१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

लोकतन्त्रको लय

लोकगायक पशुपति शर्माको रातारात लोकप्रिय बनेको गीत ‘लुटन सके लुट कान्छा’ विरुद्ध प्रयोग गरिएको सत्ताशक्तिले हाम्रो स्वतन्त्रतामाथिका खतरालाई उजागर गरेको छ। लोकतन्त्रको मेरुदण्ड भनेकै अभिव्यक्ति स्वतन्त्रता हो। नागरिकले आफ्ना सिर्जना कर्मद्वारा सत्ताप्रति व्यंग्य गर्ने हाम्रो मुलुकको मान्य समृद्ध परम्परा छ। पञ्चायतकालमा समेत हाम्रा कलाकारहरूले तत्कालीन सत्ता र त्यसको नेतृत्वमाथि व्यंग्य गर्न पाउँथे। अरुबेला बोल्न नपाए पनि कम्तीमा गाईजात्राको अवसर पारेर भए पनि कलाकारले विकृति–विसंगतिविरुद्ध आफ्ना सिर्जना प्रस्तुत गर्थे। त्यसमा नागरिकका निराशा, अपेक्षा र भावना हुने गरेका थिए। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को नाम अग्रणी छ। अर्का वरिष्ठ कलाकार शम्भुजीत बाँस्कोटा पञ्चायतका बेला गाईजात्रामा प्यारोडी गाएर तहल्का मच्चाउनेमध्येका एक हुन्। पञ्चायत व्यवस्थाजस्तो कठिन र कठोर समयमा समेत सिर्जनाका माध्यमबाट जनतालाई अभिव्यक्ति दिनु सहज काम थिएन। भूमिगत समयमै राल्फाजस्तो गीतसंगीत समूहसमेत सक्रिय भएको हो। त्यसले समेत आफ्ना सिर्जनामार्फत् नागरिकलाई आवाज दिन सकेको हाम्रो इतिहास छ। पशुपतिको गीतले निःसन्देह वर्तमान सत्ता राजीतिमा रहेका व्यक्तिहरूको चित्त दुखाइ हुनसक्छ। यस्ता सिर्जना सार्वजनिक भएपछि त्यसलाई उपभोग गर्ने सर्वसाधारणले नै ठीक÷बेठीक छुट्याउन सक्छन्। त्यसमा समर्थन र विरोध दुवै हुन सक्छ। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका तर्फबाट उनको ‘करियर’ सिध्याइदिने धम्की आउनु आफैंँमा चिन्ताको विषय हो। व्यक्तिका सिर्जनाविरुद्ध संगठित आक्रमणको धम्कीले यहाँको वातावरणलाई असजिलो बनाउँछ। भय र त्रासमा सिर्जना हुन सक्दैन। बल नहुने कवि÷कलाकारले सत्तारुढ दलका कार्यकर्ताको मनस्थिति हेरेर सिर्जन गर्ने पनि होइन। हामीकहाँ यस किसिमको असहिष्णु व्यवहार विगतमा विरलै देखिने गरेको हो। तर यसपटक पशुपतिले आफ्नो गीत युट्युबमा अपलोड गर्नासाथ आएको धम्कीका कारण ‘सेल्फ सेन्सरसिप’ गर्नुपरेको छ। उनलाई माफी माग्दै त्यसलाई युट्युबबाट हटाउन बाध्य पारिएको छ। पशुपतिको गीतमा जे अन्तर्वस्तु परेको छ, त्यो उनको कल्पनाको विषय होइन। यथार्थमा सार्वजनिक जीवनमा अहिले चर्चामा रहेकै विषयलाई उनले सिर्जनाको माध्यम प्रयोग गरेका छन्। त्यसमा पनि व्यंग्य विधा भनेको केही चोटिलो पनि हुन्छ। त्यसले जसलाई प्रहार गर्ने हो पक्कै पनि मर्माहत बनाउन सक्छ। तर, लोकतन्त्र भनेकै आफ्ना काममा सार्वजनिक निगरानी हुन्छ, आलोचना पनि हुन्छ तर त्यसलाई मित्रवत् सल्लाहका रूपमा ग्रहण गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यवस्था हो। लोकतन्त्रका नेता तथा कार्यकर्ताको छाला अलि बाक्लो हुनैपर्छ। त्यसो भयो भने आलोचना सहने क्षमता बढ्छ। आलोचनाबाट उतर्सिनेले सार्वजनिक जीवनमा बस्नै हुँदैन। त्यसमा पनि राम्रो काम गर्नेलाई हाम्रो समाजमा निकै सम्मान पनि गरिन्छ। राजनीतिक नेतृत्वले आफ्ना कामबाट गाली र ताली दुवै पाउँछ। गाली पाउँदा पनि आफूलाई सच्याउने मौकाका रूपमा लिन सक्नुपर्छ। 

