबारमार्ग प्रहरीले बाहिर पठाएर उजुरी परेका चारजनासँग सोधपुछ गरेको थियो। सोधपुछका क्रममा छाया कम्प्लेक्सका निर्देशक सुमन पाण्डे र प्रबन्ध निर्देशक श्रेष्ठ पनि उपस्थित थिए। चारजनालाई सोधपुछ सकेपछि प्रहरी नायब उपरिक्षक घिमिरेले पाण्डे र श्रेष्ठसँग एक घन्टा छुट्टै कुराकानी गरेका थिए। पाण्डे र श्रेष्ठले आफूहरु कडारुपमा प्रस्तुत हुने धम्की दिएको प्रधानले बताए। प्रहरी नायब उपरीक्षक घिमिरेले छाया कम्प्लेक्समा कुनै किसिमको अवरोध उत्पन्न नगर्न चेतावनी दिएको बुझिएको छ। ‘विरोध गर्ने भए बाहिर गर्नू, भित्र गएर त्यस्ता गतिविधि नगर्नू,’ घिमिरेको भनाइ उद्धृत गर्दै प्रधानले भने।

मंगलबार छाया कम्प्लेक्समा पत्रकार सम्मेलन गरेपछि सम्पदा संरक्षण अभियन्ता प्रधानसहित उनका समर्थकले सम्मेलन स्थलमै आफ्नो धारणा राख्न खोज्दा विवाद उत्पन्न भएको थियो। प्रधानले आफूसँग कमलपोखरीबारे यथेष्ट प्रमाण रहेको भन्दै संकलित अभिलेख देखाउन खोज्दा छाया कम्प्लेक्सका पदाधिकारीले उनलाई बाहिर निकालेका थिए। त्यसपछि प्रधानसहित उनका समर्थकले धेरै बेर नाराबाजी गरेका थिए। घटनापछि छाया कम्प्लेक्सले प्रहरीमा उजुरी गरेको थियो। सम्पदा अभियन्ता भागवतनरसिंह प्रधानले आफूहरु कुनै हालतमा पछि नहट्ने बताए। कुनै किसिमको डर, धाक, धम्कीको अगाडि नझुक्ने भन्दै कमलपोखरी ब्युँताएरै छाड्ने बताए। ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा छाया कम्प्लेक्स निर्माण भएको स्थानमा कमलपोखरी थियो भन्ने स्पष्ट भइसकेपछि सर्वोच्च अदालतले मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरेको बताए। पहुँच र प्रभावको दुरुपयोग गरी सम्पदा मासिएकोमा सरकारले गम्भीर भई कदम चाल्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ९ फाल्गुन २०७५ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App