१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सन्दीपको क्लब मेलबर्न स्टार्स बिग बास लिगको उपविजेतामा सीमित

काठमाडौं – नेपाली खेलाडी सन्दीप लामिछानेको क्लब मेलबर्न स्टार्स अष्ट्रेलियामा सम्पन्न बिग बास लिग क्रिकेटको उपविजेतामा सीमित भएको छ। पहिलो विकेटका लागि ९३ रनको उत्कृष्ट साझेदारी गरेपनि त्यसपछिका खेलाडीले खराब प्रदर्शन गर्दा मेलबर्न रेनिगेड्सले सन्दीपकाे मेलबर्न स्टार्सलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो।

१ सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्स २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रनमा समेटिएपछि रेनिगेड्स १३ रनले विजयी हुँदै उपाधि जित्न सफल भयो। मेलबर्न स्टार्सका लागि वेन डुन्कले ५७ रनको अर्धशतकिय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन्। ४५ बलको सामना गरेका डुन्कले ४ चौंका र १ छक्का प्रहार गर्दै ५७ रन जोडेका थिए। ओपनर डुन्क र मार्कुस स्टोनिसले पहिलो विकेटका लागि ९३ रनको उत्कृष्ट साझेदारी गरेपछि स्टार्सले गतिलो सुरुआत गरेको थियो।

स्टोनिस १२ ओभरको अन्तिम बलमा ३९ रन जोड्दै पहिलाे विकेटका रूपमा आउट भएका थिए। उनले ३८ बलमा २ चौंका र १ छक्का प्रहार गरे।  तर, त्यसपछि स्टार्सले थप ३९ रन जोड्दा ६ विकेट गुमाएपछि जितको नजिक पुगेर पनि स्टार्स उपाधि विहीन बन्यो। स्टार्सका एडम जाम्पाले नटआउट १७ रन बनाएपनि अन्य कुनै पनि खेलाडीले दोहोरो रनको आँकडा छुन सकेनन्।

बलिङतर्फ रेनिगेड्सका क्रिस ट्रेमिन, केम्रोन ब्वाइसे र डेनियल क्रिष्ट्रियनले समान २–२ तथा ह्यारी गुर्नेले एक विकेट लिए।

यसअघि मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको रेनिगेड्सले पुरै २० ओभर खेल्दै खेल्दै ५ विकेटको क्षतिमा १ सय ४५ रनको मध्ययम योगफल तयार पारेको थियो। 

रेनिगेड्सका लागि टम कोपरले नटआउट ४३ तथा ड्यानियल क्रिस्टियनले नटआउट ३८ रनको योगदान दिए। ३५ बल खेलेका कोपरले २ चौंका र २ छक्का प्रहार गर्दा क्रिस्टियनले ३० बलमा २ चौंका र १ छक्का हिर्काए। त्यस्तै म्याकेन्जी हर्भेले १६ बलमा १४, कप्तान आरोन फिन्चले १० बलमा १३ तथा ओपनर मार्कुस हेर्रीस र केम्रोन वाइटले समान १२–१२ रन जोडेका थिए। मेलबर्न रेनिगेड्सलाई १४५ रनमा समेटन स्टार्सका एडम जाम्पा र ज्याक्सन बर्डले २–२ तथा विकेट लिए।

नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपनि विकेट लिन सकेनन्। उनले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएका थिए। सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र ३ रन दिएका थिए। त्यस्तै, ब्यक्तिगत दोस्रो ओभरमा सन्दीपले ५ रन खर्चिदा तेस्रो ओभरमा मात्र ३ रन दिएका थिए। सन्दीपले ब्याक्तिगत चौथो तथा अन्तिम ओभरमा भने ६ रन खर्चिदै ४ ओभरमा १६ रन दिए। सन्दीपले बिग बासमा ८ खेल खेल्दै ११ विकेट लिए।

प्रकाशित: ५ फाल्गुन २०७५ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App