१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

वडालाई हस्तकला क्षेत्रका रूपमा विकास गर्ने योजना छ

हरिप्रसाद बासुकला  वडा अध्यक्ष  भक्तपुर नगरपालिका वडा नं २

जनप्रतिनिधि भएपछि मुख्यमुख्य के–के काम गर्नुभयो ?
जनप्रतिनिधिमा निर्वाचन भएलगत्तै वडावासीको भेला राखी समस्या बुझ्यौं। त्यसपछि त्यहि अनुसार विकास निर्माणका कामहरू थाल्यौं, जस्तै : भत्केको एउटा पाटी बनायौं। अहिलेसम्म तीन पाटीको छाना बनाइसकेका छौं। त्यस्तै खौमा बंशगोपालको बाटोमा इँटा छाप्ने काम गर्यौं। 

वडामा के–के समस्याहरु देख्नुहुन्छ ?
वडामा खानेपानी, ढल, भूकम्पपीडितको नै समस्या रहेको छ। खानेपानी त देशभरकै समस्या भइहाल्यो। भूकम्पपीडितको पनि धेरै समस्या देखिन्छ, जस्तैः भूकम्पपीडितले भत्किएका घर बनाउन सकेका छैनन्। भूकम्पपीडितले पाउने पैसा नै पाएका छैनन्। एउटै घरका दुई वा सोभन्दा बढी घरमूली भएपछि अनुदान रकम पाउन समस्या देखिएको छ, जस्तै : भुइँतला र पहिलो तला एकको बाँकी अरुको नाममा हुनु। 

भूकम्पपीडित वडावासीका समस्या समाधानमा तपाइँले कतिको ध्यान दिन सक्नुभएको छ ?
वडाले गर्न सक्ने काम गरिरहेका छौं। अनुदान प्राप्त गर्न नसकेकालाई कसरी सहयोग गर्ने भन्ने विषयमा कुरा भइरहेको छ। यसलाई कसरी मिलाउन सकिन्छ भन्नेबारे  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कुरा गरिराखेका छौं।

वडामा खानेपानीको पनि उतिकै समस्या देखिन्छ, यो समस्या समाधानका लागि केही सोच छ ?
खानेपानीको समस्या त नगरपालिकाभरि नै छ। यस खानेपानीको समस्या समाधान गर्न भक्तपुर नगरपालिकाले तीन–चार ठाउँमा बोरिङ गरिसकेको छ। कुनै ठाउँमा काम भइरहेको छ। बोरिङको काम सकेको ठाउँमा ट्यांकी बनाउने काम गरिरहेका छौं। 

वडाको घना बस्तीमा भूकम्पले भत्केका घरहरूको पुनर्निर्माण जताततै भइरहेका देखिन्छन्। यसले हिँडडुलमै समस्या भइराखेको छ ? बटुवाको सहजताको लागि केही प्रयास भइरहेको छ कि ? 
भूकम्पपछि घनाबस्तीमा घर बनाउने क्रम बढेको छ। घर बनाउने क्रममा घर बनाउन चाहिने सामग्री बाटोमा राख्ने गर्छन्। त्यस्तै घर बनाइरहेको मान्छेले आफू बस्नका लागि पनि अस्थायीरूपमा टहरा पनि बनाउने गरेको देखिन्छ। यस्ता समस्यालाई समाधान गर्न हामीले अहिले सर्वसाधारण जनताको लागि आफूलाई चाहिने जति मात्र साम्रगी ल्याउनु भनेर आग्रह गर्दै आएका छौं।  

वडामा पर्ने भक्तपुर औद्योगिक क्षेत्रले प्रदूषण भयो भनी वडावासीको गुनासो छ, यसको व्यवस्थापन कसरी गर्ने योजना छ ? 
हजुर भक्तपुर औद्योगिक क्षेत्र अहिले बस्तीको बीचमा भएको कारण गुनासोहरू आइराखेका छन्, जस्तै : औद्योगिक क्षेत्रवासीले ध्वनि तथा वायु प्रदूषण भयो भनी वडामा दिनहुँ जस्तो आउनुहुन्छ। यसको नजिकैको सम्पदा कालधचा पनि फोहोर भयो भनी आउँंछन्। यी समस्यालाई समाधान गर्न हामी औद्योगिक क्षेत्र व्यवस्थापन समितिसँग छलफल गरिराखेका छौं। अझ हामीले यो क्षेत्रलाई हस्तकलाको रूपमा विकास गर्ने योजना रहेको छ।

