१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पानीजहाज केही दिनमै, रेल चाँडै सञ्चालनमा आउँछः प्रधानमन्त्री ओली

डडेल्धुरा– प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत आयोजना आफ्नै पालमा फेरि काम सुरु हुने दाबी गरेका छन्। १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न मंगलबार डडेल्धुरा पुगेका प्रधानमन्त्री ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना निर्माण कार्य आफ्नै कार्यकालमा शुरु हुने दाबी गरेका हुन। 

सदरमुकामदेखि तीन किलोमिटर दुरीमा रहेको स्याउले बजार नजिकै दुधकाँडेमा निर्मित स्याउले १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री रहेकै बेला पश्चिम सेती आयोजनाको निर्माण कार्य आरम्भ हुने जिकिर गरे। 

ट्युब र तुइनको प्रयोग गरेर महाकाली नदीमा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको बताउँदै ओलीले आफ्नो भारत भ्रमणका क्रममा उत्तरप्रदेश र उत्तराखण्ड सरकारका मुख्यमन्त्रीसँग महाकाली नदीमा पुल निर्माणका लागि छलफल गरेको र चाँडै पक्की पुलहरु निर्माण गरिने बताए।

सरकारले चमत्कारिक ढंगबाट विकास कार्य गरिरहेको दाबी गर्दै उनले केही दिनमै पानीजहाज सञ्चालनमा आउने र पूर्व पश्चिम रेलमार्गका लागि अध्ययन भइरहेकाले रेल सेवासमेत चाँडै सञ्चालनमा आउने बताए। हरेक ग्रामीण सडकलाई अनिवार्य रुपमा दुई लेनको बनाइने बताउँदै प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै आत्मविश्वासका साथ आफ्नो विकास आफैंले गर्ने बाटोमा सरकार अघि बढिरहेको बताए। 

नेपाल प्राकृतिक श्रोतले भरिपूर्ण देश भएकाले देशको विकासका लागि हरेक नेपालीमा आत्मविश्वास हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले वैदेशिक सहयोग समेत जुटाएर विकासका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको जिकिर गरे। उनले हरेक दिन विकासका नयाँ आयोजनाहरु शुभारम्भ भइरहेको बताउँदै सुखी र समृद्ध नेपाल निर्माणको दिशातर्फ सरकार अघि बढिसकेको दाबी गरे। 

मुुलकमा भ्रष्टाचार नियन्त्रणका लागि आफूले कडाईका साथ प्रस्तुत भएकै कारण कारवाही हुने डरले भ्रष्टाचारमा संलग्न अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त नै राजीनामा दिन बाध्य भएको बताउँदै ओलीले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाडिने प्रतिवद्धता ब्यक्त गरे। 

उर्जामन्त्री बर्षामान पुनको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा भौतिक योजना मन्त्री रघुवीर महासेठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपाल सरकारका उच्च अधिकारीहरु, सुदूरपश्चिम प्रदेश सरकारका मुुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पठानसिँह बोहरा लगायत उच्च पदस्थ अधिकारीहरु सहभागी थिए। 

सुदूरपश्चिम प्रदेशका सात ओटा पहाडी जिल्लाकमा विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले नेपाल सरकारको लगानीमा सवस्टेशन निर्माण गरिएको हो। सवस्टेशन निर्माण गर्न रु २८ करोड लागत अनुमान गरिएको आयोजनाले जनाएको छ।  इष्ट इन्डिया उद्योग र वाइवा इन्फाटेक जेभीले निर्माण कार्य सम्पन्न गरेको सवस्टेशनमा ३० एमभीए क्षमताको १३२÷३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ८ एमभीए क्षमताको ३३÷११ के.भी.को एउटा वितरण टान्सफर्मर गरि दुईटा ट्रान्सफर्मर राखिएका छन्।

प्रकाशित: ७ फाल्गुन २०७५ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App