अहिलेको बिग्रेको अवस्थाको जिम्मेवार वर्तमान सरकारमात्र होइन। विगतका सरकारहरूले गर्न नसकेका काम समेत यसले गर्ने भनेर आमजनमानसमा विश्वास दिलाएको छ। तर कलाकारले आफ्नो रचना गर्दा तत्कालीन उपस्थित सरकारलाई हेरेर गर्ने होइनन्। अचेल आफूलाई चित्त नबुझ्ने बित्तिकै तिनलाई विपक्षीको पोल्टामा हालिदिने चलन छ। कवि, कलाकार र स्वतन्त्र बुद्धिजीवी कसैका पनि होइनन्। वास्तवमा आलोचकहरू सत्ताका असल मित्र हुन्। गायक शर्माको गीत अपलोड हुनासाथ दिइएको धम्कीले भने यसो भन्दैन। सरकारको इशारा नहोला। युवा संघको तर्फबाट जे÷जस्ता शब्दावलीको प्रयोग पशुपतिलाई धम्क्याउन गरिएको छ, त्यसले कालान्तरमा हाम्रो स्वतन्त्रतालाई खुम्च्याउने निश्चित छ। ‘पशुपतिजी केही पंक्तिको वाहवाही पाउनु होला तर यसको दूरगामी प्रभाव कस्तो पार्छ हेक्का रहोस्’, युवा संघको फेसबुक पोस्टमा भनिएको छ– ‘यो असह्य भद्दा प्रस्तुतिका कारण एक चिरपरिचित कलाकारको करियरमा असर पर्न सक्ने कडा कदमका लागि हामी वाध्य हुनु नपरोस्।’ सत्तारुढ दलको भातृ संगठनबाट यसरी धम्कीको भाषामा कुनै कलाकारका सिर्जना हटाउन आउने दबाबले कुनै अर्थमा पनि हाम्रो लोकतान्त्रिक परम्परालाई बलियो बनाउँदैन। यतिबेला मुलुकले २००७ सालदेखि मनाइँदै आएको प्रजातन्त्र दिवस मनाइरहेको छ। यस हिसाबले हेर्दा पनि मुलुकमा प्रजातन्त्रको इतिहास ७० वर्षको भइसकेको छ। तर नागरिकले स्वतन्त्र र निर्भिक भई आफ्ना धारणा सार्वजनिक गर्न नसक्ने अवस्था बनाइन्छ भने त्यसले प्रजातन्त्रको जग बलियो बनाउँदैन। यो घटनाबाट पाठ सिक्दै आउँदा दिनमा कसैले पनि यस्तो धम्की दिने अवस्था नआओस्। सिर्जनालाई धम्क्याएर होइन, बरु यसरी आउने अभिव्यक्तिबाट आफूलाई सच्याएर अघि बढ्न सक्ने उदारता वाञ्छनीय छ। सबैखालको लय स्वीकार्न सकेमात्र लोकतन्त्रले पनि लय पक्रन्छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App