१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मलेसियालाई पराजित गर्दै नेपालको विजयी सुरुवात

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायरमा नेपालले विजयी सुरुवात गरेको छ। थाइल्याण्डको बैंककमा जारी खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।

नेपालले जितका लागि दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै २० ओभर खेलेपनि ७ विकेटको क्षतिमा ९२ रनमा मात्र जोड्न सक्यो।  मलेसियाका लागि क्रिष्टिना बारेतले सर्वाधिक २१ रन बनाइन्। उनले २९ बलमा १ चौंका प्रहार गरिन्।

त्यस्तै कप्तान विन्फ्रिड दुराइसिंगमले ३० बलमा १८ र साशा आजमीले २२ बलमा १६ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्। मलेसियालाई सस्तैमा समेटन नेपालका तर्फबाट करुणा भण्डारी र सरिता मगरले २–२ तथा कविता कुँवर र सिता राना मगरले १–१ विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो। ओपनर काजल श्रेष्ठ र सिता राना मगरको जोडिले पहिलो विकेटका लागि ४६ रनको बलियो साझेदारी गरेका थिए।

नेपालका लागि सिताले सर्वाधिक ४२ रनको योगदान गरिन्। ४० बल सामना गरेकी सिताले २ चौंका प्रहार गरिन्। कप्तान रुविना क्षेत्रीले २५ बलमा ३ चौंकाको सहायतामा ३३ रन जोडिन्। त्यस्तै काजल श्रेष्ठले २९ बलमा १६ र इन्दु बर्माले १४ बलमा १३ रन बनाइन। नेरी थापाले ६ रन बनाउँदा सरिता मगर १ रनमा नटआउट रहिन। ममता चौधरी भने ० रनमा आउट भएकी थिइन्।

मलेसियाका लागि विन्फ्रिड दुराइसिंगम, साशा आजमी र झुमिका आजमीले समान १–१ विकेट हात पारिन्। जितसँगै नेपालले महत्वपूर्ण २ अंक जोडेको छ।

सन् २०२० मा हुने ट्वान्टी–२० विश्वकप र २०२१ मा हुने एकदिवसीय विश्वकपको यो प्रतियोगिता पहिलो खुड्किलो रहेको छ। विश्वकपमा पुग्ने पहिलो खुड्किलोका रूपमा लिएको यो प्रतियोगिताको शीर्ष टोली ग्लोबल क्वालिफायरका लागि योग्य हुनेछ। जुन दुवै स्पर्धाका विश्वकपका लागि मान्यता दिइएको छ। पहिलो ट्वान्टी–२० र अर्को एकदिवसीय हुनेछ।

न्यूनतम अभ्यासका बावजुद पनि थाइल्याण्डमै भएको ट्वान्टी–२० स्म्यास प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली महिला टोली उच्च मनोबलका साथ पुनः थाइल्याण्ड पुगेको हो। छनोट प्रतियोगिता सोमबारबाटै सुरु भएको हो।

यसअघि नेपालले गत महिना थाइल्याण्डमै भएको ट्वान्टी–२० स्म्यास प्रतियोगितामा आयोजक थाइल्याण्डसँगै संयुक्त अरब इमिरेट्स (युएई), चीन र मलेसियासँग खेलिसकेको छ। समूहचरणका सबै खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको नेपालले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको थियो।

तर, फाइनलमा आयोजकसँग स्तब्ध हुँदा उपविजेता बन्दै स्वदेश फर्किएको थियो। त्यसैले पनि नेपाली टोलीलाई यो प्रतियोगिता जितेर थाइल्यान्डमाथि बदला लिने अवसरको रूपमा नेपाली खेलाडीले लिएका छन्। क्वालिफायरका सबै खेलले ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाउने भएकाले वरीयतामा रहेका टोलीका लागि पनि यो क्वालिफायरले असर गर्नेछ। ट्वान्टी–२० वरीयतामा थाइल्यान्ड १२औं, युएई १४औं र नेपाल १६औं स्थानमा छन्।

नेपाली टोली : रुबिना क्षेत्री बेलवासे (कप्तान), सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कँुवर, अप्सरी बेगम, ममताकुमारी चौधरी, बिन्दु रावल ।
टिम अफिसियल : विनोद दास (मुख्य प्रशिक्षक), नीरा राजोपाध्याय (सहायक प्रशिक्षक), अमृता पौडेल (म्यानेजर), सकुन डानी ( फिजियो)।

प्रकाशित: ७ फाल्गुन २०७५ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App