पछिल्ला वर्षदेखि देको मिवा इँटापाके जग्गा एकीकरण आयोजना सञ्चालन भइराखेको छ, यसको प्रगतिबारे बताइदिनुहुन्छ कि ? 
देको मिवा इँटापाके जग्गा एकीकरण आयोजना व्यवस्थितरूपमा अगाडि बढिरहेको छ। साविक १५ क, ख, ग रिटेलिङ वाल बनाएको छ। यो वर्ष सबै ठाउँमा रिटेलिङ वाल बनाउने काम भइरहेको छ। यो काम उपभोक्ता समितिले विशेषरूपमा गरिरहेको छ। यस कामलाई छिटो सक्न लागिरहेका छौं। 

भक्तपुरकै चर्चित सहिद स्मृति खेल मैदान तपाईँको वडामा पर्छ, यसलाई व्यवस्थित गर्ने योजना केही छ कि ?
पक्कै पनि छ, यस सहिद स्मृति खेल मैदानलाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले दुई करोड रूपैयाँ बजेट छुट्याएको छ। यस खेल मैदानलाई इन्डोर हलको रूपमा बढाउने योजना छ। मैदानको पूर्व भागमा पुनर्निर्माण गर्न थालिसकेका छौं। 

भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका पनि यहाँंकै वडामा पर्छ, यो नाकाको व्यवस्थापनमा केही ध्यान दिनुभएको छ कि ? 
भक्तपुरको सम्पदा अगाडि बढेको छ। भक्तपुरमा रहेको सम्पदा हाम्रो पर्यटकहरूले हेर्न आउने गर्छन्। भक्तपुरको व्यासीको मुख्य नाका रहेको छ। यहीबाट अगाडि पर्यटकहरू अगाडि बढ्छन्। पहिले यो टुरिस्ट बसपार्क सबै गाडीको बसपार्क थियो। अहिले हामीले यसलाई टुरिस्टको मात्र गाडीको पार्क बनाएका छौं। 

पर्यटक बसपार्कको व्यवस्थापन कसरी गरिरहनुभएको छ ? 
यो ब्यासीको पर्यटक बसपार्क सानो छ। सिजनमा पर्यटक बसहरू राख्ने ठाउँ हुँदैन। त्यसकारण बसपार्कभित्र मात्र नभई बाहिर पनि राख्नुपर्ने हुन्छ, जसको कारण जाम हुने र हिँडडुल गर्न जनतालाई समस्या भएको हुन्छ। त्यसैले हामीले अब यो बसपार्कलाई देको मिवा इँटापाको जग्गा एकीकरण आयोजनामा राख्ने योजना राखेका छौं।

कालिघाटको व्यवस्थापनका लागि के कसरी काम गरिरहनुभएको छ ? 
कालिघाटलाई व्यवस्थित गर्न समयसमयमा सरसफाइ गरिरहेका छौं। फोहोर गर्नका लागि चर्पी बनाइसकेका छौं। यो वर्ष ढुंगा बिछ्याउने सोच छ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरिराखेको तपाईँको वडामा पर्ने जनज्योति पुस्तकालमा नयाँंनयाँ पुस्तक थप्नुभएको छ ? 
भक्तपुरको पुरानो जनज्योति पुस्तकालय अहिले सहिदस्मृति खेल मैदानसँगै सारेका छौ यो वर्ष। यो वर्ष हामीले आठ लाखको नयाँ पुस्तक खरिद गरेर राखेका छौं। यो पुस्तकालयलाई इ–लाइबेरीको रूपमा विकास गर्ने योजना रहेको छ।

प्रस्तुति : रेणु त्वानाबासु

 

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App