१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खुलामञ्च र लैनचौरमा अन्डरग्राउन्ड पार्किङ

काठमाडौं-  खुलामञ्चको ४८ रोपनी र लैनचौरस्थित अस्कल क्याम्पस अगाडिको ७ रोपनी सार्वजनिक जमिनमा दुईतले अन्डरग्राउन्ड पार्किङ बनाउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ। दुईतले अन्डरग्राउन्ड पार्किङसहित एकतले अन्डरग्राउन्ड सपिङ कम्प्लेक्स बनाउने तयारी पनि महानगरले गरेको छ।

महानगरपालिकाको अग्रसरतामा सार्वजनिक–निजी साझेदारीअन्तर्गत बनाउन अध्ययन थालेको छ। 'पहिलो चरणको अध्ययन प्रतिवेदन आइसकेको छ,' महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'प्रारम्भिक प्रतिवेदनमा छलफल गरी वृहत प्रतिवेदन तयार पार्न भनेका छौं।' तामाङका अनुसार विस्तृत प्रतिवेदन आएपछि स्विकृतिका लागि मन्त्रालय पठाइने र स्विकृति पाएपछि निर्माण प्रक्रिया अघि बढाइने छ।

दुई कम्पनी नेस्ट र पिकासो कन्सल्टेन्ट प्रालिले गरेको संयुक्त प्रारम्भिक अध्ययनले लैनचौरमा करिब ३ सय र खुलामञ्चमा १५ सय सवारीसाधन पार्किङ गर्न सकिने देखाएको छ। महानगरले जनाएनुसार लैनचौरमा निर्माण गरिने पार्किङले ठमेल क्षेत्र र खुलामञ्चको पार्किङले न्युरोड, बागबजार र वरपरका क्षेत्रको पार्किङ व्यवस्था हुने छ। खुलामञ्चको पार्किङबाट न्युरोड र महाबौद्ध जाने र बागबजार तथा बसपार्क जाने सबवे पनि निर्माण गरिने महानगरको योजना छ।

महानगरका सार्वजनिक–निजी साझेदारी कार्यक्रमका उपनिर्देशक शिव अधिकारीका अनुसार पार्किङ सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण गरिने र सबवे भने सरकारले निर्माण गर्ने तयारी छ। लैनचौरमा पनि ठमेलतिर जाने सबवे निर्माण गरिने जनाइएको छ। 'सबवे निर्माण महँगो भएकाले त्यसका लागि सरकारसँग आग्रह गरिनेछ,' अधिकारीले नागरिकसँग भने।

लैनचौरमा सपिङ कम्प्लेक्ससहित पार्किङ निर्माण गर्न ७० करोडदेखि १ अर्ब रुपैयाँ लाग्ने अनुमान महानगरको छ। त्यसैगरी खुलामञ्चमा निर्माण गरिने पार्किङको निर्माण लागतबारे अहिले कुनै अनुमान गरिएको छैन। पार्किङ निर्माणका लागि ३–५ वर्ष लाग्नसक्ने अनुमान गरिएको अधिकारीले बताए। उनले भने, 'निजी क्षेत्रलाई निर्माण समयसहित बढीमा ३० वर्षका लागि पार्किङ सञ्चालन गर्न दिइनेछ। 

दुई चरणमा टेन्डर आह्वान गरी निर्माण कम्पनी छानिने छ। निजी क्षेत्रबाट टेन्डर नपरे निर्माण योजना सम्पन्न गर्न नसकिने महानगरले जनाएको छ।

प्रकाशित: १२ असार २०७३ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App