१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सार्वजनिक सुनुवाइमा स्थानीय जनताभन्दा नेता बढी

खोटाङ- सामान्यतः सार्वजनिक सुनुवाइमा सेवाग्राही र सेवाप्रदायक अधिकारीबीच सार्वजनिक चासोको विषयमा खुला ठाउँमा छलफल गरिन्छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भने फरक दृश्य देखियो। शनिबार हलेसी तुवाचुङ–५ दुर्छिममा आयोजना गरिएको कार्यक्रममा सर्वसाधारणभन्दा स्थानीय नेता बढी देखिएका थिए। दुर्छिम माविको प्रांगणमा आयोजित कार्यक्रममा गुनासो लिएर स्थानीय जनताभन्दा नेता बढी उपस्थित भएका थिए।

पृष्ठभूमिमा ब्यानर झुण्डिएको थियो। मञ्चमा थिए मेयर इवन राई, उपमेयर विमला राई, ११ जना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, शाखाप्रमुखलगायत। नगरपालिकाबाट प्रवाह भइरहेका सेवासुविधा, सुशासनलगायत विषयमा प्रश्न पनि तिनै नेताहरुले मात्र गरे। नगरपालिकाको पारदर्शिता देखाउन, नगरको क्रियाकलापमा नागरिक सहभागिता बढाउन, सुशासन वृद्धि गर्न, नागरिकबाट स्वतन्त्र रूपमा अभिमत प्रकट गरी स्वामित्व महसुस गर्न, सुझाव तथा गुनासा लिन सार्वजनिक सुनुवाइ गरिएको थियो। तर, कार्यक्रममा स्थानीय सर्वसाधारणभन्दा नेता, शिक्षक र ‘पहुँचवाला’ व्यक्तिको बढी उपस्थिति थियो। तल्ला तहका जनताको आवाजलाई सुनुवाइ गर्नेतर्फ भने स्थानीय सत्ता र प्रतिपक्ष दुवैको ध्यान नपुगेको स्थानीयको गुनासो छ। नेताहरुले नगरपालिकाको बिकास निर्माणका सवालमा चासो राख्ने भएकाले स्थानीय नेताकै बढी उपस्थिति देखिएको मेयर राईले बताए। ‘उहाँहरु नगरको अगुवा पनि हुन्। नगरको विकासमा बढी चासो भएकाले यस्तो उपस्थिति देखिएको हो,’ मेयर राईले भने, ‘जनता र नेता गरी दुई सय जना उपस्थित हुनु भनेको राम्रै सहभागीता हो।’ कार्यक्रममा

सार्वजनिक सुनुवाइमा पक्षर/प्रतिपक्ष

मेयर र उपमेयर कांग्रेसका उम्मेदवारले जितेका हुन्। त्यही भएर सार्वजनिक सुनुवाइमा एक जनाबाहेक प्रश्नकर्ता नेकपाका नेता मात्र देखिएका थिए। वडास्तरका कांग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति देखिए पनि उनीहरु मौन थिए। उपस्थित नेकपा नेताले पालैपालो प्रश्न गरेका थिए।

बिथोलियो सार्वजनिक सुनुवाइ

पाँच जनाले प्रश्न राखिनसक्दै असिनापानी परेकाले कार्यक्रम बिथोलिएको थियो। रोकिएको कार्यmक्रम हिउँदे अधिवेशनपछि गरिने मेयर राईले जानकारी दिए।

प्रकाशित: ५ फाल्गुन २०७५ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App