१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाइप जडान र ढुवानीको कामले ‘रफ्तार’ लिदै

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पेनस्टकका निम्ति जडान गर्न पाइप बोकेर हिँडेका टेलर दोलखा–सिगंटी सडक खण्डको सुन्द्रावतीमा।  तस्बिर : रमेश/नागरिक

दोलखा – राष्ट्रिय गौरवको तामाकोसी आयोजनामा पेनस्टक पाइप ढुवानी तथा जडानको काममा ठेकेदारले रफ्तार बढाएको छ। 
आयोजनाको पेनस्टक पाइप जडान तथा ढुवानीको काममा ढिला गरेपछि त्यसको जिम्मा पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोका कतिपय काम त्यहीं कार्यरत अर्को अस्ट्रियन ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिइएपछि पेनस्टक ढुवानी तथा जडानको कामले तीव्रता पाउन थालेको हो। 

पेनस्टकको ढिलाइकै कारण आयोजनाको समयतालिका नराम्ररी प्रभावित हुन पुगेको थियो। टेक्सम्याकोले गर्न नसकेका ढुवानी तथा जडानका कतिपय कामहरु दुई महिनाअघिदेखि एन्ड्रिजले थालेको थियो। माथिल्लो र तल्लो पेनस्टक जडानका कामहरु कम्पनीले मिलेर गरिरहेको आयोजनाका अधिकारीहरुले बताएका छन्। 

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार पेनस्टक पाइप जडानतर्फ निकै अफ्ठेरो मानिएको ठाडो सुरुङको बेन पाइप राख्ने काम गत साता सकिएको छ। यसअघि भारतीय कम्पनीले काम गर्दा यो राख्न उसलाई निकै सकस परेको थियो। ‘पेनस्टक सुरुङबाट तल गएर तेर्सो घुम्ने यो पाइप जडान गर्न भारतीय कम्पनीलाई निकै गाह्रो परेको थियो,’ उनले भने। न्यौपानेका अनुसार पेनस्टक जडान कार्यको रफ्तार दुवै ठेकेदारले बढाइरहेका छन्। आयोजनाको बाँधस्थलबाट सुरुङमार्ग हुँदै पावरहाउससम्म पानी पेनस्टक पाइपबाट खसालिन्छ। तामाकोसी आयोजनामा माथिल्लो र तल्लो पेनस्टक साफ्ट गरेर ६ सय ८३ मिटर पाइप जडान गर्नुपर्ने हुन्छ। आयोजनाले तीन सय १० मिटरको माथिल्लो पेनस्टक साफ्ट जडानको काम भारतीय कम्पनी टेक्सम्याकोलाई नै गराइरहेको छ भने तल्लो पेनस्टक साफ्टको तीन सय ७३ मिटर खण्ड अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोमार्फत गराइरहेको छ। ढुवानीको काम भने दुवैले मिलेर गरिरहेका छन्। 

ढुवानीको कामसमेत तीव्र पारिएको छ। भारतीय कम्पनी टेक्सम्याकोले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचउरमा अलपत्र छाडेका करिब ६० वटा पाइपको ढुवानी अन्तिम चरणमा पुगेको छ। आयोजनाका प्रवक्ता न्यौपानेका अनुसार आठवटा ठूला टेलरले पाइप ढुवानी गरिरहेका छन्। ‘एउटा पाइप खाडीचउरबाट आयोजनास्थल पुर्‍याउन झण्डै एक हप्ता लाग्ने रहेछ,’ न्यौपानेले भने, ‘अब त्यहाँ १० वटा जति बाँकी होलान्, एक साताभित्र त्यहाँ रहेका पाइपको ढुवानी सकिन्छ’। न्यौपानेका अनुसार भारतबाट ठेकेदार कम्पनीले ल्याउने पाइप ढुवानीसमेत क्रमिक रुपमा चलिरहेको छ। 

यसअघि भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले पेनस्टकमा चाहिने ठूला र साना गरेर एक सय ९८ वटा पाइपमध्ये आधाजसो सिन्धुपाल्चोकको सुनकोशीमा खसालेको थियो। बाँकी पाइप भने केही वीरगन्जसम्म आइसकेको र केही भारतबाट ल्याउने प्रक्रिया चलिरहेको आयोजनाले जनाएको छ। पेनस्टक पाइप जडानको काममा ढिलाइ हुँदा सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्ने कंक्रिटिङको कामसमेत रोकिँदै आएको छ। आयोजनामा सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र ट्रान्समिसन लाइन गरेर चारवटा प्याकेजमा विभिन्न विदेशी ठेकेदारमार्फत निर्माणको काम चलिरहेको छ। 

प्रकाशित: ९ फाल्गुन २०७५ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App